काठमाडौँ- बाँकेकी निर्मला कुर्मीको न्यायका लागि राजधानीमा तेस्रो चरणको आन्दोलन सुरु भएको छ। अधिकारकमीहरू पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाहीको माग गर्दै शुक्रबार माइतीघरमा धर्ना थालेका हुन्।
निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चारबुँदे मागसहित तेस्रो चरणको आन्दोलन सुरु गरेको अधिकारर्मी रुबी खानले बताइन्।
उनले निर्मलाको न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताइन्। उनले सरकारले पटकपटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाइन्। खानले सरकारले आन्दोलनकारीहरुसँग दुईपटक वार्ता गरेको तर पनि मुद्दा अदालतसम्म पुर्याउन नसकेको बताइन्।
उनले भनिन्, ‘प्रहरीले नै अपराधीको रक्षा गरिरहेको छ। निर्मला कुर्मीको न्यायका लागि तेस्रो चरणको आन्दोलन लिएर आएका छौँ। पहिलो चरणमा २० दिनको पैदल यात्रा गरेर काठमाडौँ आयौँ। दोस्रो चरणमा ४२ दिनसम्म आन्दोलनमा बस्यौँ। तेस्रो चरणमा आजबाट आन्दोलनमा छौँ।’
निर्मला कुर्मीलाई सम्पत्तिका लागि बन्धक बनाएर राखिर यातना दिई हत्या गरेको आरोप उनको छ। उनले भनिन्, ‘प्रहरीले प्रमाण नष्ट गरेर अपराधीको रक्षा गरेको छ।’ बाँकेमा निर्मलाले न्याय नपाउँदा ८÷९ जना महिलाको हत्या भइसकेको उनको भनाइ छ। उनले भनिन्, ‘अन्यायमा परेकाहरुले न्याय नपाउँदा अपराधीहरुको हौसला बढिरहेको छ।
सरकारले हाम्रो आवाज सुनिरहेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि दोहोरो कुरा गरेको छ।’
घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगन्जबाट २० दिनको पैदल यात्रा गर्दै काठमाडौँ आएका थिए। गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए। त्यसपछि अधिकारकर्मीहरूले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए।