सुनसरी-३

तेस्रोपटकमा ‘भाग्यमानी’ बनिन् भगवती

विवेक विवश रेग्मी १३ मंसिर २०७९ १९:४०
1.0k
SHARES
तेस्रोपटकमा ‘भाग्यमानी’ बनिन् भगवती

इटहरी- काठमाडौँ उपत्यकामा स्थापित नेत्रीहरूलाई चुनाव हराएर दुई नयाँ नेत्रीको उदय भएजस्तै प्रदेश १ मा पनि एक महिला नेत्रीले दशकौँदेखिका ‘चतुर राजनीतिक’ खेलाडीलाई पाखा लगाएर संसद्मा प्रवेश गरेकी छन्।

यसपटकको प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौँ-२ मा पूर्वसभामुखसमेत रहेकी माओवादी नेत्रीलाई स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी २७ वर्षीया सोबिता गौतमले हराइन् भने ललितपुर–३ मा ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकै ३३ वर्षीया डा. तोसिमा कार्कीले हराइन्।

मतगणनाको पछिल्लो परिणामअनुसार सुनसरी–३ मा तीन पटकको प्रयासमा गच्छदारलाई हराएर एमालेकी भगवती चौधरीले संसद्मा प्रवेश गरेकी हुन्। ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेपाली कांग्रेसका विजयकुमार गच्छदारको संसद यात्रामा ‘ब्रेक’ लगाएर भगवती साहसिक मात्रै बनिनन्, भाग्यमानी महिलासमेत बनेकी छन्।

साथै प्रदेश १ बाट एमालेका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्नेमा भगवती एक्ली महिला बनेकी छन्। २०७० मा एमालेको पूरै संगठन लाग्दा र २०७४ मा वाम गठबन्धनबाट चुनाव लड्दासमेत पराजित भएकी भगवती यसपटक भने सत्ता गबठन्धनबाट निर्वाचनमा उठेका गच्दारलाई हराएर भाग्यमानी साबित भएकी हुन्।

दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को संसदीय निर्वाचनमा उनै गच्छदारसँग पराजित भएकी भगवतीको तेस्रो प्रयास सफल भएको छ।

०७४ मा झिनो मतान्तरले पराजित भएकी चौधरीले गच्छदारबाट धाँधली भएको आरोपसमेत लगाएकी थिइन्। एमालेकी केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पूर्व वन राज्यमन्त्री समेत हुन्। ०४६ सालको जनआन्दोलनमा सहभागी भएकी उनी ०४८ सालदेखि नेकपा एमालेको सदस्यता लिएकी हुन्। फरवार्ड माइक्रोफाइनान्स लघुबित्त संस्थामार्फत महिला तथा विपन्नलाई रोजगारी सिर्जनामा उनको योगदान छ।

उनले दशकदेखि हुन नसकेको विकास निर्माणको काम आफूले पाँच वर्षमै गर्ने बताउँदै आएकी छन्। चुनावी अभियानमा क्रममा भगवतीलाई ‘प्रभाशाली मन्त्री’ का रूपमा पनि प्रचार गरिएको थियो। उनी एमालेकी शक्तिशाली नेत्री रहेको कतिपय कार्यकर्ताको बुझाइ छ।

चौधरीले आर्थिक अभावमा रहेका महिलालाई लक्षित गर्दै उक्त माइक्रोफाइनान्स सञ्चालनमा ल्याएकी थिइन्। जसले गर्दा पनि उनलाई आज चुनाव जित्नका लागि सहज भएको हो। चौधरीले गरिब तथा विपन्न वर्गका महिलाहरूलाई दैनिक पाँच रुपैयाँका दरले बचत गर्न सिकाइन्। निरक्षर महिलाले पनि बचतको सिको गरे। सोही कारण पाँच, दस रुपैयाँबाट सुरु भएको बचत लाखमा पुगेको छ। चौधरीले आफ्नो क्षेत्रका महिलाको जीवनस्तर उकास्नका निम्ति सामाजिक कामसँगै वित्तीय सचेतना ल्याएका कारण पनि उनको पक्षमा जनताहरू आकर्षित भएको बताइन्छ।

नेकपा एमाले सुनसरी जिल्ला सदस्य एकराज दाहाल भन्छन्, ‘सुनसरी ३ मा अहिले नतिजा हेर्दा सिंगो नेकपा एमालेले जितेको हो। यहाँका जनताले कांग्रेसलाई हराएको भन्दा पनि भगवती चौधरीलाई जिताएको हो, एमालेलाई जिताएको हो।’

उनले ०७० र ०७४ मा पनि आफूहरूले चुनाव जिते पनि धाँधली भएको आरोप दोहो¥याए। ‘यसअघि पनि कांग्रेसले भन्दापनि विजय गच्छदारले जालझेल गरेको हो, धाँधली गरेर चुनाव जितेको हो,’ उनले भने, ‘अहिले गच्छदारले भ्रष्टाचारको मुद्वा खेपिरहेका कारण पनि हामीलाई चुनाव जित्न सहज भयो।’

गच्छदारले कहिले कांग्रेसको नाममा त कहिले फोरमको नाममा पटकपटक निर्वाचन जिते पनि यसपटक भने जनताले परिवर्तनको पक्षमा मत खसालेका कारण एमालेको जित भएको उनको तर्क छ।
उनै भगवतीलाई पटकपटक टिकट किन भन्ने जिज्ञासामा उनले भने, ‘भगवती चौधरी जनतामाझ काम गरेको र जनतामाझ परिचित भएकाले उहाँलाई टिकट दिइएको हो, एकजना थारु, त्यो पनि महिला भएका कारण महिलालाई प्राथमिकतामा राखिइको हो।’

गच्छदारले सातपटक चुनाव लड्दा चौधरीले तीनपटक टिकट पाउनु नौलो कुरा नभएको उनको ठम्याइ छ। उनले भने, ‘यसपटक उहाँले सकारात्मक काम गर्नुहुनेछ, अर्कोपटक भने एमालेले विकल्प खोज्न पनि सक्छ।’

यस्ता छन् एजेन्डा

विभिन्न बुँदागत रूपमा एजेन्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यावसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छन्। राजनीतिमा लाग्नुअगावै आमसर्वसाधरणलाई उद्यमशील बनाउन सक्रिय भएकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना रहेको र त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छन्। चौधरीले एक गाउँ, एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छन्। पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङरोडको अवधारणा कार्यान्वयन गर्ने बताउँदै गाउँलाई सहर र सहरलाई व्यवस्थित गर्न उनले आफ्नो एजेन्डामा प्रस्तुत गरेकी छन्।
अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुकासाथै भूमीहिन नागरिकलाई सम्मान र समाजिक सुरक्षामा योजना ल्याउने आश्वासन उनले मतदातालाई दिएकी छन्।

प्रकाशित: १३ मंसिर २०७९ १९:४०

प्रतिक्रिया

One thought on “तेस्रोपटकमा ‘भाग्यमानी’ बनिन् भगवती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =