बिक्री भएन जुम्ली स्याउ

हिमाल प्रेस २९ मंसिर २०७९ ११:१६ | Thursday, December 15, 2022
बिक्री भएन जुम्ली स्याउ स्याउ टिप्दै किसान। फाइल तस्बिर- रासस

जुम्ला- बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन। अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन्। केही किसानले उचित मूल्य पाइने आशामा मंसिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन्।

सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा राखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाएका छैनन्। उनले भने, ‘वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन।’ बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ।

जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गोठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताइन्। ‘स्याउ खरिद गर्नेको संख्या कम छ। घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ,’ उनले भनिन्।

बढ्यो स्याउ उत्पादन

जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ। जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए। गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये ९ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। यसअघि व्यवसायीले प्रतिकिलो ५० देखि ५५ रूपैयाँमा स्याउ खरिद गरी ६७ देखि ७० रूपैयाँमा बिक्री गर्दै आएका थिए। तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए।

जुम्लाको अर्ग्यानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ। ‘मैले प्रतिकिलो ५० रूपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित ६० रूपैयाँमा नेपालगञ्ज पुर्‍याए। तर प्रतिकिलो ३० मा बिक्री गर्न बाध्य भएँ,’ उनले भने।

प्रकाशित: २९ मंसिर २०७९ ११:१६ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast