काठमाडौँ- भुटनिज युथ स्पोर्ट्स क्लब बीवाईएससी पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। यही सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई हराउँदै अमेरिकी टिम बीवाईएससीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।
पोखरा रंगशालामा बीवाईएससीलाई जिताउन रोजिन प्रजापतीले पहिलो हाफको आतिरिक्त समयमा गोल गरेका थिए।
बीवाईएससी अमेरिकाबाट दोस्रो पटक आहा रारा गोल्डकप खेल्न नेपाल आएको हो। गत वर्ष बीवाईएससीको यात्रा क्वार्टरफाइनलमा सकिएको थियो। अब बीवाईएससीले फाइनलमा संकटा क्लबको सामना गर्नेछ। संकटा बुधबार डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई हराएर फाइनलमा पुगिसकेको छ।
अन्जन विष्ट, अनन्त तामाङ लगायतका राष्ट्रिय खेलाडी सम्मिलित चर्च ब्वाइज मछिन्द्र क्लबलाई पन्छाउँदै सेमिफाइनलमा आइपुगेको थियो। उता बीवाईएससीले भने मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएको थियो। फाइनल अब पौष २३ गते हुनेछ।