इटो र सङले हाँकेको कीर्तिमानी क्यामरुन

हिमाल प्रेस १७ मंसिर २०७९ ११:०८
10
SHARES
इटो र सङले हाँकेको कीर्तिमानी क्यामरुन

काठमाडौँ- आतिरिक्त समयमा भिन्सेन्ट आबुबकारले हेडर गोल गरेपछि क्यामरुनले समूह चरणको खेलमा ब्राजिलमाथि १–० को जित दर्ता गर्‍यो। भिन्सेन्टले जेरोमी बेकेलीको क्रसमा गोल गरेका थिए। यी दुईको साझेदारीका कारण क्यामरुन ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी टिम बन्यो। यद्यपि क्यामरुनले समूह चरण भने पार गर्न सकेन।

क्यामरुनका प्रशिक्षक रिगोबर्ट सङले बेकेलीलाई ८६ औँ मिनेटमा मैदान छिराएका थिए। टिमको अन्तिम सब्स्च्यिुट भएर मैदान प्रवेश गरेका २४ वर्षीय बेकेलीले पाँच मिनेटपछि नै खेल परिवर्तन गरिदिए।

चर्चा बेकेलीकै गरौँ। उनी क्यामरुनका २६ खेलाडीमध्ये एक्ला हुन्, जो विदेशी लिग खेल्दैनन्। बेकेलीसँग सङ आफैँ दाँजिन्छन्। किननभने सन् १९९४ को विश्वकप खेल्ने मौका पाउँदा उनी पनि क्यामरुनी घरेलु लिग नै खेल्थे। उनलाई मौका दिने प्रशिक्षक थिए, मेन्री माइकल।

‘प्रशिक्षक भएको नाताले मैले युवा खेलाडीमाथि भरोसा गर्नुपर्छ। कुनैबेला हेन्री माइकलले मलाई मौका दिए। उनले ममा प्रतिभा देखेका थिए। अब मैले उनले जे गरेका थिए, त्यही गर्नुपर्छ,’ सङले भने, ‘मलाई थाहा थियो बेकेली प्रतिभावान् छन् भनेर। उनलाई बस अवसर चाहिएको थियो। आशा छ उनीबाट क्यामरुनी लिग खेल्ने अरु खेलाडीले प्रेरणा लिनेछन्।’

यो विश्वकपले बेकेली मात्र होइन गोलरक्षक डेभिस इपासेलाई पनि चिनाएको छ। पहिलो रोजाइका गोलरक्षक आन्द्रे ओनानालाई निकालिएपछि समूह चरणका दोस्रो र तेस्रो खेल इपासेले खेल्न पाएका हुन्। ब्राजिलका कयौँ आक्रमण र प्रहार रोकेपछि इपासे प्लेयर अफ द म्याच चुनिए।

‘म क्यामरुनमै पनि परिचित थिइनँ। तर राष्ट्रिय टिममा आएपछि मलाई मान्छेले चिन्न थाले। म मात्र होइन पूरै टिम यो विश्वकपमा गरेको प्रदर्शनका कारण गर्व मससुस गरिरहेको छ। किनभने हामीले क्यामरुन पनि उत्कृष्ट टिम बन्न सक्छौँ भन्ने पर्याप्त प्रमाण दिन सक्यौँ,’ गोलकर्ता आबुबकारसँगै साउदी अरबको लिग खेल्ने इपासेले भने।

हाल क्यामरुनी फुटबल सामुएल इटोले हाँकिरहेका छन्। त्यहाँको फुटबल संघका अध्यक्ष रहेका इटो र प्रशिक्षक सङसँग लामो समय युरोपेली लिग खेलेको अनुभव छ। यसकारण यी दुईले क्यामरुनी टिममा युरोपेली क्लबको जस्तै कडा अनुशासन र नियम लागू गराएका छन्।

‘विगतमा क्यामरुनी टिममा अनुशासनको अभाव थियो। त्यसले गर्दा हामी सधैँ पछि परिरह्यौँ। हुनसक्छ हामी अरु पक्षमा पनि चुक्यौँ। यसकारण हामी यी सबै पक्षलाई ध्यानमा राखेर अघि बढिरहेका छौँ,’ सङले भने, ‘राष्ट्रिय टिम कुनै एक खेलाडी वा व्यक्तिको भरमा चल्न सक्दैन। यसकारण प्रत्येकले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ।’

पहिल्यै नकआउट चरणमा पुगिसकेका ब्राजिलले क्यामरुनविरुद्ध दोस्रो रोजाइको टिम उतारेको थियो। तर लुसेल रंगशालामा क्यामरुनले जस्ताे जित हासिल गर्‍यो, यो इतिहासमा दर्ज हुनेछ। किनभने ब्राजिल सन् १९९८ पछि विश्वकपको समूह चरणमा पहिलो पटक पराजित भएको हो। क्यामरुनअघि नर्वेले ब्राजिललाई यसरी स्तब्ध बनाएको थियो।

‘ब्राजिललाई हराएपछि हामीलाई आफ्नो क्षमतामाथि झनै विश्वास भएको छ। सायद हामीले यो विश्वकपमा अझ राम्रो खेल्न सक्थ्यौँ होला। तर टिममा युवा खेलाडीको संख्या धेरै छ, हामी क्रमशः सिक्दै जानेछौँ। विश्वकपबाट चाँडै फर्कनु परेकाले दुःखी छौँ। क्यामरुन पुगेपछि भविष्यका लागि काम गर्न सुरु गर्नेछौँ,’ सङले भने।

प्रकाशित: १७ मंसिर २०७९ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =