अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

हिमाल प्रेस १८ मंसिर २०७९ ६:३५
10
SHARES
अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौँ- अस्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक-एक गोल गरे।

करियरको एक हजार खेल खेलेका मेस्सीले ३५औं मिनेटमा गोल गरेका थिए। बक्सभित्र ओटामेन्डीले मिलाएको बललाई मेस्सीले सहज गोल गरे।

दोस्रो हाफमा दुई पटकको च्याम्पियन अर्जेन्टिनाले दोस्रो अग्रता बनाएको थियो। अल्भारेजले ५७औं मिनेटमा गोल गरे। अस्ट्रेलियाका गोलरक्षक म्याट रायनले गरेको गल्तीको फाइदा उठाउँदै अल्भारेजले २–० को अग्रता दिलाएका थिए।

खेलको ७७औं मिनेटमा अस्ट्रेलियाले दूरी घटायो। वैकल्पिक खेलाडी क्राइग गुडविनको प्रहार अर्जेन्टिनी डिफेन्डर एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो।

अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ। शनिबार नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो।

प्रकाशित: १८ मंसिर २०७९ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =