लोकतन्त्र स्थापनापछि नेपाली राजनीतिमा कम्युनिस्ट पार्टी (माओवादी) को उदय भएको हो। यसअघि सशस्त्र विद्रोहमा रहेको माओवादीलाई थोरैले मात्रै राजनीतिक शक्तिका रूपमा लिएका थिए। माओवादी सत्तामा आएपछि नेपाली जनताले धेरै परिवर्तनका आस गरेका थिए। तर सत्तामा जुनसुकै पार्टी वा नेता रहे पनि ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ प्रवृत्ति कायमै रह्यो।
आत्मकेन्द्रित राजनीतिबाट प्रभावित नेताहरूलाई अहिले पनि नेपाली जनताले पत्याएकै छन्। भोट दिएर चुनावमा जिताएकै छन्। नेपालीले विश्वास गरे पनि नेताहरू भने जनता र देशको धरातल बिर्सिन थालेका छन्।
लोकतन्त्र धान्न, खर्च पुर्याउन रेमिट्यान्सका लागि नेपाली युवालाई विदेश ठेल्ने गरिएको छ। वैदेशिक रोजगारीको अनुमतिपत्र दिने कार्यालयको विस्तार र विकेन्द्रीकरण गर्न सातै प्रदेशमा त्यसको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ।
नेताहरूले रेमिट्यान्सलाई लोकतन्त्र जोगाउने ‘हतियार’का रूपमा हेरिरहेका छन्। नेपाली युवा जहाँ जाऊन्, जे गरून् तिनले रेमिट्यान्स पठाए पुग्यो। नेताहरूमा यस्तो गलत सोच देखापरेको छ।
विदेशी भूमिमा रगत-पसिना बगाएर कमाइने त्यस रेमिट्यान्सका लागि नेपाली युवाले न्यूनतम जीवनसमेत जिउन पाउँदैनन्। उनीहरू प्रताडना र शोषण सहन बाध्य हुन्छन्। पशुतुल्य व्यवहार खप्न विवश छन्। त्यतिमात्र नभई काठको बाकसमा लास बनेर फर्किने कुरालाई पनि हामीले बिर्सिनु हुँदैन। तर त्यसबारे सोच्ने र चासो दिने फुर्सद नेताहरूलाई छैन।
‘दुःख र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा’ भन्दै देशलाई विदेशीको क्रीडास्थल बनाउन पनि पछि परेका छ्रैनन् नेताहरू। तर त्यसबारे जनतामा सही सन्देश प्रवाह भइरहेको देखिँदैन। यसमा मुख्य भूमिका निर्वाह गर्नुपर्ने मिडियाले हो।
दोस्रो विश्वयुद्धताका जर्मन तानाशाह एडोल्फ हिटलरले जोसेफ गोयबल्सलाई प्रमुख प्रचारक बनाएका थिए। जसले ‘कुनै असत्यलाई सयौँ पटक दोहो¥याइयो भने जनताले पत्याउँछन्’ भनेर ‘प्रोपोगान्डा’ फिँजाएका थिए।
विश्वमा भएका विभिन्न गलत कार्यको पर्दाफास मिडियाले गरेको उदाहरण प्रशस्त छन्। शक्ति केन्द्र र शीर्ष नेताहरूलाई खुसी पार्नुभन्दा उनीहरूलाई सही बाटोमा जान बाध्य पार्नुपर्छ मिडियाले। परिआएमा सरकार नै बनाउन र ढाल्न सक्ने भूमिका निर्वाह गर्न सक्ने गरी आफ्नो क्षमता अभिवृद्धि गर्नतिर ध्यान दिनुपर्छ।
पछिल्लो समय नेपालमा पनि यही कुरा चरितार्थ भइरहेको छ। नेताहरूको गोयबल्स बनेको छ सञ्चारमाध्यम। च्याउ उम्रिएसरी रहेका सञ्चारका विभिन्न माध्यमले जनजीवनसँग जोडिएका विषयवस्तुभन्दा राजनीतिक ‘सौदाबाजी’ र ‘सट्टाबाजी’ मा जनताको ध्यान आकर्षित गरिरहेका छन्। जनताको समय चाहिनेभन्दा नचाहिने कुरामा बितिरहेको छ।
ठूलठूला राजनीतिक गफसामु आधारभूत आवश्यकताका कुरा गौण भएका छन्। राजनीतिक पार्टी र तिनका नेताको दन्तबझान, खिचातानी, शक्ति संघर्षको फोहोरी खेल आदिका समाचारले सञ्चारमाध्यममा प्रशस्त ठाउँ ओगट्छन्। यस्ता समाचारले जनताको मनमस्तिष्कमा गहिरो प्रभाव पार्ने गर्छन्।
ठूला मिडिया हाउसले समेत आफ्नो धर्म बिर्सिएको जस्तो लाग्छ। कुनै पार्टी वा नेतालाई सफल वा असफल बनाउनमा तिनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्। तर आमजनताले यी कुरा बुझ्दैनन् र अलमलमा हुन्छन्। यो त प्रोपोगान्डामा रमाउने प्रवृत्ति भयो।
नेपाली नेता र सञ्चारमाध्यमको पारा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तो देखिएको छ। यसो भन्दैमा सबै नेता र सञ्चारमाध्यम गलत छन् भन्ने होइन। अझै पनि केही मिडिया हाउस छन्, जसले सत्यका लागि काम गरिरहेका छन्। तिनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रतिष्ठा पनि कमाएका छन्।
विश्वमा भएका विभिन्न गलत कार्यको पर्दाफास मिडियाले गरेको उदाहरण प्रशस्त छन्। शक्ति केन्द्र र शीर्ष नेताहरूलाई खुसी पार्नुभन्दा उनीहरूलाई सही बाटोमा जान बाध्य पार्नुपर्छ मिडियाले। परिआएमा सरकार नै बनाउन र ढाल्न सक्ने भूमिका निर्वाह गर्न सक्ने गरी आफ्नो क्षमता अभिवृद्धि गर्नतिर ध्यान दिनुपर्छ।
आज देशमा आयातित एजेन्डा बोकेर झुटको खेती गर्नेहरू धेरै छन्। यस्तोमा सही बाटो देखाउनुपर्नेमा राजनीतिक खिचातानीमा उत्प्रेरित गर्ने र रमाउने प्रवृत्ति सम्पूर्ण नेपाल र नेपालीका लागि घातक हुन सक्छ।
राजसंस्था फालेर नेपाललाई धर्मनिरपेक्ष बनाइयो। गणतन्त्र ल्याइयो। आज राजावादी पार्टी राप्रपासँग समझदारी र सम्झौता गरिएको छ। हिजो देशबाट स्वतन्त्र तराई राज्यको माग गर्ने पनि सँगै छन्।
देशलाई विखण्डन गर्ने एजेन्डा बोकेका सीके राउतको दल सरकारमा प्रवेश गरेको छ। युवा पुस्ताका प्रतिनिधि छन् रवि लामिछाने। उनको दलले मूलधारको राजनीतिमा प्रवेश गर्दा देशले कोल्टे फेर्ने आशा धेरैले गरेका छन्। साथै वृद्ध पुस्ता राजनीतिबाट बढारिने संकेत देखापरेको छ।
आजका जिम्मेवार राजनीतिक दल, नेता र कार्यकर्ताले यसैलाई देशको न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ। कुनै पनि सरकारले प्रस्ताव गर्ने साझा कार्यक्रममा जनताको गाँस, बास, कपास, रोजगारीलगायत कुराले प्राथमिकता पाउनुपर्छ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई पन्छ्याएर आत्मकेन्द्रित राजनीतिले देशलाई विकास र प्रगतितिर डोर्याउँदैन। फिनल्यान्ड पाँच वर्षयता विश्वकै सबैभन्दा खुसी देशका रूपमा गनिएको छ। हालै भएको एउटा अध्ययनले फिनल्यान्ड खुसी राष्ट्र हुनुको पछाडि तीन कारण रहेको देखाएको छ- दीर्घजीवन, उदार हृदय र भ्रष्टाचारको अभाव। (वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२)
नेपालीलाई त खुसी हुन झनै केही चाहिँदैन। आजका नेताले न्यूनतम साझा कार्यक्रममा नेपालीका आधारभूत आवश्यकता समेटेर नेपाली त्यसै खुसी हुने खालका छन्। तर त्यतातिर कसैले ध्यान दिएका छैनन्। त्यतातिर ध्यान दिइए नेपाल पनि खुसी देशको सूचीमा उक्लिनेमा शंका छैन।
गोयबल्स शैलीको पत्रकारिताले भने देशलाई संकटमा पार्न सक्छ। जनतासँग प्रत्यक्ष सरोकार नभएका विषयले बढी महत्त्व पाउनु भनेको गोयबल्स शैली हो। जनसरोकार नभएका विषय समाचार होइनन्। यो कुरा सम्पूर्ण नेपाली जनताले जान्न र बुझ्न जरुरी छ।
(थापा सशस्त्र प्रहरी बलका अवकाशप्राप्त एआईजी हुन्)