जियाङ जेमिन : जसको मार्गदर्शनमा चीन शक्तिशाली बन्यो

हिमाल प्रेस १४ मंसिर २०७९ २१:४३
88
SHARES
जियाङ जेमिन :  जसको मार्गदर्शनमा चीन शक्तिशाली बन्यो

काठमाडौँ- चीन अप्ठ्यारोमा परेका बेला जियाङ जेमिन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिव बनेका थिए। सन् १९८९ को ‘तियानमेन स्क्वाएर’ को त्यो घटनापछिको सीपीसी र चीनलाई सम्हाल्नु कम्ती सकसपूर्ण थिएन।

त्यसबेला अधिकांशले त के भनेका थिए भने, जियाङ छोटो समयमै महासचिवको पदबाट बाहिरिने छन्। तर आखिरमा जियाङ चिनियाँ आधुनिक इतिहासले सम्झिनै पर्ने नेताका रुपमा दरिए।

यिनै जियाङको ९६ वर्षको उमेरमा बुधबार निधन भएको छ। उनलाई चीनले सम्झिरहनु पर्ने निकै कारण छन्। उनले ‘तियानमेन स्क्वाएर’ घटनापछि कूटनीतिक ‘आइसोलेसन’ मा रहेको चीनलाई बाँकी विश्वसँग जोडेका थिए। उनकै पालामा चीनको अमेरिकासँगको सम्बन्ध सुधार भएको थियो। अनि तीव्र गतिको आर्थिक वृद्धिदरले पनि निरन्तरता पाएको थियो।

जियाङ पछिल्लो समय सार्वजनिक कार्यक्रममा कमै देखिन्थे। अक्टोबर, २०१९ मा ‘तियानमेन स्क्वाएर’ मा आयोजना गरिएको सैन्य परेड उनी उपस्थित भएको अन्तिम कार्यक्रम थियो। जनवादी गणतन्त्र चीनको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित परेड अवलोकन गर्न उनी चीनका पूर्वनेताहरूसँगै त्यहाँ पुगेका थिए।

सन् १९९७/१९९८ मा एसिया महादेस आर्थिक मन्दीमा फस्दा चीनको नेतृत्वकर्ता जियाङ थिए। त्यसको केही वर्षपछि विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्यता लिँदा र सन् २००८ को ओलिम्पिक्स आयोजना अधिकार बेइजिङले पाउँदा पनि जियाङ नै चिनियाँ राष्ट्रपति थिए।

सन् १९९७ मा हङकङलाई चीनको अधिनमा ल्याउनुलाई जियाङले आफ्नो ठूलो सफलता मान्थे। उसो त एक सय ५० वर्षभन्दा बढी बेलायतको शासन रहेको हङकङलाई फिर्ता ल्याउने सहमति देङ सिआओपिङले सन् १९८४ मा गरेको थिए। तर सन् १९९७ मा हङकङ औपचारिक रुपमा चीनको हिस्सा बन्दा जियाङ राष्ट्रपति तथा पार्टीका महासचिव थिए।

जियाङले सन् २००२ मा सीपीसीको महासचिवको पदबाट राजीनामा दिए। त्यसपछि उनलाई हु जिन्ताओले प्रतिस्थापन गरे। जियाङ अझैँ लामो समय सत्ता र शक्तिमा रहन चाहन्छन् भन्ने हल्ला चलिरहेका बेला शन्तिपूर्ण तवरमा नेतृत्व हस्तान्तरण गरिएको थियो। सन् १९४९ पछिको चीनमा त्यसअघि कहिले पनि बिनारक्तपात नेतृत्व हस्तान्तरण भएको थिएन।

के भनिन्छ भने जियाङको व्यक्तित्व देखेर विदेशी पाहुना छक्क पर्थे। किनभने उनको लवाइखवाइ असाध्यै सामान्य हुन्थ्यो। कुनै समय ‘अटोमोबाइल फ्याक्ट्री’ मा काम गर्ने जियाङ राष्ट्रपति तथा पार्टी महासचिव बनेपछि परिवर्तन भएका थिएनन्। उनी फुसर्दको समयमा कविता लेख्थे, वाचन गर्थे। विभिन्न वाद्यवादन बजाउँथे।

‘उनलाई देखेर हामी छक्क पर्थ्यौँ। राष्ट्रपति यति साधारण जीवन जिउन सक्छन् र जस्तो लाग्थ्यौँ,’ हङकङको बाप्टिस्ट विश्वविद्यालयका प्राध्यापक जिन पिएर क्याबेस्टन जियाङलाई सम्झिन्छन्, ‘जे होस् उनी हु जिन्ताओभन्दा पनि साधारण थिए।’

सोभियत युनियनमा इन्जिनियरिङ अध्ययन पूरा गरेर चीन फर्किएका जियाङलाई भेटेपछि देङ प्रभावित बनेका थिए। त्यसबेला सांघाई सहरमा रहेका जियाङ देङकै कारण पार्टीभित्र परिचित हुँदै गए। सन् १९८५ देखि १९८८ सम्म सांघाई सहरका मेयर बनेका जियाङ जुन १९८९ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव निर्वाचित भए।

झाओ जियाङलाई प्रतिस्थापन गरेर महासचिव बन्दा जियाङलाई धेरैले पत्याएकै थिएनन्। उनी कमजोर महासचिवका रुपमा रहने अनुमान थिए। उनलाई त्यसबेला पूर्वमहासचिव हुवा गुएफेङसँग पनि दाँजियो। हुवा माओका उत्तराधिकारी थिए। तर महासचिव भएको केही वर्षमै उनलाई देङले हटाएका थिए। र आफू पार्टी प्रमुख बनेका थिए। सन् १९७० को दशकमा त्यसरी सजिलै महासचिव पदबाट हात धोएका हुवासँग दाँजिएका जियाङ अन्ततः शक्तिशाली नेताका रुपमा उदाए।

जियाङले सधैँभरी ताइवानलाई तसाईरहे। उनी राष्ट्रपति छँदा चीनले ताइवानलक्षित क्षेप्यास्त्र परीक्षण गरिरह्यो। जसकारण चीन र ताइवानबीच सम्बन्ध न्यानो रहन सकेन।

सन् १९९७ मा जियाङले अमेरिकाको भ्रमण गरे। ‘हामी समय अनुसार चल्नु पर्छ। चिनियाँ र अमेरिकी नागरिकको मनसायलाई ध्यानमा राख्दै रचनात्मक र रणनीतिक साझेदारी स्थापना गर्नुपर्छ,’ अमेरिका पुगेर बिल क्लिन्टनसामु जियाङले भनेका थिए।

जियाङ राष्ट्रपति छँदा चीन र अमेरिकाबीचको सम्बन्धमा उतारचढाव नआएको होइन। सन् १९९० मा बेलग्रेडस्थित चिनियाँ राजदूतावासमा नेटोले गरेको बम आक्रमण गरेका बेला होस् वा सन् २००१ मा चिनियाँ र अमेरिकी सेनाका जहाज आपसमा ठोक्किँदा जियाङले दुई देशबीचको कूटनीतिक नाता टुट्न दिएनन्।

जियाङले सन् २००२ मा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसलाई टेक्सासस्थित उनकै घरमा गएर भेटेका थिए।

तिब्बती मामलामा जियाङका आफ्नै अडान थिए। उनी दलाई लामाप्रति खासै सकारात्मक थिएनन्। दलाई लामाले तिब्बती बौद्ध धर्मवलम्बीहरुका लागि दोस्रो ठूला गुरु मानिने पान्चेन लामा छनोट गर्दा जियाङ आक्रोशित बनेका थिए। दलाई लामाले छानेका ती ६ वर्षीय ती पान्चेन लामालाई सन् १९९५ मा चिनियाँ प्रशासनले नियन्त्रणमा लियो र नयाँ पान्चेन लामा घोषणा गर्‍यो।

धेरै विषयमा जियाङको विचार माओसँग मिल्दोजुल्दो थियो। आफूलाई माओसँग तुलना गरिँदा उनले कहिल्यै प्रतिवाद गरेनन्। बरु उनले जनवादी गणतन्त्र चीनको ५० औँ स्थापना दिवसमा उनले माओ र देङसँगै आफ्नो पनि ठूलो ‘पोट्रेट’ बनाउन लगाएका थिए।

७३ वर्षका माओले आफू शारीरिक रुपमा तन्दरुस्त रहेको सन्देश दिन सन् १९६६ मा याङजे नदीमा पौडी खेलेका थिए। माओकै अनुसरण गर्दै जियाङले अमेरिकी सहर हवाईस्थित वाइकिकी समुद्री तटमा डुबुल्की मारेका थिए।

चिनियाँहरू भन्छन्, माओ असाधारण कवि थिए। जियाङ पनि कविता लेखनमा रुची राख्थे। चिनियाँ अखबारहरुले जियाङका कविता पहिलो पृष्ठमा छाप्थे। लुगा पनि माओकै शैलीमा लगाउँथे जियाङ। कपाल पनि उसैगरी कोर्थे। विदेशी नेता तथा पाहुनासँग गीत गाउँथे।

जियाङको नेतृत्वमा आर्थिक उन्नति गरे पनि चीन राजनीतिक रुपमा भने समस्यारहित रहन सकेन। चिनियाँ राजनीतिक व्यवस्थामा सुधार हुनुपर्ने मागलाई इन्कार गरिरहे। ‘तियानमेन स्क्वाएर’ घटना र सोभियत संघ विघटनका कारण जियाङ तर्सिएका थिए।

जे जे भए पनि चिनियाँ समाजवादी इतिहासमा जियाङ महत्त्वपूर्ण पात्र हुन्। उनको विचार सन् २००२ मा चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा समावेश गरिएको थियो। त्यसअघि माओ र देङको विचार मात्रै पार्टीको विधानमा समेटिएका थिए।

प्रकाशित: १४ मंसिर २०७९ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =