स्कुल-स्कुलमा ‘ऐना झ्यालको पुतली’

हिमाल प्रेस १० पुष २०७९ १३:५३
104
SHARES
स्कुल-स्कुलमा ‘ऐना झ्यालको पुतली’

 हेटौँडा- फिल्म ‘ऐना झ्यालको पुतली’ हेटौँडाका विभिन्न स्कुलमा प्रदर्शन भइरहेको छ।

फिल्म गत साता हेटौँडाका कमाने एकेडेमी, नवोदय शिशु सदन, सत्यम् जेभियर्स स्कुल र सनराइज बोर्डिङ स्कुल लगायतमा प्रदर्शन गरिएको थियो।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीले, शिक्षक आदिले फिल्म हेरेको  लर्निङ मिडियाका कपिल लामिछानेले बताए।

हालै फिल्मले भारतको प्रतिष्ठित ‘कौटिक फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेता र अभिनेत्री गरी चार विधामा अवार्ड जितेको छ।

‘ऐना झ्यालको पुतली’ नेपालबाट अस्कर २०२३ का लागि आधिकारिक रूपमा सिफारिस भएको थियो। तर, फिल्म अस्करको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा छनोटमा पर्न असफल भएको छ।

फिल्म भदौ २४ मा प्रदर्शनमा आएको थियो। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म व्यवसायिक रूपमा सफल पनि भयो।

फिल्म यसअघि दक्षिण कोरियाको ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’, बंगलादेशको ‘ढाका इन्टरनेसनल फिल्म फेस्टिभल’, चेक रिपब्लिकको ‘जलिन फिल्म फेस्टिभल’ र अस्ट्रेलियाको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’लगायत प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको छ।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली फिल्मको रूपमा फिल्मले इतिहास बनाएको छ। ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा निर्देशक सुजित बिडारीले ‘उत्कृष्ट निर्देशक’को अवार्ड हात पारेका थिए।

सुजित बिडारीले यस फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका हुन्। फिल्ममा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको शिक्षाका लागि गर्ने संघर्षलाई देखाइएको थियो। त्यसबाहेक फिल्ममा दिदी र भाइको भावनात्मक सम्बन्धको कथा पनि छ।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारको अभिनय छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =