सुनसरी-३ : तेस्रो प्रयासमा गच्छदारलाई चौधरीले हराइन्

हिमाल प्रेस १३ मंसिर २०७९ १८:५८ | Tuesday, November 29, 2022
सुनसरी-३ : तेस्रो प्रयासमा गच्छदारलाई चौधरीले हराइन्

इटहरी- सुनसरी-३ मा कांग्रेसका विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्। चौधरीले ४० हजार ७ सय ८८ मत ल्याउँदै निर्वाचन जितिन्। उनका निकटतम प्रतिद्वन्द्वी गच्छादारले ३५ हजार ६ सय मतमात्र ल्याए।

चौधरीले आफ्ना पुराना प्रतिस्पर्धी गच्छदारलाई ५ हजार १ सय ८८ मतले पराजित गरेकी हुन्। २०७४ सालको निर्वाचनमा चौधरी थोरै मतले पराजित भएकी थिइन्।

अहिलेको निर्वाचनसमेत गरेर गच्छदारले सातौं पटक संसदीय प्रतिस्पर्धा गरेका थिए। २०४८ पछिका सबै निर्वाचनबाट संसदीय राजनीतिका खेलाडी बनेका गच्छदार सत्ता राजनीतिका पनि खेलाडी हुन्। गच्छदार दर्जन पटकभन्दा बढी मन्त्री बनेका थिए। तर करिब ३ दशकभन्दा बढी सत्ता र संसदीय राजनीतिको वरिपरि रहेका गच्छदारलाई यसपटक चौधरीले हार चखाइन्।

चौधरी आफैँ पनि गच्छदारसँग तेस्रो प्रतिस्पर्धामा थिइन्। भ्रष्टाचारको मुद्दाले राजनीतिमा निरन्तर ओरालो लागेका गच्छदारलाई चौधरीले यसपटक भ्रष्टाचारकै एजेन्डाले चुनाव हराइन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन्। चौधरीले २०७० को निर्वाचनको तुलनामा मतान्तर घटाएकी चौधरीले उक्त निर्वाचनमा ३२१ को मात्र मतान्तर रहेको थियो। उक्त निर्वाचनको मतगणनाको क्रममा विभिन्न ‘बखेडा’ झिकेर गच्छदारले उक्त कार्यलाई नै प्रभावित पारेको आरोप लाग्ने गर्छ।

दर्जनपटक मन्त्री बनेका गच्छदार आफू मन्त्री बन्दा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समयदेखि फरारहुँदै आएका उनी पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए। चुनाव जितेपछि चौधरीले गच्छदारले वर्षौँदेखि चुनाव जित्दै आए पनि त्यस क्षेत्रको विकासमा योगदान नदिएको र अब आफूले विकासको कामहरू अघि बढाउने बताएकी छन्।

प्रकाशित: १३ मंसिर २०७९ १८:५८ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast