काठमाडौँ– मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी राजनीतिक पार्टीहरूका लागि सिंहदरबारमा संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ। पुराना तथा नयाँ दलहरूको लागि अहिले संघिय संसद सचिवालयले व्यवस्था गरेको संसदीय दलको कार्यालय भवनहरूको आवश्यक मर्मत, सम्भार, रंगरोगन र साजसज्जाको काम धमाधम गरिरहेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालय पहिले नै भएकोले त्यसैलाई रंगरोगन तथा मर्मत गरेर तयार पारिएको छ। हालैको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका लागि भने पहिले हेलो सरकारको कार्यालय रहेको भवनमा व्यवस्थापन गर्ने काम भइरहेको छ।
राष्ट्रिय पार्टी नभए पनि संसदमा २ जना भन्दा बढी सांसद भएको नेकपा एकीकृत समाजवादीलाई पनि दलको कार्यालयको व्यवस्था गरिएको छ। राष्ट्रिय मान्यता पाएका दलहरूका लागि संसद सचिवालयले प्रमुख सचेतक, सचेतकलाई कार्यकक्ष र सवारी साधनको पनि व्यवस्था गर्छ।