संकटमा विश्वविद्यालय शिक्षा, दैनिक झन्डै चार सय विद्यार्थी बिदेसिँदै

विपिन पोखरेल ४ पुष २०७९ १७:१७
264
SHARES
संकटमा विश्वविद्यालय शिक्षा, दैनिक झन्डै चार सय विद्यार्थी बिदेसिँदै शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखामा विदेश अध्ययनका लागि अनुमति लिन लाम लागेका विद्यार्थी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- कक्षा १२ उत्तीर्ण विद्यार्थी यतिबेला उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट शैक्षिक गन्तव्यको खोजीमा छन्।  उनीहरूको आकर्षण स्वदेशीभन्दा पनि विदेशी शिक्षण संस्थातर्फ केन्द्रित छ। त्यसो हुँदा नेपाली शिक्षण संस्थामा विद्यार्थीको अभाव हुने पक्का छ। कतिपय संकायमा कोटासमेत पूरा नहुने अवस्था देखिँदै छ।

त्रिभुवन विश्वविद्यालयले बीबीए, बीएचएम, बीबीएमलगायत विषयमा दुईपटक प्रवेश परीक्षा सञ्चालन गरेको छ। विद्यार्थीका लागि निर्धारण गरिएको कोटा पूरा हुन नसकेपछि त्रिवि दुई–दुईपटक प्रवेश परीक्षा सञ्चालन गर्न बाध्य भएको हो।

त्रिभुवन विश्वविद्यालयमा यी विषय विद्यार्थीको आकर्षणको केन्द्र मानिन्छन्। व्यवस्थापन संकायको डिन कार्यालयले भदौ ३० र मंसिर २४ मा सिम्याट प्रवेश परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा १४ हजार विद्यार्थीले आवेदन दिएका थिए।

किन घट्दैछन् विद्यार्थी?

पहिलो कारण हो, कक्षा १२ मा ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनु। नेपालमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमी हुनु अर्को कारणका रूपमा कार्यालयले लिएको छ।

‘कक्षा १२ मा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्,’ त्रिवि व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले भने, ‘त्यसैले केही विषयमा विद्यार्थी सिट संख्या घटेको छ। त्यसैले आवेदन दिनेको संख्या घटेको हो।’

दोहोर्‍याएर प्रवेश परीक्षा सञ्चालन गर्दा विद्यार्थी संख्या केही बढेको शर्माले बताए। उनले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थी त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना हुने प्रक्रियामा छन्।’

कोभिड-१९ महामारीपछि यसपटक विदेशी विश्वविद्यालयले विद्यार्थीलाई सहज रूपमा भिसा दिएका कारण पनि विद्यार्थी नेपालबाट उच्च शिक्षा आर्जन गर्न बिदेसिइरहेको प्राडा शर्माको भनाइ छ। ‘हामीले सिट संख्या खाली भएकै कारण पुनः परीक्षा लिएको भन्नेचाहिँ होइन,’ उनले भने, ‘कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीलाई पनि अवसर दिएका हौँ।’

शर्मा नेपालमा विश्वविद्यालय शिक्षातर्फ विद्यार्थीको आकर्षण घट्नुमा सरकारी नीति दोषी ठान्छन्। ‘अध्ययनपछि रोजगारीको अवसर नहुँदा विद्यार्थी अवसरको खोजीमा बिदेसिइरहेका छन्,’ उनले भने, ‘पढाइपछि रोजगारीको अवसर सुनिश्चित भए नेपाली विश्वविद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ।’

पछिल्लो समय विदेशमा पढ्न जाने विद्यार्थीको संख्या बढेको छ। विद्यार्थीलाई बिदेसिनबाट रोक्न विश्वविद्यालयले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने प्राडा शर्माको भनाइ छ। उनले भने, ‘कस्तो किसिमको शिक्षा चाहिएको छ? छलफल गरेर बजारको मागअनुसार दक्ष उत्पादनमा ध्यान नदिने हो भने बिदेसिने विद्यार्थीको संख्या अझै बढ्नेछ।’

‘नेपालमा सञ्चालन भएका विश्वविद्यालयका उत्कृष्ट भनिएको विषयमा पनि विद्यार्थीको आकर्षण छैन। विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको अवसर सिर्जना नगर्ने हो भने यो समस्या विकराल बन्दै जान्छ।’

साउनयता ३० हजारभन्दा बढीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए।

एनओसी लिनेमध्ये अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान, बेलायतलगायत देश जान चाहने विद्यार्थीको संख्या उच्च छ। दैनिक चार सय विद्यार्थीले एनओसी लिन शिक्षा मन्त्रालयमा आवेदन दिने गरेका छन्। उनका अनुसार तीमध्ये अधिकांशको भिसा लाग्ने गरेको छ।

प्राविधिक शिक्षा आर्जन गरेका होस् वा नेपालमै उच्च ओहदामा रहेका व्यक्तिका सन्तान पनि आफ्नो भविष्य सुनिश्चित गर्न विदेश जाने गरेका छन्। यसो हुँदा ‘ब्रेन ड्रेन’ सँगै राज्यले उनीहरूमाथि गरेको लगानीको प्रतिफल शून्य हुने वस्तीको भनाइ छ।

नेपालमा अध्यापन नहुने विषयमा विद्यार्थी बिदेसिनु स्वाभाविक हो। तर अहिले यहाँ अध्यापन भइरहेका विषय अध्ययन गर्नकै लागि पनि विद्यार्थी विदेश जाँँदैछन्। राज्यले शिक्षा, स्वास्थ्यको ‘ग्यारेन्टी’ र रोजगारीको अवसरको सुनिश्चित नगरेसम्म यो क्रम चलिरहने सरोकारवाला बताउँछन्।

‘देशमै केही गर्न सक्छु’ भन्ने अवस्था सिर्जना नभएसम्म युवाहरू यसै गरी शिक्षाका नाममा विदेशिन बाध्य हुनेछन्। सरकारको शिक्षा नीतिमै परिवर्तन हुनुपर्ने, राजनीतिक दाउपेच, ‘सोर्सफोर्स’ मा भरमा अवसर दिने प्रचलन बन्द हुनुपर्ने पनि सरोकारवालाहरूको भनाइ छ।

विद्यार्थी पढाइभन्दा पनि (स्थायी बसोबास) पीआरको खोजीमा विदेश जाने गरेका छन्। अहिले विदेशमा उच्चशिक्षा अध्ययनका लागि भिसाको प्रक्रियामा रहेका विद्यार्थीको संख्या पनि उच्च छ। केहीले स्नातक तहको साधारण विषयतर्फ भर्ना भएर विदेश अध्ययनको प्रक्रिया अघि बढाएका छन्।

विदेशी शिक्षाको नाममा प्रत्येक वर्ष अर्बौँ  रकम बाहिरिने गरेको छ। एक आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले लगेको रकम ६० अर्बभन्दा माथि छ।

एकातिर नेपालका शिक्षण संस्था विद्यार्थी अभावमा धराशयी हुने अवस्थामा छन्। अर्कोतर्फ उच्च शिक्षा अध्ययनकै लागि विद्यार्थी विदेश जाने अवस्था छ। यो विकराल अवस्थाबाट माथि उठ्न आवश्यक रहेको के एन्ड के कलेजका प्रशासनिक निर्देशक किरण भट्टराईले बताए।

‘नेपालमा सञ्चालन भएका विश्वविद्यालयका उत्कृष्ट भनिएको विषयमा पनि विद्यार्थीको आकर्षण छैन,’ उनले भने, ‘विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको अवसर सिर्जना नगर्ने हो भने यो समस्या विकराल बन्दै जान्छ।’

निजी शिक्षण संस्था सञ्चालकले आफ्नो लगानी सुरक्षित गर्न सक्ने अवस्था छैन। विद्यार्थीको कक्षा १२ मा उत्तीर्ण दर घट्नु र विद्यार्थीले उच्चशिक्षा अध्ययनको विकल्पका रूपमा विदेशी शिक्षण संस्थालाई रोज्नु नै प्रमुख कारक भएको उनको भनाइ छ।

विद्यार्थीले क्रेडिट ट्रान्सफरका रूपमा अस्ट्रेलिया, बेलायत, अमेरिका, फ्रान्स, न्युजिल्यान्डलगायत देशमा सीधै स्नातक दोस्रो वर्षमा अध्ययन गर्न जान पाउँछन्।

नेपालबाट विदेशका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्ने विद्यार्थी पनि छन्। जसले गर्दा नेपालमा भर्ना भएका विद्यार्थीले पनि विदेशी शिक्षण संस्था रोज्दा नेपाली शिक्षण संस्थामा ‘ड्रपआउट रेट’ पनि बढ्दो छ।

अहिले आईटी, म्यानेजमेन्ट, लिबरल आर्टस्, इन्जिनियरिङ विधामा विद्यार्थी अध्ययन गर्न जाने क्रम बढ्दो छ। यसलाई रोक्न र नेपालमै पढ्ने वातावरण बनाउन सरोकारवालाले सरकारी तवरबाटै ठोस योजना तर्जुमा गर्न विज्ञहरूले सुझाएका छन्।


प्रतिक्रिया

One thought on “संकटमा विश्वविद्यालय शिक्षा, दैनिक झन्डै चार सय विद्यार्थी बिदेसिँदै

  1. सरकारको मात्र होईन निजी कलेजहरुलाई हेर्ने हो भने पैसा ढुटनमा ब्यस्त छन । रोजगारमुखी र विषय विझ्यतामा क्षमतावान बनाउनु भन्दा जसरी हुन्छ नम्बरवाला सर्टिफिकेट भिडाउनेमा प्रतिस्पर्धा छ । A+ ल्याउने विधार्थीलाई (a+b)^2 को ब्यबहारी प्रयोग थाहा हुदैन । हाम्रा 90% प्राध्यापक पनि पैसामुखी छन । बिधार्थी क्षमतावान हुन नहुन मतलब छैन । जागीर पाके भयो । अनि नेपालमा किन पढने र पढाउने????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast