‘म त्यसभन्दा अघि एकचोटि सिन्धुपाल्चोक गएको थिएँ। चौतारा-जलवीरे हुँदै भोट जाँदा बीच बाटोमा पर्ने दुगुनागढी जहाँ मेरा पुर्खा धीरशमशेरले बनाएको किल्ला देखेर एकदम आत्मीयता जागेर आएको अझै ताजा छ।’
काठमाडौँ- २०२९ सालतिर सेडा (सेन्टर फर इकोनमिक डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन) का कार्यकारी निर्देशक रहेका पशुपतिशमशेर राणाले राजनीतिमै आफ्नो भविष्य देखेका थिए। तर उनमा कहाँबाट राजनीति थाल्ने भन्ने अलमलचाहिँ थियो।
अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाति एवम् भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेरका छोरा पशुपतिशमशेरका लागि जनतासँग घुलमिल हुन त्यति सजिलो थिएन। यद्यपि उनले दृढसंकल्प भने त्यागेनन्।
आखिरमा उनी महाराजगन्जस्थित विजयवासबाट विकट गाउँतर्फ हानिने निर्णयमा पुगे। त्यही निर्णयबाट अघि बढेका उनी नेपाली राजनीतिमा स्थापित भएरै छाडे। चारपटक राष्ट्रिय पञ्चायत सदस्य, बहुदलीय व्यवस्थामा तीन पटक प्रतिनिधिसभा सदस्य, पटकपटक मन्त्री र अहिले प्रतिनिधिसभामा समानुपातिक सांसद निर्वाचित राणाको राजनीतिक यात्रा रोचक छ। यहाँ राणाले राजनीति गर्न सिन्धुपाल्चोक रोज्नु र उनको राजनीतिक फड्कोको सन्दर्भमा चर्चा गरिएको छ।
सिन्धुपाल्चोकले यसरी बोलायो
२०२० को दशकमा सिन्धुपाल्चोकको राजनीतिमा नेत्रविक्रम थापा, भक्तध्वज प्रधान र त्रिभुमान श्रेष्ठको प्रभाव थियो। २०२२ सालमा थापा र प्रधान राष्ट्रिय पञ्चायत सदस्य थिए भने श्रेष्ठ जिल्ला पञ्चायत सभापति। ‘बन्दुके काजी’ भनेर चिनिने थापा कडा मिजासका थिए। सल्लाहकारको पदवी पाएका श्रेष्ठ केही उदार मानिन्थे। जिल्लाको राजनीति र विकास निर्माणका विषयमा यी दुईबीच विवाद भइरहन्थ्यो। थापाको पहुँच पञ्चायतका हस्ती सूर्यबहादुर थापासम्म थियो। त्यसैले उनी जिल्लामा आफूले चाहेअनुसार गर्न खोज्थे। श्रेष्ठ त्यसको विरोध गर्थे। थापाकै कारण २०२६ सालको जिल्ला पञ्चायत सभापतिमा श्रेष्ठ निर्वाचित हुन सकेनन्। त्यसपछि उनै थापा जिल्लामा एकछत्र बन्न खोजे। थापाको यो शैली दरबारका केही अधिकारीहरूलाई मन परेको रहेनछ। त्यसैले थापालाई ‘साइज’मा ल्याउन उनीहरू उपयुक्त पात्रको खोजीमा थिए।
२०२९ सालतिर दरबारका सचिव (पछि नेपाल राष्ट्र बैंकका गभर्नर) थिए कल्याणविक्रम अधिकारी। एक दिन अधिकारीले थापालाई बोलाएर प्रस्ताव गरेछन्, ‘जिल्लामा राष्ट्रिय पञ्चायत सदस्यमा दुई सिट छ। एउटा तपाईंलाई भइहाल्यो। अर्को एक सिटमा पशुपतिशमशेर जस्तो मान्छे लानुभयो भने विकास निर्माणमा धेरै सहयोग हुन्छ। राणा सम्पन्न र पढेलेखेका विद्वान् मान्छे हुन्।’ (सिन्धुको राजनीतिक इतिहास र त्रिभुमान श्रेष्ठ, सं. रविन्द्र श्रेष्ठ, १४४)।
राणा त्यति बेला कीर्तिपुरस्थित सेडामा कार्यकारी निर्देशक थिए। भारतमा विद्यालय शिक्षापछि फ्रान्समा कलेज शिक्षा लिँदै उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट डिग्री लिएका राणाले फोर्ड फाउन्डेसनको सहयोगमा त्रिभुवन विश्वविद्यालय परिसरमा सेडा स्थापना गरी त्यसलाई प्रतिष्ठा दिलाएका थिए। (आफैँलाई खोज्दा, विश्वम्भर प्याकुर्याल)
राणाको व्यक्तित्व पनि आकर्षक थियो। थापाले पनि आफ्नो राजनीतिक सहयात्रीका रूपमा राणालाई स्वीकार गरिहाले। थापाले अधिकारीको उक्त प्रस्ताव तत्कालीन राजा वीरेन्द्रको चाहनाअनुसार रहेको बुझेका रहेछन्। तर राणाको सिन्धुपाल्चोक प्रवेश राजाको चाहनाअनुसार नभएर दरबारका सचिवकैअनुसार भएकाे यथार्थ थापाले पछि मात्रै थाहा पाए। जति बेला थापा उनै राणाका कारण राजनीतिबाट ओझेल पर्दै थिए।
राणा पनि राजनीति गर्नका लागि काठमाडौँबाट नजिकै कुनै एउटा जिल्लाको खोजीमा थिए। ‘मैले त्यसबेला धादिङ, नुवाकोट र रसुवा जिल्ला हेरेको थिएँ। म त्यसभन्दा अघि पनि एकचोटि सिन्धुपाल्चोक भने गएको थिएँ। चौतारा-जलवीरे हुँदै भोट जाँदा बीच बाटोमा पर्ने दुगुनागढी जहाँ मेरा पुर्खा धीरशमशेरले बनाएको किल्ला देखेर एकदम आत्मीयता जागेर आएको अझै ताजा छ।’ (सिन्धुको राजनीतिक इतिहास… ६१)। यसरी राणाले सिन्धुपाल्चोक रोज्नुमा आफ्नो पुर्खाको सम्मानका रूपमा लिए। तर उनलाई जिल्ला प्रवेशमा एउटा बलियो शक्तिको निकट हुनु जरुरी थियो। त्यसैले राणाले थापालाई माध्यम बनाएका रहेछन्।
लोभलाग्दो राजनीतिक जीवन
राणाका समकालीन नेताहरूको राजनीतिक जीवन निकै संघर्षमय थियो। केही नेता जेल परेर राजनीतिमा उदाएका छन्। केहीले यातना पाएका छन्। कतिपयचाहिँ राजद्रोहको मुद्दा भोग्न बाध्य भए। राणा भने राजनीतिक जीवनमा कुनै आन्दोलनमा सहभागी हुनु परेन। न त पक्राउ परे।
जुन व्यवस्था आए पनि त्यसलाई सहजै स्वीकार गर्ने उदार चरित्रकै कारण उनी पञ्चायत, बहुदल र संघीय लोकतान्त्रिक गणतन्त्रमा सजिलै प्रस्तुत हुन सफल भए। पञ्चायती व्यवस्थामा पटकपटक मन्त्री भएका राणाले बहुदल आएपछिको पहिलो चुनाव २०४८ मा राप्रपा चन्दबाट चुनाव जिते।
कम्युनिस्ट छवि बनाएका कैयौँ नेता राणाको छत्रछायामा पुगे। बलियो बन्दै गएको कम्युनिस्टहरूको संगठनलाई उपयोग गरेर राणाले झन्डै चार दशक सिन्धुपाल्चोकमा राज गरे। यसबाट जिल्लाको कम्युनिस्ट आन्दोलन तहसनहस बन्न पुग्यो। कम्युनिस्टहरू उनको समूहबाट बाहिरिन २०४६ सालसम्म पर्खनुपर्यो।
२०५१ को मध्यावधि चुनाव जितेपछि उनी जलस्रोतमन्त्री भएका थिए। २०६२/६३ को आन्दोलनपछि गणतन्त्रलाई सहजै स्वीकार गर्ने नेतामा पर्छन् राणा। त्यसैले उनलाई २०६४ सालमा जिल्ला फर्किएर चुनाव लड्न अप्ठ्यारो परेन। तर २०६४, २०७० र २०७४ सालको चुनाव परिणाम उनको पक्षमा आएन। पूर्वपञ्चहरूको बाहुल्य रहेको राप्रपा पटकपटक फुट्दै र जुट्दै आएको असर उनको चुनावी परिणाममा पनि देखिन थाल्यो। हुन त राणा पनि कहिले कुन समूहमा र कहिले कुन समूहमा रहेर आफ्नो अस्तित्व बचाउन सफल हुँदै आएका छन्। एकपटक राप्रपा संयुक्तको अध्यक्ष भएर पनि उनले पार्टीको प्रमुख भूमिका निर्वाह गरे। शक्तिको टकरावका कारण जिल्लाको राजनीतिमा पटकपटक विवादमा तानिए पनि मन्त्री बनेका बेला भने उनी कुनै अनियमिततामा मुछिएको पाइँदैन।
प्रगतिशीलको आवरणमा वामपन्थीलाई तहसनहस
राणा राजनीतिमा प्रवेश गरेपछि सिन्धुपाल्चोक जिल्लामा केही आशाका झिल्का देखिएका थिए। जिल्लावासी यथास्थितिवादी र अनुदारवादी परम्परागत राजनीतिक नेताबाट आजित थिए। पञ्चायतको भित्रभित्रै विरोध हुँदै थियो। वामपन्थी विचार समूहका नेताहरूले संगठन बलियो बनाउँदै लगेका थिए। चतुर राणाले त्यही बेला एउटा उपाय निकाले।
‘म पढलेख गरेको मान्छे, प्रगतिशील विचारमा आस्था राख्छु। त्यसैले जिल्लामा म साँचो अर्थमा कम्युनिस्ट विचारको नेतृत्व गर्न सक्छु। यसकारण सचेत युवाहरू मेरोमा आउनुपर्छ’ (सिन्धुको राजनीतिक इतिहास…पृष्ठ ८२) भनेर युवासामु प्रस्तुत भए। पञ्चायतकाे कठोर राजनीतिक पद्धतिबाट आजित भएका कम्युनिस्ट पार्टीका धेरै युवा राणाको क्याम्पमा प्रवेश गरेका थिए।
अनुदारवादी राजनीतिक व्यवस्था भएको ठाउँमा परिवर्तनशील विचार लिएर आएको व्यक्तिप्रति आशा जाग्नु स्वाभाविकै थियो। कम्युनिस्ट छवि बनाएका कैयौँ नेता राणाको छत्रछायामा पुगे। बलियो बन्दै गएको कम्युनिस्टहरूको संगठनलाई उपयोग गरेर राणाले झन्डै चार दशक सिन्धुपाल्चोकमा राज गरे। यसबाट जिल्लाको कम्युनिस्ट आन्दोलन तहसनहस बन्न पुग्यो। कम्युनिस्टहरू उनको समूहबाट बाहिरिन २०४६ सालसम्म पर्खनुपर्यो।
जसले भित्र्यायो उसैलाई किनारा
२०३१ को चुनावमा थापाले जिल्लामा आफैँले भित्र्याएका राणाका पक्षमा भोट हाल्न सार्वजनिक आह्वान गरेका थिए। यसबाट राणालाई जिल्लामा राजनीतिक रूपमा स्थापित हुन थप सहज भयो। सोही कारण जिल्ला प्रवेश गरेपछिको पहिलो राष्ट्रिय पञ्चायतको चुनावमा राणा निर्वाचित भए।
थापा भने पराजित भए। थापाले आफू पराजित हुनुको दोष राणामाथि लगाए। दुई नेताबीच मनमुटाव हुन थाल्यो। यतिसम्म कि थापाले झन्डै ज्यान लिएको राणाको दाबी छ। जनमतसंग्रहपछि सिन्धुपाल्चोकको तीनघरेमा एउटा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा राणा पनि पुगेका थिए। त्यो घटनाबारे राणाले स्मरण गरेका छन्, ‘स्कुलमा कार्यक्रम गर्ने बेलामा हामीमाथि सांघातिक हमला भयो। हामी त्यहाँबाट सुरक्षित नभएको भए धेरै मानवीय क्षति हुने थियो। मेरो जीवनमाथि धावा बोलिएको थियो। भाग्यवश म बाँच्न सफल भएँ। (सिन्धुको राजनीतिक इतिहास… ६२)
सचिव अधिकारीले थापाका पक्षमा निकै नरम देखिएर राणालाई सिन्धुपाल्चोक भित्र्याउन प्रस्ताव गरेका थिए। अधिकारी थापालाई साथ दिएको जस्तै पनि देखाउँथे। तर त्यो कुरा थापाले बुझ्न सकेनन्। अधिकारीको चाहना राणालाई जिल्लाको राजनीतिमा ल्याएर नेत्रविक्रम काजीलाई डाउन गर्नु रहेछ। (सिन्धुको राजनीतिक इतिहास… १३८) थापाको झन्डै दुई दशकअघि नै निधन भइसकेको छ।
राणाको प्रवेशपछि जिल्लाको राजनीतिमा सक्रिय रहेका भक्तध्वज प्रधान पनि बिस्तारै किनार लाग्दै गए। वयोवृद्ध राणा अझै सक्रिय राजनीतिमा संलग्न छन्। २०३१ सालदेखि २०६४ अघिसम्म राणाले सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गरे। यसबीचमा उनी जिल्लाको राजनीतिमा त केन्द्रमा रहे। जिल्लामा पुराना पुस्तामा ‘बाबु साहेब’ बाट परिचित राणा आफू जनप्रतिनिधि हुँदा भौतिक विकासका साथै रोजगारीमा पनि योगदान दिएको दाबी गर्छन्।
प्रत्यक्षतर्फको चुनावमा २०७४ सालमै अन्तिम चुनाव भनेका राणा यसपटक समानुपातिक संसद् बनेका हुन्। राणा पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतान्त्रिक तीनै व्यवस्थामा जनप्रतिनिधि चयन हुने भाग्यमानी नेतामध्येमा पर्छन्।
गाउँ सभासद्देखि संसद्को ज्येष्ठ सदस्यसम्म
राणाको राजनीति सुरु भयो वडाबाट। गाउँ सभासद् भएपछि उनी सिन्धुपाल्चोकको तत्कालीन थुम्पाखर गाउँ पञ्चायतबाट उपप्रधानपञ्च चुनिए। जिल्ला पञ्चायतमा उपसभापति हुँदै उनी राष्ट्रिय पञ्चायतमा निर्वाचित हुन पुगे। राष्ट्रिय पञ्चायत सदस्यमा लगातार चार पटक (२०३१, २०३४, २०३८ र २०४३) जितेका राणाले शिक्षा, जलस्रोत मन्त्रालयको नेतृत्व गरेर जिल्लाको शैक्षिक एवम् ऊर्जाको विकासको जग बसालेको जानकारहरू बताउँछन्।
बहुदलीय व्यवस्थापछिको तीनवटा चुनाव (२०४८, २०५१ र २०५६) मा जितेर ह्याट्रिक गरेका राणाले गणतन्त्रकालमा हारको ह्याट्रिक व्यहोरे। उनी २०६४ मा माओवादीका दावा तामाङ र २०७० मा एमाले शेरबहादुर तामाङसँग पराजित भए। चार वर्षअघिको निर्वाचनमा पनि उनी वाम गठबन्धनका शेरबहादुर तामाङसँगै हारे। राणा यसपटक भने प्रतिनिधिसभामा पुगेका छन्। ८१ वर्षीय राणा संसद्का ज्येष्ठ सदस्य हुन्।
समानुपातिक सांसद बन्न पार्टीभित्रै चुनावको सामना
प्रतिनिधिसभा निर्वाचनमा क्रममा समानुपातिक बन्दसूचीमा राणाको नाम खस–आर्य क्लस्टरअन्तर्गत छैटौँ नम्बरमा प्रस्ताव गरिएको थियो। डा. प्रकाशचन्द्र लोहनी पाँचौँ नम्बरमा थिए। तर त्यो सूचीलाई लोहनी र राणा दुवैले अस्वीकार गरे। लोहनीले आफ्नो नाम पहिलो नम्बरमा राख्नुपर्छ भन्ने अडान लिए भने राणाको माग मतदान गर्नुपर्छ भन्ने रह्यो।
यसपछि केन्द्रीय कार्यसम्पादन समितिमा कसको नाम पहिला राख्ने भनेर मतदान भयो। राणाका पक्षमा ११ मत प्राप्त भएको थियो भने लोहनीले ९ मत पाएका थिए। त्यसपछि राप्रपाले बन्दसूची सच्याउँदै राणाको नाम पहिलो नम्बरमा राखेर निर्वाचन आयोगमा फेरि बन्दसूची पेस गरेको थियो। मत परिणामअनुसार खस-आर्य क्लस्टरबाट राप्रपाले एकजना मात्र पठाउन पाउने भएपछि बन्दसूचीको पहिलो नम्बरमा रहेका राणाले प्रतिनिधिसभामा प्रवेश पाएका हुन्।
ज्येष्ठ सदस्य बनेर विश्राम!
८१ वर्षका राणाको सम्भवतः संसद्मा यो अन्तिम कार्यकाल हुनेछ। नियमित प्रक्रियाअनुसार चुनाव भएमा अर्को चुनाव हुँदा राणा ८६ वर्षका हुनेछन्। प्रत्यक्षतर्फको चुनावमा २०७४ सालमै अन्तिम चुनाव भनेका राणा यसपटक समानुपातिक संसद् बनेका हुन्। राणा पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतान्त्रिक तीनै व्यवस्थामा जनप्रतिनिधि चयन हुने भाग्यमानी नेतामध्येमा पर्छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यमा पदबहाली भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले देशको भलोका लागि सन्तुलित रूपमा निष्पक्ष भएर काम गर्ने बताए। उनले भने, ‘बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रूपमा भूमिका निर्वाह गर्न लागिपर्नेछु।’
प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले बिहीबार उनै ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
सांसदहरूले नेपालीसँगै १४ वटा विभिन्न भाषामा शपथ लिएका थिए। प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उनले सभाको कारबाही अघि बढाउनेछन्। सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ।