उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिल बैंकको साथ

हिमाल प्रेस २७ मंसिर २०७९ १७:४८
उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिल बैंकको साथ

ललितपुर- नबिल बैंकले उद्यमी बन्न चाहने विद्यार्थीलाई सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्स प्रदान गरेको छ।

उक्त कोर्स पूरा गर्ने ललितपुरका २५ विद्यार्थीलाई बैंकले प्रमाणपत्र प्रदान गरेको हो। क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’नामक कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौँ युवाले रहरले नभई राम्रो अवसरको खोजीमा देश छोड्ने गरेको बताए। उनले भने, ‘त्यसकारण नबिल बैंकले देशमै केही गर्छु भन्ने युवालाई सामाजिक उद्यमशीलताको हिस्सा बनाउने अभियान सुरु गरेको हो।’

कुनै व्यक्ति जन्मदै उद्यमी बन्न नसक्ने बताउँदै चौधरीले भने, ‘युवाहरूले विभिन्न विचार र व्यवसायका योजनाबारे छलफल गरेको सुनेको छु। तर, उचित मार्गदर्शन र निर्देशनको अभावमा उनीहरुको विचार यथार्थमा परिणत हुन सकेको हुँदैन। एक वर्षअघि नबिलले लिएको पहलले अहिले युवाहरूको जीवनमा दिशानिर्देश र उचित मञ्च प्रदान गरिरहेको छ।’

उनले यो सुरुवाती कदम भएको र नबिल एसएसईले देशमा सामाजिक उद्यमशीलताको क्षेत्रमा फड्को मार्ने विश्वास लिएको बताए। नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले स्टार्टअप, साना तथा मझौला उद्यमीलाई उद्यमशीलता शिक्षा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि र आर्थिक सहयोग गर्न नबिल सदैव तत्पर रहेको बताए।

बैंकले देशभरका विभिन्न क्याम्पससँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिरहेको पाण्डेले जानकारी गराए। ‘यस कार्यक्रमले विस्तारै ठूलो संख्यामा उद्यमी सिर्जना गर्दै भविष्यमा रोजगारीको बढावा र देशमा आर्थिक रुपान्तरण गर्ने विश्वास लिएको छु,’ उनले भने।

सामाजिक उद्यमशीलतासम्बन्धी तीन महिनाको अवधिमा सञ्चालित १४ दिने तालिममा ज्ञान अभिवृद्धि, सीप, मानसिकता र स्रोतसाधनको विषयमा तालिम उपलब्ध गराइएको छ।
सहभागीहरूलाई उद्यमीहरूको अनुभव, विज्ञहरूसँग छलफल, संस्थागत भ्रमण र कार्यशालाबाट सिक्ने अवसर प्रदान गरिएको छ।

क्याम्पियन कलेजकी क्याम्पस प्रमुख अनामिका श्रीवास्तवले नबिल बैंकले चलाएको अभियानले विद्यार्थीलाई उद्यमशीलतामा जोड्न सहयोग गर्ने बताइन्।

बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको पहलअन्तर्गत नबिल सामाजिक उद्यमशीलता कार्यक्रम नोभेम्बर २०२१ देखि देशभरका शैक्षिक संस्थासँगसहकार्यमा सुरु गरेको थियो।

प्रकाशित: २७ मंसिर २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =