देव आनन्द भन्थे, प्रेमकथा र रोमान्स भएन भने फिल्म चल्दैनन् [अन्तर्वार्तासहित]

हिमाल प्रेस ३ मंसिर २०७९ ९:४३
2
SHARE
देव आनन्द भन्थे, प्रेमकथा र रोमान्स भएन भने फिल्म चल्दैनन् [अन्तर्वार्तासहित] तत्कालीन राजा महेन्द्र र रानी रत्नका साथ देव आनन्द तथा फिल्म छायांकनका क्रममा देव आनन्द। तस्बिर स्रोत : फिल्म फेयर

काठमाडौँ- भारतीय फिल्म ‘उचाइ’ भारत र नेपालमा प्रदर्शनरत छ। फिल्मको धेरै भाग नेपालमा छायांकन गरिएको छ। फिल्ममा समेटिएका नाम्चे, मुस्ताङलगायत ठाउँमा दृश्य निकै आकर्षक छन्।  फिल्मले यतिबेला राम्रो व्यापार गरिरहेको छ।

त्यसैले फिल्मले विश्वबजारमा समेत नेपाललाई चिनाउने अपेक्षा गरिएको छ। फिल्मको प्रसिद्धि देखेर नेपाल पर्यटन बोर्डले फिल्मका कलाकारलाई सम्मान गर्ने योजनासमेत बनाएको छ। फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, निना गुप्ता, सारिका हसन, परिणिति चोपडालगायत भारतीय कलाकारसँगै केही नेपाली कलाकारको पनि अभिनय छ।

‘उचाइ’ नेपालमा छायांकन हुने पहिलो फिल्म भने होइन। पाँच दशकअघि पनि एउटा हिन्दी फिल्मको छायांकन नेपालमा भएको थियो। त्यो फिल्म थियो, ‘हरे रामा, हरे कृष्णा’।

२०२७ सालमा प्रदर्शनमा आएको फिल्ममा उतिखेर नेपालमा रहेका हिप्पीहरूको कथा समेटिएको थियो। नेपालमा रहेको हिप्पी संस्कृति देखाउने फिल्ममा देव आनन्द, जिनत अमान, मुमताजलगायत कलाकारको अभिनय थियो।

त्यतिबेला नेपालमा रहेका हिप्पीको अलग्गै दुनियाँ थियो। कतिसम्म भने उनीहरूले नेपाललाई हिप्पी संस्कृतिको केन्द्रबिन्दु नै बनाउन खोजेका थिए। हिन्दूको मन्दिर र बौद्धको गुम्बाजस्तै धुलिखेलमा हिप्पीहरूको आस्थाको केन्द्र बनाउन दिनुपर्ने हिप्पी अगुवाको माग थियो। त्यहाँ हिप्पी संस्कृति र दर्शनको अध्ययनअनुसन्धानको केन्द्र बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

तिनै हिप्पीबारे बनेको फिल्म त्यतिखेर बक्स अफिसमा अत्यधिक सफल भएको थियो। फिल्ममा हिप्पी संस्कार, वातावरण, उनीहरूले सेवन गर्ने लागूपदार्थ, उनीहरूको नेपाल बसाइ आदि देखाइएको छ। फिल्म काठमाडौँ, वसन्तपुर र त्यस आसपास छायांकन गरिएको थियो।

फिल्ममा देव आनन्दले अभिनयमात्र गरेका थिएनन्। निर्माण, निर्देशन र सम्पादन पनि उनकै थियो। छायांकनका क्रममा उनी पनि नेपाल आएका थिए। नेपालको राजदरबारसँग आत्मीय सम्बन्ध रहेका देव आनन्द बेलाबेला नेपाल आइरहन्थे।

२०२७ साल माघ २२ मा देव आनन्दले ‘आँखा’ साहित्यिक पत्रिकालाई अन्तर्वार्ता दिएका थिए। कालिञ्चोक युवा क्लब दोलखाको व्यवस्थापनमा सो पत्रिका नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित हुन्थ्यो।

भीम पब्लिक हाइस्कुलको प्रकाशन रहेको पत्रिकाका सम्पादक सोही स्कुलका प्रधानाध्यापक मेघराज कोइराला थिए। २०२६ सालको बडादसैँको अवसरमा ’आँखा’को पहिलो अंक प्रकाशित भएको थियो। अर्को वर्ष २०२७ को दसैँमा त्यसको व्यवस्थापनको जिम्मा कालिञ्चोक युवा क्लब दोलखाले लियो। प्रकाशक रह्यो, भीम पब्लिक हाइस्कुल।

२०२७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा आँखा’ को तेस्रो अंक प्रकाशित भएको थियो। सोही अंकमा भारतीय अभिनेता देव आनन्दको अन्तर्वार्ता प्रकाशित भएको थियो। पत्रिकाको सम्पादक मण्डलमा नेपालीतर्फ माधवमणि राजभण्डारी, द्वारिकामान सिंह, मल्ला मास्के, नारायणभक्त जोशी र मदनदास श्रेष्ठ थिए। अंग्रेजीतर्फ जेएन राजभण्डारी र आरएम सिंह थिए।

देव आनन्द भारतीय फिल्म क्षेत्रका अत्यन्त सफल कलाकार, निर्देशक र फिल्म निर्माता थिए। भारतीय सिनेमा क्षेत्रमा योगदान दिएबापत उनलाई २००१ मा पद्मभूषण र र २००२ मा दादासाहेब फाल्के पुरस्कार प्रदान गरिएको थियो। उनको निधन ८८ वर्षको उमेरमा २०११ डिसेम्बर ३ मा बेलायतमा भएको थियो।

२०२७ माघ २२ मा ‘आँखा’का लागि सम्पादक मण्डलका सदस्यले देव आनन्दसँग अन्तर्वार्ता गरेका थिए।  प्रस्तुत छ उक्त अन्तर्वार्ता  :

फिल्म जगत्‌मा प्रवेश गर्नुअघि के गर्नुहुन्थ्यो?

स्नातक पास गरेपछि मिलिट्री सेन्सर अफिसरका रूपमा काम गरेँ। अनि मात्र फिल्म जगत्‌मा प्रवेश गरेँ।

आफूले काम गरेका सिनेमामध्ये तपाईंलाई कुन राम्रो लाग्छ र किन?

यो भन्न साह्रै गाह्रो छ। किनभने एउटा फिल्म खेलिसकेर अर्कोमा लागेपछि त्यही फिल्मको मात्र ध्याउन्न हुने रैछ। त्यसैले किटेर भन्न सकिन्न। फेरि सबै फिल्मको राम्रोसँग सम्झना पनि हुन्न। जहाँसम्म लाग्छ ‘गाइड’ र ‘हम दोनों’ आफूले काम गरेकामध्ये मेरा मन पर्ने फिल्म हुन्।

तपाईंलाई नेपाल र नेपाली कस्ता लागे?

नेपाल साह्रै राम्रो लाग्यो। पोहोर साल आउँदा पोखरा गएको थिएँ। पोखरा देखेर यस्तो लाग्यो कि नेपाल साँच्चै नै प्रकृतिको भण्डार हो। प्राकृतिक सौन्दर्यले भरपूर छ। नेपालमा बाटोघाटोको सुविधा भएको खण्डमा यहाँ प्रशस्त पर्यटक आउनेछन्।

विदेशबाट पनि फिल्म सुटिङ गर्न आउनेछन्। जुन नेपालका लागि फाइदाजनक हुनेछ। नेपालीहरू मलाई आफ्नै दाजुभाइजस्ता लाग्छन्। सबै जना हँसिला, रसिला मुहार भएका छन्। सबै नेपाली अति नम्र र पवित्र भावना भएका छन्।

तपाईंले अहिले बनाउन लाग्नुभएको फिल्म ‘हरे रामा, हरे कृष्णा’मा नेपाली कलाकार पनि राख्दै हुनुहुन्छ रे हो? 

मेरो यो फिल्मको पूरा सुटिङ नेपालमा हुनेछ। स्टुडियोभित्र सुटिङ हुनेछैन। यसमा काम गर्न बम्बईबाट केही कलाकार आउनेछन्। उताबाट मुमताज, बलराज साहनी, प्रेम चोपडा, राजेन्द्र नाथ, जुनियर महमुद, कामिनी कौशलमात्र हुनेछन्। अन्य कलाकार सबै नेपाली हुनेछन्।

तपाईं लोकसभामा उठ्दै हुनुहुन्छ भन्ने सुनिएको थियो। साँच्चै हो कि हल्लामात्रै हो?

प्रस्ताव आएको थियो। चुनावमा उठ्यौँ भने जिताइछाड्छु पनि भनेका थिए। तर म कलाकार भएकाले राजनीतितिर जान मन लागेन। मैले राजनीतिमा लागेपछि पूरा समय दिन सक्नुपर्छ। जुन सम्भव छैन। किनकि मसँग राजनीतिमा लाग्ने समय छैन।

केही समयपहिले तपाईं नेपालमा फिल्म स्टुडियो खोल्दै हुनुहुन्छ भन्ने कुरा पनि बाहिरिएको थियो, के यो सत्य हो?

यस विषयमा श्री ५ महाराजाधिराज सरकारसँग कुरा गरेको थिएँ। उहाँले एकदमै चाख लिइबक्सियो। मलाई पनि उत्साहित पारिबक्सियो। अब म केही महिना काठमाडौँमै बस्छु। त्यतिबेला यस विषयमा फेरि बिन्ती चढाउनेछु।

अचेल धेरैजसो भारतीय फिल्म रोमान्स, रोमान्च, सेक्स आदिले भरपूर हुन्छन्। त्यसमा कुनै नैतिक आचरण हुन्न किन होला?

संसारमा अहिले जताततै प्रेमकथा, रोमान्च, रोमान्स, सेक्स भएन भने फिल्म चल्दैनन्। फिल्म बनाउन कथामा चाहिने तत्त्व यिनै हुन्।

हुन त देवजी कलाकार हुनुहुन्छ। तैपनि मानवताका नाताले यहाँलाई यो प्रश्न गर्न चाहन्छौँ- हाल नेपाललाई भारतले दिनुपर्ने पारवहन सुविधा नदिएर व्यापार पारवहन वार्ता असफल भयो। फलस्वरूप नेपालीलाई मर्का परेको छ। यसमा तपाईंको के विचार छ?

यो राजनीतिक विषय हो। तैपनि मानवताका नाताले यस्तो भएकोमा मलाई दुःख लागेको छ। हाम्रो दुई देशको संस्कृति मिल्छ, मानिस मिल्छन्, धर्म एकै छ, भाषाको पनि समस्या छैन। त्यसमाथि नेपाल एक भूपरिवेष्टित देश हो। दुई मुलुकबीच यस्तो खेदजनक कुरा हुन नपर्ने हो।

नेपालमा भारतीय गायकगायिका प्रसिद्ध छन्। रफी, लता र किशोरलाई धेरैले मन पराउँछन्। त्यस्तै नेपाली गीत तपाईंलाई कस्तो लाग्छ? नेपालको कुनचाहिँ गायक वा गायिकालाई मन पराउनुहुन्छ, के नाम बताउन सक्नुहुन्छ?

बम्बईमा हामीलाई नेपाली गीत सुन्ने मौका पाइँदैन। तर पोहोर यहाँ आएका बेला केही नेपाली युवा साथीबाट नेपाली गीत सुन्ने मौका मिल्यो। साह्रै मिठो लागेको थियो। एकपटक बम्बईमा काठमाडौँबाट आएका गायकसँग भेट पनि गरेको थिएँ। उनको स्वर साह्रै मिठो लाग्यो। उहाँ प्रेम ध्वज हुनुहुन्थ्यो।

‘हरे रामा, हरे कृष्णा’ बारे केही भन्नुहुन्छ कि?

यो हिप्पीविरुद्ध बन्न लागेको फिल्म हो। यिनीहरू हाम्रो हिन्दू पवित्र शब्द ‘हरे रामा, हरे कृष्णा’को आडमा अनेक किसिमका कुव्यवहारका साथै व्यभिचारसम्म खुला रूपले गर्न हिचकिचाउँदैनन्। त्यसैका आधारमा यो फिल्म बन्दै छ।

यसको निर्देशन, निर्माण, कथा र सम्पादन म आफैँले गर्दै छु। संगीत एसडी वर्मनले दिनुभएको छ। त्यसका सबै गीत रेकर्डिङ भइसके। २८ फेब्रुअरीदेखि छायांकन सुरु हुनेछ। अप्रिलको १५/१६ सम्म सुटिङ सकिनेछ।

नेपालमा तपाईंहरूले फिल्म साह्रै ढिला हेर्न पाउनुहुनेछ। तर बम्बई, कलकत्ता र काठमाडौँमा फिल्मको प्रिमियर सो भने सँगसँगै गर्दैछु। सायद सेप्टेम्बरतिर फिल्म रिलिज हुनेछ।

प्रकाशित: ३ मंसिर २०७९ ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =