ब्राजिलियन टिममा पर्दा पछाडिका नायक बनेका क्लाउडियो टाफारेल

हिमाल प्रेस २३ मंसिर २०७९ १६:५७
10
SHARES
ब्राजिलियन टिममा पर्दा पछाडिका नायक बनेका क्लाउडियो टाफारेल

काठमाडौँ- सन् १९९४ को विश्वकप धेरै कारणले विशेष बन्‍याे। तीमध्येकाे एक कारण थियाे, विजेताको निर्क्याेल गर्ने पेनाल्टी सुटआउट। किनभने विश्वकपको इतिहासमा त्यसअघि कुनैपनि संस्करणको विजेता पेनाल्टीले चुन्‍नु परेको थिएन। अमेरिकी भूमिमा फाइनलमा पुगेका ब्राजिल र इटालीले निर्धारित ९० मिनेट र थपिएको समयमा पनि गोल गर्न नसकेपछि पेनाल्टीको सहारा लिइएको थियो। पेनाल्टीमा ब्राजिल ३–२ ले विजय हुन पुग्यो।

यो नतिजा सम्झिइँदा इटालीका रोबर्टो बाजियोको तस्बिर सबैको मस्तिष्कमा आइहाल्छ। यसो हुनु स्वाभाविक पनि हो। किनभने उनै बाजियो चम्किएकै कारण इटाली फाइनलसम्म पुगेको थियो।

अनि बाजियो नै पेनाल्टीमा चुक्दा ब्राजिल चौथो पटक विश्वकप विजेता बन्यो। तर यो विश्वकप फाइनलको किस्सा यतिमै सकिँदैन। बाजियोअघि डानिएल मासारोले पनि पेनाल्टीमा गोल गर्न सकेका थिएनन्। यद्यपि उनको प्रहार बाजियोको जस्तो बारमाथि उडेको थिएन। बरु ब्राजिलका गोलरक्षक क्लाउडियो टाफारेलले रोकेका थिए।

विश्व फुटबलमा नायकका दर्जा पाएका बाजियो एकाएक खलनायकमा परिणत हुँदा टाफारेलको नायकत्व भने ओझेलमा पर्‍याे। जे होस् त्यसबेला ब्राजिललाई जिताउन टाफारेलले पेनाल्टी रोक्दै गर्दा एलिसन बालखै थिए। तिनै फुच्चे एलिसन हाल ब्राजिलकाे गोलरक्षक छन्। अनि टाफारेल चाहिँ गोलरक्षक प्रशिक्षक।

सन् १९९४ पछि ब्राजिलले जम्मा एकपटक विश्वकप ट्रफी थप्यो। जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्वकप जितेपछि ब्राजिल जम्मा एकपटक मात्र सेमिफाइनलमा पुगेको छ। त्यो सेफिाइनलको अनुभव पनि मिठो छैन। किनभने आफ्नै भूमिमा ब्राजिल जर्मनीसँग ७–१ ले हारेको थियो।

रुसमा भएको विश्वकप पनि ब्राजिलका लागि सम्झनलायकको रहेन। क्‍वार्टरफाइनलबाट घर फर्किएको ब्राजिल यसपालि भने उपाधिको बलियो दाबेदार हो। हुन त ब्राजिल सधैँ दाबेदार हो। तर कतारमा जारी विश्वकपमा ब्राजिलियन टिम बलियो लयमा छ। र यसको एउटा कारण रक्षापंक्ति हो। रक्षापंक्तिका अगुवा एलिसन हुन्। जो टाफारेलका चेला हुन्।

एलिसन हुर्कदै गर्दा टाफारेल ब्राजिलियन फुटबलका हस्ती बनिसकेका थिए। ३० वर्षीय एलिसन र टाफारेलबीच उमेरमा २६ वर्षको फरक छ। यद्यपि एलिसन टाफारेलले ब्राजिलियन लिग खेलेको सम्झन्छन्। ‘टाफारेल मेरा लागि मात्र होइन, समस्त ब्राजिलियनका लागि नायक थिए। म त बच्चा हुँदा नै उनको नाममा हुटिङ गर्थे,’ एलिसनले भनेका छन्।

इंग्लिस क्लब लिभरपुलबाट युरोपमा खेल्ने एलिसनबाहेक एडरसन र वेभेरटन ब्राजिलका अन्‍य दुई गोलरक्षक हुन्। एडरसन पनि एलिसन जस्तै इंग्लिस प्रिमियर लिग खेल्छन्। वेभेरटन चाहिँ ब्राजिलियन लिग च्याम्पियन पाल्मिरसका गोलरक्षक हुन्।

जारी विश्वकपमा ब्राजिलको अग्रपंक्तिको खुबै तारिफ भइरहेको छ। तर यहाँ भुल्न नहुने तथ्य यो पनि हो, ब्राजिल क्वार्टरफाइनलमा पुग्दा गोलरक्षकहरुको प्रदर्शन उम्दा छ। समूह चरणका दुई खेलमा एलिसनले एक गोल पनि खाएनन्। अन्तिम खेल क्यामरुनसँग हार्दा भने एडरसन गोलरक्षक थिए। तर त्यो खेलमा टिटेले लगभग नयाँ सेटलाई मैदान उतारेका थिए। यसकारण यो नतिजालाई अस्वाभाविक मानिएन। दक्षिण कोरियाविरुद्धको प्रिक्वार्टरफाइनलबाट चाहिँ एलिसन पहिलो एघारमा फर्किसकेका छन्।

दक्षिण कोरियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका एलिसन टाफारेललाई असाध्यै सम्मान गर्छन्। टाफारेलकै कारण आफूले यहाँसम्मको यात्रा गर्न सकेको उनको भनाइ छ। ‘हाम्रा लागि टाफारेल आदर्श हुन्। राष्ट्रिय टिममा परेदखि नै उनीबाट धेरै कुरा सिक्ने मौक पाएको छु। उनको सिकाउने कला र शैली गजब लाग्छ। मेरो फुटबल यात्रामा उनको भूमिका महत्त्वपूर्ण छ,’ एलिसन भन्छन्।

टाफोरेललाई ब्राजिलियन फुटबल इतिहासकै सर्वोत्कृष्ट गोलरक्षक मानिन्छ। उनी सन् २०१४ मा राष्ट्रिय टिममा फर्किएका हुन्, गोलरक्षक प्रशिक्षकका रुपमा। उसो त उनी लिभरपुलसँग पनि आबद्ध छन्।

‘लिभरपुलमा हामी गोलरक्षकहरुका लागि भिन्दै दर्शन निर्माण गर्न चाहन्छौँ। र यो कामका लागि टाफारेल योग्य व्यक्ति हुन्। उनको र एलिसनको सम्बन्ध विशेष छ। यसकारण पनि उनलाई लिभरपुलमा स्वागत गर्न पाउँदा हामी दंग छौँ,’ टाफारेल डिसेम्बर, २०२१ मा लिभरपुलसँग आबद्ध हुँदा योर्गन क्लपले भनेका थिए।

टाफोरेलले ब्राजिलका लागि एक सय एक खेल खेले। उनले खेलेको अन्तिम विश्वकप सन् १९९८ को हो। त्यसबेला ब्राजिल फाइनलमा फ्रान्ससँग हारेको थियो। त्यसको तीन वर्षपछि टाफारेलले राष्ट्रिय टिमबाट संन्यास लिए। करिब एक दशकपछि टाफारेल टर्कीस क्लब गालाटासारेको प्रशिक्षक बने, कुनैबेला आफूसँगै खेलेका जर्जी हाजीको निमन्त्रणा स्वीकारेर।

गालाटासारेमा टाफारेल प्रशिक्षक हुँदा गोलरक्षक भने फरिद मोनड्रागन थिए। उनी टाफारेललाई यसरी सम्झिन्छन्, ‘क्लाउडियो विशेष खालका प्रशिक्षक हुन्। उनी आफ्ना जमानाका उत्कृष्ट गोलरक्षक त हुन् नै, प्रशिक्षकका रुपमा उनको ज्ञानको दायरा फराकिलो छ। यसकारण एलिसन, एडरसन र वेभेरटनले सही गुरु भेटेका छन्।’

आधुनिक फुटबलमा गोलरक्षकको शैली फेरिएको छ। अचेल गोलरक्षक ‘सट स्टपर’ मा मात्र सीमित हुँदैनन्। बरु टिमको बिल्डअप नै गोलरक्षकको प्रहार वा पासबाट सुरु हुनेगर्छ। यो परिदृश्यसँग टाफेरेल परिचित छन्। आफ्ना गोलरक्षकलाई बलसँग थप अभ्यस्त पार्न उनी आधुनिक शैलीमा अभ्यास गराउँछन्। अन्य गोलरक्षक प्रशिक्षकका सेसन अध्ययन गर्छन्।

‘हामी कुनै पनि खेलमा गोल खान चाहँदैनौँ। किनभने गोल नखानु भनेको टिमको अग्रपंक्तिलाई बलियो बनाउनु हो,’ टाफारेलले हालै एक अन्तरवार्तामा भनेका छन्।

जारी विश्वकपमा ब्राजिलले दुई गोल खाएको छ। विश्वकप छनोटमा पनि ब्राजिलको रक्षापंक्ति उत्तिकै बलियो थियो। कुल १७ खेल खेल्दा ब्राजिलले पाँच गोल खाएको थियो। छनोटमा टाफारेलले तीन गोलरक्षकलाई नै मौका दिने प्रयास गरेका थिए। यति हुँदाहुँदै पनि एलिसन प्रमुख रोजाइका गोलरक्षक हुन्। र यो तथ्यसँग अन्य दुई गोलरक्षक जानकार छन्।

‘हामी सबै खेलाडी दाजुभाई जस्ता छौँ। यो टिम एक परिवार हो। सबैले सबैलाई सम्मान गछौँ। र यही कारण ब्राजिलले राम्रो नतिजा निकाल्न सकिरहेको हो,’ तीन गोलरक्षकमध्ये सबैभन्दा पाका ३४ वर्षीय वेभेरटनले भनेका छन्।

प्रकाशित: २३ मंसिर २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =