सन् २०२२ सकिँदा रियल र बार्सिलोनाको अंक बराबर, सेभिया रेलिगेसन क्षेत्रमै

हिमाल प्रेस १७ पुष २०७९ १०:३४
14
SHARES
सन् २०२२ सकिँदा रियल र बार्सिलोनाको अंक बराबर, सेभिया रेलिगेसन क्षेत्रमै

काठमाडौँ- रियल म्याड्रिड, रियल सोसिडाड र भिल्लारियलले सन् २०२२ जितसहित अन्त्य गरेका छन्। स्पेनिस ला लिगाको शनिबारका खेलमा रियल म्याड्रिडले रियल भाल्लाडोलिडलाई र रियल सोसिडाडले ओसासुनालाई समान २–० को अन्तरमा पराजित गरे। उता भिल्लारियलले भने भ्यालेन्सियामाथि २–१ को जित हात पार्‍यो।

बार्सिलोना डर्बीमा बार्सिलोना इस्पान्योलसँग १–१ को बराबरीमा रोकिएकै दिन रियलले स्थानीय प्रतिद्वन्द्वी रियल भाल्लाडोलिडलाई सहजै पराजित गरेको हो। ला लिगामा रियललाई १२ औँ जित दिलाउन कप्तान करिम बेन्जेमाले दुई गोल गरे।

८३ औँ मिनेटमा पेनाल्टी गोल गरेका बेन्जेमाले ६ मिनेटपछि रियलको अग्रता दोब्बर बनाएका थिए। भल्लाडोलिडविरुद्ध दुई गोल गरेपछि बेन्जेमाको यो सिजन लिगमा गोलसंख्या सात पुगेको छ।

अब स्पेनका दुई ठूला क्लबले नयाँ वर्षको सुरुवात बराबर अंकबाट गर्नेछन्। शीर्षस्थानको बार्सिलोना र रियलको ३८–३८ अंक छ। दुवैले १५–१५ खेल खेलेका छन्। तेस्रो स्थानमा आसिन सोसिडाडको १५ खेलबाट २९ अंक छ। जुन एट्लेटिको म्यड्रिडको भन्दा दुई अंकले बढी हो।

शुक्रबार राति एट्लेटिकोले एल्चेलाई पराजित गरेर अंक तालिकामा सोसिडाडलाई उछिने पनि शनिबारको नतिजाले स्थान परिवर्तन भएको हो। सोसिडाडलाई सिजनको नवौँ जित दिलाउन ब्रेइस मेन्डेज र अलेक्जान्डर सोरलोथले एक–एक गोल गरे। उच्च लयमा रहेका मेन्डेजका लागि लिगमा यो सातौँ गोल हो। नर्वेजियन स्ट्राइकर सोरलोथको गोल पनि विंगर मेन्डेजकै पासमा सम्भव भएको थियो।

जुवान फोयथले ८८ औँ मिनेटमा गोल गरेपछि भिल्लारियालले क्षेत्रीय प्रतिद्वन्द्वी भ्यालेन्सियालाई २–१ ले पराजित गराउन सक्यो। उरुग्वेका भेट्रान स्ट्राइकर एडिन्सन काभानीले पहिलो हाफको २१ औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा अघि बढाएका थिए। तर पहिलो हाफको उत्तराद्र्धमा सामुएल चुकुवेजेले गोल गरेपछि भिल्लारियल खेलमा फर्किएको थियो।

तर दोस्रो हाफ सकिने बेलामा विश्वकप विजेता रक्षक फोयथ नायक साबित भए। संयोगवश उनले भ्यालेन्सियाका पूर्वकप्तान डानियल परेखोको पासमा गोल गरे। परेखो भ्यालेन्सियामा नौ सिजन बिताएर दुई वर्षअघि सहरी प्रतिद्वन्द्वी क्लब भिल्लारियल सरेका हुन्।

यो जितले भिल्लारियललाई सातौँ स्थानमा पु¥याएको छ। अब भिल्लारियलको खातामा २४ अंक जम्मा भएको छ। जुन चौथो स्थानमा रहेको एट्लेटिकोको भन्दा तीन अंक कम हो। भ्यालेन्सिया भने १० औँ स्थानमा यथावत छ। पूर्वइटालियन मिडफिल्डर जेन्नारो गाटुसोको प्रशिक्षणमा खेलिरहेको भ्यालेन्सियासँग १० खेलबाट १९ अंक छ।

ला लिगाका अन्य खेलमा सेल्टा भिगो र सेभिया अनि काडिथ र अल्मेरियाले १–१ को बराबरी खेले। यो नतिजापछि सेल्टा भिगो १७ औँ र सेभिया १८ औँ स्थानमा छन्। काडिथ भने १९ औँ र अल्मेरिया १३ औँ स्थानमा छन्।

प्रकाशित: १७ पुष २०७९ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =