काठमाडौँ- एमाले नेत्री पद्मा अर्यालले स्याङ्जा २ बाट निर्वाचित कांग्रेसका उपसभापति धनराज गुरुङलाई बुथ कब्जा गरेर निर्वाचन जितेको आरोप लगाएकी छन्। निर्वाचन जितेकोमा गुरुङलाई आइतबार फेसबुकमार्फत् बधाई दिँदै उनले विभिन्न आरोप लगाएकी हुन्।
‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौँ। त्यसलाई हामी सहज रूपमा स्वीकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौँ। किनकि लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन्,’ उनले भने, ‘हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन।’
उनले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरित नहोस् भन्ने कामना पनि गरेकी छन्।
‘युवाहरूको जोस जाँगरलाई उत्पादनशील एवम् सिर्जनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्याउन सक्नुहोस्, न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरूलाई दुरुपयोग गरी प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सिर्जना गरी बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस्,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मैले तपाईं (गुरुङ) लाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रूपमा बुझेको थिएँ। निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुटो प्रमाणित गरिदियो।’
स्वस्थ प्रतिस्पर्धामाथि विश्वास नगरेको दर्जनौँ प्रमाणहरूले बताइरहेको पनि उनको आरोप छ। त्यस्तै उनले स्याङ्जाको निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध रहेको पनि बताएकी छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

