अर्जेन्टिनाविरुद्ध क्रोएसिया : निर्णायक बन्‍नसक्ने चार पक्ष

हिमाल प्रेस २६ मंसिर २०७९ १७:४८
18
SHARES
अर्जेन्टिनाविरुद्ध क्रोएसिया : निर्णायक बन्‍नसक्ने चार पक्ष

विश्वकप फाइनल प्रवेशको होडमा रहेको क्रोएसिया र अर्जेन्टिना मंगलबार राति आमनेसामने हुँदैछन्। लुसेल रंगशालामा हुने यो सेमिफाइनल भिडन्तमा कुन टिमले बाजी मार्ला भन्ने कौतहुल छ। यो स्वाभाविक कौतहुलको जवाफ दिन सजिलो छैन। तर यो खेलको नतिजालाई असर गर्नसक्ने केही पक्ष भने अवश्य छन्। जसबारे यहाँ चर्चा गरिनेछ।

मेस्सी र मोड्रिचको लय
लियोनल मेस्सी र लुका मोड्रिचबीच धेरै समानता छन्। यी दुईले क्लब करियरमा स्पेनिस ला लिगा, च्याम्पियन्स लिग जस्ता महत्त्वपूर्ण उपाधि जितेका छन्। कयौँ वर्ष उनीहरु स्पेनमा प्रतिद्वन्द्वी पनि रहे। उनीहरुका लागि यो अन्तिम विश्वकप हो। यसकारण विश्व विजेता बन्दै राष्ट्रिय टिमबाट बिदा लिने लक्ष्यमा यी दुवै खेलाडी छन्।

बार्सिलोना र अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता मेस्सीले पछिल्लो समय आफ्नो भूमिका परिवर्तन गर्दै लगेका छन्। अर्जेन्टिनाका लागि उनी ‘क्रिएटर’ हुन्। कतारी भूमिमा जारी विश्वकपमा उनको प्राथमिक जिम्मेवारी गोलका अवसर सिर्जना गर्ने हो। तथ्यांकले के देखाउँछ भने यो विश्वकपमा गोलको अवसर सिर्जना गर्ने मामलामा एन्टोइन ग्रिजमन मात्र मेस्सीभन्दा अगाडि छन्। चार गोल गरिसकेका मेस्सी उच्च गोलकर्ता बन्ने दौडमा पनि सामेल छन्। हाल यो दौडमा पाँच गोल गरेका किलियान एम्बाप्पे अग्रस्थानमा छन्।

नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा नाहुएल मोलिनाले मेस्सीको सुन्दर पासमा गोल गरेका थिए। त्यो पास बलियो उदाहरण हो, मेस्सीले अर्जेन्टिनाका लागि कुन प्रकारको भूमिका निर्वाह गरिरहेका छन् भन्ने प्रश्नको जवाफ दिन।

गोल र असिस्ट दुवै लगातार दर्ता गरिरहेका मेस्सीलाई क्रोएसियाले कसरी रोक्ला? के उनलाई ‘मार्क’ गर्न क्रोएसियाले कुनै एक खेलाडीलाई जिम्मा देला? क्रोएसियाले यसो गर्ने सम्भावना कम छ। किनभने क्रोएसिया मिडफिल्ड र डिफेन्समा कायम रहेको सन्तुलन गुमाउन चाहँदैन। यी दुई पक्षमा अब्बल रहेको क्रोएसियाले हालसम्म जुन शैलीमा खेलिरहेको छ, त्यसैलाई निरन्तरता दिने सम्भावना छ।

कतिपय विश्लेषकको दाबी छ, यसपल्टको विश्वकपमा सबैभन्दा बलियो मिडफिल्ड क्रोएसियाको हो। यसको मुख्य कारण तीन मिडफिल्डरको साझेदारी हो। जसमध्ये मार्सेलो ब्रोजोभिच डिफेन्सिभ मिडफिल्डर हुन्। बल लिएर सेन्ट्रल मिडफिल्डबाट दौडन मन पराउने मेस्सीलाई रोक्ने मुख्य जिम्मेवारी यिनै ब्रोजोभिचको हो। उनलाई माटियो कोभाचिचले सघाउनेछन्।

जब क्रोएसियाको नियन्त्रणमा बल हुन्छ, तब लुका मोड्रिचले आफ्नो जादु देखाउने प्रयास गर्नेछन्। यी भेट्रान मिडफिल्डरले बल पाउन साथ मुभ बनाउने प्रयास गरिहाल्छन्। बल पोसेसनमा ध्यान दिने मोड्रिच यो खेलमा हाबी भए क्रोएसियाले अर्जेन्टिनालाई निराश बनाउने सम्भावना बढ्नेछ।

अर्जेन्टिनाको रणनीतिः क्रोएसियालाई थकाउने
चार वर्षअघि विश्वकपको फाइनलमा पुग्न क्रोएसियाले नकआउट चरणका प्रत्येक खेल आतिरिक्त समयमा जितेको थियो। यसपालि पनि क्रोएसिया तरिका उही छ, ९० मिनेटपछि पनि नथाकी खेल्ने। उसले प्रिक्वार्टरफाइनलमा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टीमा हराएको हो। ती दुवै खेलमा क्रोएसियाले गोल खाएको स्थितिलाई उल्टाउँदै विक्षीलाई पेनाल्टीसम्म पुर्‍याएको थियो।

ती दुई खेलबाट के पुष्टी भइसकेको छ भने, ज्लाट्को डालिचबाट प्रशिक्षित क्रोएसिया अन्तिम क्षणसम्मै डटेर खेल्नसक्छ। क्रोएसिया अब अर्जेन्टिनाविरुद्ध पनि यसरी खेल्नसक्छ? पछिल्ला दुई खेलका कारण शारीरिक रुपमा थकित भएकाले क्रोएसियाको प्रदर्शन खस्किने त होइन? यी दुई प्रश्नका जवाफसँग सम्भावित नतिजा जोडिएको छ।

समर्थकको संख्यामा अगाडि अर्जेन्टिना
एउटा पक्ष छ, जहाँ अर्जेन्टिनाभन्दा क्रोएसियालाई प्रस्ट रुपमा पछाडि छ। त्यो हो, कतारमा उपस्थिति समर्थकको संख्या। नेदरल्यान्ड्ससँगको खेलमा आफ्नो टिमलाई समर्थन गर्न करिब ४० हजार अर्जेन्टाइन समर्थक लुसेल रंगशालामा भेला भएका थिए।

करिब ८९ हजार दर्शक अट्ने लुसेलमा अर्जेन्टाइन समर्थकको नारा लगाउँदा यस्तो लाग्थ्यो, अर्जेन्टिना घरेलु मैदानमा खेलिरहेको छ। यही परिदृश्य मंगलबारको खेलमा पनि दोहोरिनेवाला छ। तुलनात्मक रुपमा थोरै संख्यामा उपस्थित हुने क्रोएसियाका समर्थकलाई अर्जेन्टाइनका गीतले ओझेलमा पार्नेछन्।

अब प्रश्न उठ्छ, के समर्थकको संख्याले खेलको नतिजामा प्रभाव पार्नसक्छ? अवश्य पनि।

छनोट सेन्ट्रल फरवार्डको
मेस्सी फेरि एकपटक प्लेमेकरको भूमिकामा देखिने हो भने अर्जेन्टिनाको अग्रपंक्तिमा विश्वस्तरीय सेन्ट्रल फरवार्ड हुने छैनन्। उसो त क्रोएसियासँग पनि भनेजस्ता सेन्ट्रल फरवार्ड छैनन्।

क्रोएसियाका प्रशिक्षक डालिचले ब्राजिलविरुद्ध आन्द्रेज क्रामारिचलाई पहिलो एघारमा राखेका थिए। दोस्रो हाफमा भने क्रामारिचको स्थान ब्रुनो पेट्कोभिचले लिए। आतिरिक्त समयमा उनले गरेको गोलका कारण खेल पेनाल्टीतिर धकेलिएको थियो।

उता अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध म्यानचेस्टर सिटीका युवा जुलियान अल्भारेजलाई अग्रपंक्तिको जिम्मा दिएका थिए। यो विश्वकपमा अर्जेन्टिनाका लागि मुख्य सेन्ट्रल फरवार्ड रहेका लाउटारो मार्टिनेज दोस्रो हाफमा मात्रै मैदानमा प्रवेश गरे। उनले नै अर्जेन्टिनाको अन्तिम पेनाल्टी प्रहार गरेका थिए।

अब सेमिफाइनलमा डालिच र लियोनल स्कालोनीले अग्रपंक्तिमा परिवर्तन गर्लान् कि नगर्लान् भन्ने कौतहुल छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =