विस्तार हुँदैछ नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार

हिमाल प्रेस ६ असार २०८१ २१:१७
18
SHARES
विस्तार हुँदैछ नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार अष्ट्रेलियाको एक सिनेमा हलमा प्रदर्शन भएको फिल्म महाजात्रा हेर्न आएका दर्शकहरू। तस्बिरः महाजात्राको फेसबुकबाट।

काठमाडौँ- नेपाली चलचित्रले २०८१ को सुरुआत भएसँगै नेपाल मात्र नभई विदेशमा समेत आफूलाई अब्बल सावित गर्ने प्रयास गिररहेका छन्। नेपालसँगै विदेशमा समेत एकसाथ प्रदर्शन हुने भएकाले दर्शकको उपस्थिति बढ्न थालेको छ। केही चलचित्रले विदेशी बजारबाटै लगानी सुरक्षित गरेर मुनाफा पनि प्राप्त गरेका छन्। नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलियामा बढिरहेको छ।

त्यहाँ नेपालीको बसोबास राम्रो भएकाले पनि प्रायः चलचित्र प्रदर्शन हुन्छन्। नेपाली मौलिकता प्रस्तुत गरिएका चलचित्रहरू ‘छक्का पञ्जा’ ‘कबड्डी’ शृङ्खला र ‘जात्रा’ नेपालसँगै विदेशी बजारमा समेत अत्यधिक व्यापार गर्ने चलचित्र बनेका छन्। यसले निर्मातालाई मुनाफा दिनुका साथै बजार विस्तारमा टेवा पुर्‍याइरहेको छ।

कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले चलचित्र भवनमै प्रदर्शन हुँदा दर्शकको आकर्षण बढेको छ। अहिले नेपालझैँ अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ। पछिल्लो समय ‘महाजात्रा’ले सिड्नीमा नयाँ रेकर्ड बनाएको स्थानीय वितरक एमएसएम इन्टरटेन्मेन्ट्सका सञ्चालक छत्र थापाले जानकारी दिए।

‘नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो छ, तर यसलाई दिगो र बलियो बनाउन हामी अन्तर्राष्ट्रिय वितरकसँगै निर्माता र निर्देशकले हातेमालो गर्नुपर्छ, हामीले भएका बजारलाई बलियो बनाउने र नयाँ बजार खोज्ने कार्य गर्नु अहिलेको आवश्यकता हो,’ वितरक थापाले भने।

उनले केही नेपाली चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार खरिद गरेर विश्वभर प्रदर्शन गर्ने गर्छन्। चलचित्र निर्माण, छायांकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने भएकाले पनि यो सम्भव भएको हो।

डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक तथा निर्माताको भनाइ छ। डिजिटल प्रविधिले एउटै समयमा देशभर मात्र नभई विदेशमा समेत गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको हो। यसले गर्दा चलचित्रको फाइल विदेश पठाउनुपर्ने बाध्यता हटेको छ। नेपालमा ‘इनकोडिङ’ हुने चलचित्रलाई विश्वभर प्रदर्शन गर्न थालिएको डिजिटल सिनेमा नेपालका कार्यकारी निर्देशक अशोक शर्माले बताए।

‘डिजिटल सिनेमा इनिसेटिभ (डीसीआई) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ, यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पुर्‍याउने झन्झट पनि हटायो,’ उनले भने।

यसले नेपाली निर्मातालाई आर्थिक रूपमा सहायता पुगेको छ। यस वर्षमात्र प्रदर्शन भएका ‘डिग्री माइला’, ‘बोक्सीको घर’ ‘पुजार सार्की’ले नेपालबाट नै लगानी सुरक्षित गर्‍यो भने ‘मनसरा’, ‘फर्की–फर्की’जस्ता चलचित्रले विदेशी बजारबाट लगानी सुरक्षित गरेको निर्माण पक्षले दाबी गरेका छन्। यद्यपि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चलचित्र प्रदर्शनको बढिरहेको चापले पार्न सक्ने असरबारे पनि सजग हुनुपर्ने वितरक थापाले बताए।

‘यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ, त्यो हिसाबमा एक वर्षमा छदेखि सात चलचित्र भए राम्रो हुन्छ, त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ,’ वितरक थापाले भने।

नेपाली बसोबास गर्ने विश्वका हरेक देशमा दर्शक बढिरहनु र ओभर दी टप (ओटीटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त मानिएको छ। सोही कारण अहिले निर्माण भइरहेको चलचित्र ‘छक्का पञ्जा–५’ को विदेशी प्रदर्शन अधिकार खरिद गर्न खोज्नेको सङ्ख्या राम्रै छ।

अभिनेता तथा निर्माताले सार्वजनिक रूपमै चलचित्रको प्रदर्शन अधिकारबारे छायांकन सकिएपछि संवाद गर्ने बताए। छायांकन नै प्रभावित गर्ने गरी विदेशी अधिकार खरिदबारे कुराकानी हुन थालेपछि आफूले चलचित्र निर्माणमा मात्र केन्द्रित गर्न सार्वजनिक रूपमै घोषणा गरेको अभिनेता गिरीले जानकारी दिए।

नेपाली भाषीको बाहुल्य भएका देशहरूमा त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्नसके यसले ठूलो बजार निर्माण गर्न टेवा पुग्नेछ। अहिले बजारकै कारण खुम्चिरहेको नेपाली चलचित्रको बजेटलाई वृद्धि गर्न समेत यसले मद्दत गर्नेछ। रासस

प्रकाशित: ६ असार २०८१ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =