सप्तकोसीको पानी धरान ल्याउने हर्कको योजनामा बराहक्षेत्रका मेयर सकारात्मक

हिमाल प्रेस २२ मंसिर २०७९ ७:२५
32
SHARES
सप्तकोसीको पानी धरान ल्याउने हर्कको योजनामा बराहक्षेत्रका मेयर सकारात्मक

इटहरी- सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ।

बराहक्षेत्र नगरपालिकाको कार्यालयमा बुधबार भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए।

मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
औपचारिक रूपमा दुई छिमेकी पालिकाका प्रमुखको तेस्रो पटक भएको भेटमा खानेपानीसहित अन्य विषयमा समेत छलफल भएको बराहक्षेत्र नगरपालिका सूचना अधिकृत पुकार पोखरेलले बताए।

धरान उपमहानगरका मेयरले चतराबाट पानी धरान लैजाने योजनालाई दुईवटा पालिकाको संयुक्त कार्यक्रम रूपमा लैजानुपर्नेमा जोड दिएका थिए।

पानीसहित फोहोर व्यवस्थापन, सडक पूर्वाधार, धार्मिक सर्किट लगाएका विषयमा बराहक्षेत्र नगरपालिकासँग सहकार्य गरेर काम गर्ने धरानका मेयर साम्पाङले बताए
। बराहक्षेत्र नगरपालिकामा छलफल लगत्तै दुवै मेयरसहित टोली सप्तकोसीमा पनि पुगेका थिए। मेयर साम्पाङकोशीबाट पानी धरान ल्याउन लिफ्ट गर्ने स्थानबारे बराहक्षेत्रका मेयर कार्कीलाई स्थलगत निरीक्षण पनि गराए।

छलफल तथा अवलोकनमा धरानबाट मेयर साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहितको टोली पुगेको थियो। यस्तै, बराहक्षेत्रबाट मेयर कार्की, वडा नं। १ का वडाध्यक्ष किसान थापा मगर, वडा नं ६ का अध्यक्ष उद्धवप्रसाद पोखरेल, योजना शाखाका प्रमुख राजु भट्टराई लगायतले अवलोकन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =