बाढीका कारण बस्ती जोखिममा

हिमाल प्रेस १८ भदौ २०८१ ७:१८
8
SHARES
बाढीका कारण बस्ती जोखिममा

सुनसरी- भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका-१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन्। धरान-१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताए।

उनले भने, ‘पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्छ। कहिलेकाहीँ आफन्तकामा राति बास बस्न जाने गरेका छौँ।’

खहरे खोलामा बाढी आएपछि ज्यान जोगाउन नै सास्ती हुने लिम्बूले बताए। ‘घर होचो छ, खहरे खोला माथिबाट आउनसाथ सिधैँ घरभित्र छिर्छ, एकदमै त्रासमा रात बिताउने गरेका छौँ’, उनले भने। खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि यहाँका स्थानीय रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बस्तीका बासिन्दा बताउँछन्।

सोही स्थानकी कमला राईले भने, ‘घरमा बस्न नसकिने अवस्था भएर केही दिनदेखि बेलुका अर्काको घरमा जाने गरेका छौँ। पानी पर्न सुरु भएपछि घर छोडेर सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था छ।’

स्थानीय कौशिला श्रेष्ठले खोला नजिकै घर भएकाले उच्च जोखिममा रहेको बताइन्। ‘घरमा केटाकेटी, बूढाबूढी बाबाआमा हुनुुहुन्छ। बेलुका बाढी आइहाले कहाँ जाने भन्ने चिन्ताले रातभर निन्द्रा नलागेर जाग्राम बस्नु परेको छ’, उनले भनिन्।

खहरे खोलामा आउने पानीको भर नहुने भन्दै कुनबेला कस्तो वितण्ड मच्चाउँछ थाहै नहुने धरान–१३ का स्थानीय लाक्पा शेर्पाले बताए। उनले भनिन्, ‘स्थानीय सरकारले आधुनिक प्रविध र दक्ष प्राविधिक लगाएर खहरे खोलामा आउने बाढीको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्छ। स्थानीय कतिदिनसम्म यसरी त्रासमा रातभर जाग्राम बस्ने?’

आज दिउँसोको वर्षासँगै आएको बाढीले एउटा घरमा आशिंक क्षति भएसँगै परिवारलाई आफन्त कहाँ सर्न आग्रह गरिसकिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए। उनले भने, ‘खहरे खोलामा आएको बाढीले कही बिजुलीका खम्बामा क्षति हुने सम्भावना छ, तत्काल खोला नियन्त्रण गर्न सकिएकाले अहिलेसम्म क्षति हुन पाएको छैन।’

धरान–१३ का सात घरमा क्षति भएको छ भने करिब १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष काफ्लेले जानकारी दिए। ‘खहरेमा आएको बाढीले पूरै खोला कटान गर्न सुरु भएपछि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम सुरु गरिसकेका छौँ’, उनले भने, ‘खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसिभी ल्याएर बस्ती जोगाउने काम भएको छ।’

यही भदौ १३ गते र १७ गते दिउँसो आएको वर्षाका कारण करिब तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताए। क्षतिको यकिन विवरण संकलन गरिने बताउँदै उनले तत्काल समस्या समाधान गर्न ग्याबिन जाली लगाउने काम भइरहेको जानकारी दिए। रासस

प्रकाशित: १८ भदौ २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =