देखिन छोड्यो अरिंगालको गोला

हिमाल प्रेस १४ मंसिर २०७९ १५:१५
12
SHARES
देखिन छोड्यो अरिंगालको गोला

फुङ्लिङ– पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिंगाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का चिरन राई केही वर्षअघिसम्म अरिंगाल प्रशस्त पाइने गरेको सुनाउँछन्। उनले केही वर्षअगाडि घरको छानोमासमेत अरिंगालको गोलो देखेको सम्झन्छन्। उनी भन्छन्, ‘तर आजभोलि जंगलमा समेत देख्न मुस्किल हुँदै गएको छ।’

सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा प्रकाशित लेखमा अरिंगालले बिरुवालाई परागसेचनमा सघाउने उल्लेख गरिएको छ। लेखमा विशेष गरी मौरीले परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्ने र अरिंगालले चाहिँ किरा-फट्यांरा खाएर खेतीपातीमा सघाउने जनाइएको छ।

त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ दयाराम भुसालका अनुसार अरिंगालहरू जंगल र शान्त वातावरणमा बस्ने स्वभावका हुन्छन्। उनी भन्छन्, ‘नेपालमा बारुला र अरिंगाल गरेर ११ प्रजातिका पाइन्छन् ।’ यी प्रजाति असार-साउनदेखि मंसिर-पुससम्म सक्रिय हुने भुसालको भनाइ छ।

अरिंगालको गोलोको आकार हेरेर संख्या अनुमान लगाउन सकिन्छ। अरिंगालहरू एक गोलोमा एक वर्षसम्म बस्छन्। पुस/माघमा चिसो मौसमका कारण अरिंगाल गोलो छाडेर अलगअलग जान्छन्। कति त मर्छन् पनि। गर्मी सुरु भएलगत्तै बचेका अरिंगालले छुट्टाछुट्टै गोला बनाउँछन्। अरिंगालले आफ्नो गोला बनाउन लालीगुराँस र अयाँरको नरम बोक्रा प्रयोग गर्छ।

अरिंगाल जातअनुसार ठूला रुखका टुप्पा, भिर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुंगाको कापतिर बस्ने गर्छ। विशेषतः कालो अरिंगाल, रातो अरिंगाल र लाटो अरिंगाल रूखमा गोला बनाएर बस्छन्। अन्य प्रजाती भिर पहरामा बस्न रुचाउँछन्। राता अरिंगालहरू सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउँदा पनि हत्तपत्त चिल्दैनन्।

भुसालका अनुसार कालो अरिंगाल अलि आक्रमक हुन्छ। तर यसको महत्त्व नबुझेर हानीकारक जीव सम्झेर नष्ट गर्ने चलन बढेको छ। अरिंगाल पोल्दा गोलाको बाहिरी कुट जलेर नष्ट भएपछि चाका मात्र बाँकी रहन्छ।

गोलाभित्र रहेका माउहरु सबै आगोले जल्छन्। विषादीको प्रयोग र वायु प्रदूषण तथा वनजंगल डढेलोजस्ता कारणले पनि अरिंगाल संकटमा पर्दै गएको छ। हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई भन्छन्, ‘यसको महत्त्व नबुझेर अनावश्यक आगो लगाउने र बच्चा पोलेर खाने प्रवृत्तिले अरिंगाल संकटमा परेको छ।’

–राससको सहयोगमा

प्रकाशित: १४ मंसिर २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =