चित्रकला यात्राको सुरुमै राजा महेन्द्रको तस्बिर कोरेका मछिन्द्र

हिमाल प्रेस २६ मंसिर २०७९ १३:४०
10
SHARES
चित्रकला यात्राको सुरुमै राजा महेन्द्रको तस्बिर कोरेका मछिन्द्र बीपी कोइरालाको तस्बिर उतार्दै मछिन्द्र। तस्बिरः रासस

बागलुङ- भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन्। पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन्। जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ।

एक दशक अगाडिसम्म देखिने मौलिक संस्कृति अहिले निकै कम भेटिन्छन्। सूचना, प्रविधिको विकासले हरेक क्षेत्र डिजिटलमय बनेको छ। सहरदेखि गाउँसम्मै प्रविधिको भरपुर प्रयोग भएको छ।

प्रविधिको प्रयोगले जीवन र दैनिकीलाई सहज र सरल त बनाएको छ नै, त्यससँगै यसले हाम्रा कैयन् मौलिकता र पृथक विशेषता बोकेका परम्परागत कला, संस्कृति, व्यवसायहरूलाई धरापमा पार्ने खतरा पनि उत्तिकै छ। अहिले हरेक व्यक्तिले आधुनिक प्रविधिको प्रयोग गरेर दैनिकी, कामकाज, व्यापार व्यवसायलाई सहज बनाउने गरेका छन्। तर, बागलुङ बजारमै एक दुर्लभ पात्र छन्, जसले आधुनिक प्रविधि, विकासलाई नपछ्याएरै तीन दशक अघिदेखि आफ्नै मौलिक कलासहितको व्यवसायलाई नै निरन्तरता दिएर फरक पहिचान कायम गरेका छन्।

ती पात्र हुन् मछिन्द्रप्रसाद शाक्य। लेखन कलाकारितामा उनको पृथक रूपमा स्थापित परिचय हो, ‘रन्तल आर्ट’। शाक्यले बागलुङ बजारमा ३१ वर्षदेखि चित्र कोर्ने, ब्यानर, बोर्ड लेखेरै जीवनयापन गरिरहेका छन्। सानैदेखि चित्र कोर्ने, पेन्टिङमा रुचि राख्ने शाक्यले अन्ततः कलालाई आफ्नो व्यवसायको रूपमा अघि बढाए। बाबा पदमप्रसाद शाक्यबाट चित्र कोर्न सिकेका शाक्यले अहिलेसम्म अनगिन्ती लेखन र तस्बिरहरू कोरिसके, त्यसको कुनै लेखाजोखा छैन।

शाक्यले २०४५ सालमा शिक्षण पेसा पनि अँगालेका थिए। बागलुङको मालिका माविमा दुई वर्ष शिक्षण पेसा गरेपछि उनी काठमाडौँ हानिए। विसं २०४६ मा बीए पास गरेपछि माथिल्लो तहको पढाइका लागि २०४७ साल तिर राजधानी गएका शाक्यले त्यहाँ विभिन्न आरोह अवरोह र चुनौतीको सामना गर्नुपर्‍यो। आर्थिक अभावका कारण शाक्यले एक निर्यात कम्पनीमा काम सुरु गरे।

त्यस समयमा पनि आफूले निकै समस्या भोग्नु परेको अनुभव शाक्यले सुनाए। त्यस बखत ठेलागाडामा सामान ओसारपसार समेत गरेको उनको भनाइ छ। त्यसको केही वर्षपछि बागलुङ फर्किएरै लेखन कला व्यवसाय आरम्भ गरेको शाक्यले बताए।

विसं २०४९ देखि व्यावसायिक रुपमा चित्र कोर्न थालेका शाक्यले सुरुमा तत्कालीन राजा महेन्द्र शाहको तस्बिर कोरेका थिए। त्यससँगै उनले विभिन्न देवीदेवता र प्रकृतिको तस्बिर कोरे। शाक्य अहिले उमेरले ५६ वर्ष भए तर उनको लेखन र चित्रकला प्रतिको लगाव र समर्पण निकै उत्साहप्रद छ।

चित्र कोर्ने, ब्यानर, साइनबोर्ड लेख्नेलगायतका कलाबाटै सिंगो परिवारको जीविकासमेत उनले चलाउँदै आएका छन्। सुरुमा टिनको पातामा चित्र गर्ने गर्नुभएका शाक्यले पछिपछि कपडा लगायत विभिन्न वस्तुहरूमा पेन्टिङ गर्न थाले। ब्यानर र साइनबोर्ड लेख्न आफ्नो साथीबाट सिकेका शाक्यले चित्रहरू भने आफैँ कोर्न सके।

अहिले पनि चित्र कोर्ने, ब्यानर र साइनबोर्ड लेख्न र वाल पेन्टिङको काम दैनिकजसो गर्दै आएका छन्। विसं २०४६ मा स्नातक पास गरेका शाक्यले अरू जागिर पनि गर्न सक्ने प्रशस्त सुविधा, अवसर र क्षमता थियो। तर, जीवनमा कलाप्रतिको आशक्तिले त्यसबाट बाहिर जाने र सोच्ने कुरा शाक्यका लागि गौण बन्यो।

काठमाडौँबाट गाउँ फर्किएपछि शाक्यले २०४९ सालमा बागलुङमा ‘रन्तल आर्ट’ खोले। त्यसबेलादेखि सुरु भएको शाक्यको व्यावसायिक कला व्यवसाय अहिले पनि उत्तिकै ऊर्जा र उत्साहका साथ निरन्तर सञ्चालनमा छ। ९ सय रूपैयाँबाट व्यवसाय सुरु गरेका शाक्य लेखन कला व्यवसायबाटै सुविधा सम्पन्न घरसहितको सम्पत्ति जोड्न सफल छन्। आफ्नै कलामा रमाउने शाक्यलाई घर्किँदो उमेरले केही फरक नै पारेको छैन।

शाक्यले आफ्नो यही पेसाबाटै दुई छोराको उच्च शिक्षा पढाइ सकेका छन्। जेठो छोरो अहिले अध्ययनकै लागि अष्ट्रेलिया पुगेका छन्। परिवारको जीविकोपार्जनसँगै शाक्यको बागलुङ बजारको सिर्जना टोलमा पक्की घर खडा छ। दुई छोरा र श्रीमतीसहित चार जनाको परिवार खुसी साथ जीवन निर्वाह भइरहेको शाक्यले बताए।

बढ्दो प्रविधिका कारण मौलिक कला संकटमा पर्दै गएको शाक्य बताए। उनले पहिले अत्यधिक रूपमा हुने भित्ते लेखन, ब्यानर, साइनबोर्ड लेखनहरू अहिले फ्लेक्स प्रिन्टले गर्दा निकै कम भएको बताउँछन्।

रन्तल आर्ट पुग्यो भने त्यहाँ दर्जनौं प्रकारका चित्र/स्केचहरु देख्न सकिन्छ। उनले आफ्नो कार्यकक्षदेखि घरका भित्ताहरू पनि आफैँले कोरेका आकर्षक चित्रहरू राखेका छन्। जसले उनको घरमा प्रवेश गर्दा मात्रै पनि कुनै आकर्षक ‘कला घर’ मा प्रवेश गरेको अनुभूति हुन्छ। डिजिटल बजारको माग र प्रभाव बढ्दै गए पनि आफूलाई मौलिकता र आफ्नो कलामा विश्वास भएकाले आम्दानी र भविष्यमा निराश हुनुपर्ने अवस्था नभएको शाक्य बताउँछन्।

‘मलाई आफ्नो कला पौरखमा विश्वास र भरोसा थियो, छ, यो काम गर्न मलाई निकै उत्साह जागेर आउँछ,’ उनले भने, ‘आफूले तयार गरेका कलाहरूको पनि असिम माया लागेर आउँछ, अरूले बनाएको कलाप्रति पनि उत्तिकै सम्मान गर्न मन लाग्छ।’

अब आफ्नो घरलाई नै आकर्षक ‘आर्ट ग्यालरी’ को रूपमा सजाउने सपना रहेको उनले बताए। अहिले घरका भित्ता, झ्याललगायतका ठाउँमा चित्रहरू राखेको उनको भनाइ छ।

पछिल्लो पुस्ताले यसतर्फ ध्यान नदिँदा यो क्षेत्रनै संकटमा पर्ने डर उनीमा छ। ‘अहिलेका युवा पुस्तामा चित्र कोर्ने, ब्यानर लेख्ने चासो देखिँदैन, उनीहरूलाई केही चाहिँदा बित्तिकै डिजिटल बोर्ड छाप्न गई हाल्छन्,’ उनले भने, ‘भोलि यो क्षेत्र पनि कतै लोप होला कि भन्ने चिन्ता छ।’ – डम्मर बुढामगर/रासस

प्रकाशित: २६ मंसिर २०७९ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =