रेडपाण्डा संरक्षणमा जोडिएका दयाहाङ भन्छन् : कलाकारले वन्यजन्तुको भाव र आवश्यकता बुझ्न सक्नुपर्छ

सुस्मिता बजगाईं १० जेठ २०८१ १२:४६
188
SHARES
रेडपाण्डा संरक्षणमा जोडिएका दयाहाङ भन्छन् : कलाकारले वन्यजन्तुको भाव र आवश्यकता बुझ्न सक्नुपर्छ

काठमाडौँ- फिल्म क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई। राईका कैयौँ फिल्मले दर्शकको मन जित्न सफल भएको छ। हिरोइज्म मात्रै फिल्म हो भन्ने भाष्यलाई उनले तोड्न सफल भएका छन्। उनी अभिनीत फिल्म हिरोइज्म कम, डकुमेन्ट्री ज्यादा लाग्छ।  दर्शकलाई डकुमेन्ट्री फिल्मको स्वाद पस्किने अभिनेता हुन् दयाहाङ। रंगमञ्चबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले पछाडि फर्कनु परेको छैन।

उनी कुनै न कुनै रूपमा  रंगमञ्चसँग जोडिन्छन्। दयाहाङ रेडपाण्डाको संरक्षण दूत भएपछि वन्यजन्तु संरक्षणलाई पनि कलासँग जोड्न सफल भएका छन्। दयाहाङले लोपोन्मुख वन्यजन्तु रेडपाण्डामा आधारित जनचेनतामूलक भिडियो सार्वजनिक गरेका छन्। यसैलाई कुनै दिन पूरा कथासहित रंगमञ्चमा ल्याउने उनकाे बाचा छ।

भिडियोमा रेडपाण्डाको भाव

नेपथ्यमा दयाहाङ कविता वाचन गरिहन्छन्। संवादलाई चरित्रमार्फत कलाकारहरू हाकुपटासी र घलेक लगाएर बुर्लुक बुर्लुक उफ्रिन्छन्, खेल्छन्, डराएझैँ गर्छन्। आफ्ना कथा व्यक्त गर्छन्। करिब तीन मिनेटको भिडियोमा कलाकारहरू रेडपाण्डाको चरित्रमा छन्।

रेडपाण्डा संरक्षणमा कार्यरत संस्था रेडपाण्डा नेटवर्क र मण्डला थिएटरको सहकार्यमा अभिनेता राईले जनचेतनामूलक भिडियो (पीएसए) निर्देशन गरेका छन्। मण्डलामै कार्यक्रम गर्दै निर्माण टिमले उक्त भिडियो सार्वजनिक गरेको हो। रेडपाण्डाकै आकारमा अन्तिममा कलाकारहरू प्रस्तुत हुँदा कलात्मकता थपिएको छ। जसमा कलाकारको मेहनत झल्किनुका साथै छोटो भिडियोले पनि दर्शकको मनमा रेडपाण्डाबारे कौतुहलता जगाउँछ।

नाटकीय शैलीमा प्रस्तुत उक्त भिडियोमा कलाकारहरू रेडपाण्डालाई प्रकृति र मानव अस्तित्वबीचको सन्तुलनको प्रतीकका रूपमा प्रस्तुत भएका छन्। मण्डला थिएटर र बालाजु फिल्म स्टुडियोमा छायांकन गरिएको भिडियोका छायाकार हरि हुमागाईं हुन्। उक्त भिडियो बेनुका राईको संगीत निर्देशन, अनुप न्यौपानेको कविता लेखन, सोमनाथ खनाल र अर्जुन कार्कीको प्राविधिक निर्देशन, सम्पादन र कलरिस्टमा अर्जुन कार्की, प्रमीला खनालको कोरियोग्राफीमा भिडियो बनेको छ।

रेडपाण्डा संरक्षणमा नाट्यकर्मीको पहिलो प्रयास

अभिनेता राईले ज्याकी च्यानको मार्सल आर्टसँगका कार्यबाट प्रेरित भएर उक्त भिडियो निर्माण गरेका हुन्। ‘विभिन्न पूर्वीय तथा पश्चिममा नृत्य तथा अभिनयमा धेरै जनावरहरूलाई प्रतीक बनाएर प्रस्तुत गरिएको छ,’ भरत नाट्यकाे उदाहरण दिँदै उनले भने,‘पूर्वीयमा भरत नाट्यमा पनि धेरै जनावरहरूको सन्दर्भ लिएर नृत्य गरिएको छ।’

राई भाषामा पनि वन्यजन्तुको प्रयोग हुने भन्दै उनी भन्छन्,‘राई समुदायमा सिलीमार्फत धेरै चराचुरुङ्गी र जनावरको नक्कल गर्ने गरिन्छ। यसैलाई नाटकमार्फत एउटा अभिनेताले अभिनय गर्ने माध्यम खोज्ने सिलसिलामा यो भिडियो तयार पारेका हौँ।’ कलाकारले रेडपाण्डालाई कसरी महसुस गर्छन्,यो किन आवश्यक छ र प्रकृतिमा रेडपाण्डाको हुनुको अर्थ मन्न गर्नको लागि भिडियो निर्माण गरिएको उनको बुझाइ छ। उनकाे भनाइ छ,‘कलाकारले पहिले यसको महत्त्व बुझ्न जरुरी छ त्यसपछिमात्र उनीहरूले आफ्नो भावमार्फत यसबारे सन्देश फैलाउन सक्छन्।’

‘रेडपाण्डा बन्न करिब दुई महिनाजति हामी छलफलमा जुट्यौँ। नेवारी पहिरन हाकुपटासी र घेलक मिलेको जस्तो लाग्यो। त्यसैलाई प्रयोगमा ल्याएको छौँ,’ उनले भिडियो निर्माणको तयारीबारे सुनाउँदै भने।  भिडियोमा काम गरेका कलाकार मध्येका एक अनुप न्यौपाने सुरुमा आफूलाई रेडपाण्डा र हाब्रे एउटै जनावर हो भन्ने जानकारीसमेत नभएको अनुभव सुनाउँदै भन्छन्।

‘पहिले त मलाई रेडपाण्डा र हाब्रे एउटै जनावर हो भन्ने थाहानै थिएन्। दया दाईले यसबारे बताउनुभयो। काम गर्नुपर्छ भन्नुभयो। पछि बल्ल थाहा पाएँ।’ उनी भन्छन्, ‘दया दाइमार्फत बुझेपछि यसबारे अझै उत्सुकता जाग्यो। रेडपाण्डाबारे छलफल गर्ने क्रममा यसको स्वभाव, अवस्था, हाउभाउ र समग्र जीवनशैलीमाथिनै हामी सबै टिम खोजी गर्न थाल्यौँ। त्यसले कस्तो अवस्थामा कस्ता क्रियाकलाप गर्छ भन्नेबारे भिडियोमार्फत देखाउनु थियो। त्यसको लागि पनि केही समय खटिएर नै लाग्याैँ।’

अहिले प्रकृतिमा कुनै प्राणी लोप भइरहेको छ तर भोलि मानिसकै पनि लोप हुने अवस्था पुग्न सक्ने भएकाले एक प्राणीले अर्को प्राणीको संरक्षण गर्नुपर्छ भनेर लागेर यसमा आवद्ध भएको उनको बुझाइ छ। ‘यसकै अनुसन्धानमार्फत यसको महत्त्व र आवश्यकतामा सन्देशम‍ूलक कविता जन्मिएको हो।’ उनले भने।

रेडपाण्डाको चरित्र निभाउन सुरुमा निकै जटिल परेको अर्का कलाकार पुष्कर कार्की बताउँछन्। ‘रंगमञ्चमा गरिरहेको अभिनय र कुनै चरित्रलाई उसको भावना, हाउभाउ, मनस्थिति र देखाउन निकै जटिल हुने रहेछ। न कहिले देखेको छ। खासै सुनेको पनि थिएन।’ उनले भने।

रेडपाण्डाको चरित्रलाई अभिनयमा ढाल्न निकै समय लागेको उनले बताए। ‘उसको हाउभाउ निकाल्न निकै मेहनत गर्नुपर्‍यो।’ कलाकार कार्कीले भने।‍ टिमसँग मिलेर अनुसन्धानमा लागेपछि र आफूले अर्को प्राणीको अस्तित्व जोगाउने कार्य निभाइरहँदा कलाकार हुनुमा गर्व लागेको र अभिनय यात्रामा सहयोग पुगेको उनको अनुभव छ। कलाकार कार्की जनावरको बारेमा नेपालमा कसैले यसरी काम नगरेको भन्दै भिडियोले अरुलाई पनि प्ररित गर्न सक्छ भन्नेमा विश्वस्त छन्।

करिब एक दिनमा भिडियोको छायांकन गरिएको कोरोना महामारीको समयमा तयार पारिएको निर्देशक राई बताउँछन्। महामारीमा बनाउँदा भिडियो निर्माणमा निकै कठिन परिस्थिति आएको निर्देशक राई बताउँछन्। उनी भन्छन्, ‘हामीलाई एकै ठाउँमा भिडियो बनाउन सम्भव भएन्। स्थान परिवर्तन गर्दा कलाकार साथीहरु बिरामी नै भएका थिए।’

मुखले मानिसलाईभन्दा दबाब दिएजस्तो हुने भएकोले आफ्नो अभिनयलाई प्रयोगमा ल्याएको उनले बताए। ‘हामीले पनि पहिलोपटक यसरी जनावरलाई नाटकमा प्रस्तुत गर्ने कोसिस गरेका छाैँ। मुखले रेडपाण्डाको संरक्षण गर्नुपर्छ भन्दै हिँड्दा मानिसहरूलाई दबाब दिएजस्तो हुन्छ। संस्थासंँग जोडिएपछि मात्र होइन्,हामी नाट्यकर्मीको कर्तव्य पनि हो। हामीले गर्ने अभिनयमार्फत आम जनमानसमा यसको सन्देश फैलाउनुपर्छ भन्ने हेलुते सुरुआत गर्‍यौँ,’ राईले भने।

आफ्ले बुझेको विषय अन्य कलाकार साथीहरूलाई बुझाउनुपर्ने भन्ने धारणाले उक्त भिडियो निर्माण गर्न सफल भएको बताउँछन्। ‘रेडपाण्डासँगको प्रेमलाई जगाउने यो हाम्रो पहिलो प्रयास हो। थिएटरमा हामी जुन ढंगमा काम गर्छौँ,त्यहीअनुरूप सांगीतिक प्रस्तुतिजस्तो भिडियो बनाइएको छ।’ राईले भने। यसै सन्देशलाई नाटकमार्फत पनि देखाउने योजना रहेको राईले बताए। ‘हामी यसलाई नाटकमार्फत पूर्या कथा बनाएर देखाउने योजनामा छौँ, हाम्रा कलाकार टिम पनि उत्सुक हुनुहुन्छ।’ उनले भने।

रेडपाण्डा नेटवर्कले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार दयाहाङ राईलगायत। तस्बिर : हिमाल प्रेस

अभिनेता राई रेडपाण्डा नेटवर्कसँग जोडिएको करिब चार वर्ष भयो। संस्थामा आवद्ध हुनुअघि नै यसबारे सुनिरहेको उनी बताउँछन्। संस्थासँग जोडिएपछि भने रेडपाण्डाबारे केही गर्नुपर्छ भन्ने उनको पहिलेदेखिकै योजना रहेछ।

‘संस्थासँग जोडिएपछि रेडपाण्डा वन्यजन्तुको संरक्षण मात्र नभएर समग्र मानिसको पारिस्थितिक पद्धति आवश्यकता रहेछ भन्ने बुझेँ।’ उनले भने। अभिनयको सुरुआतनै सिकारी युगदेखि नै अभिनयको थालनी भएको स्मरण गर्दै मानवीय पक्षको मात्र नभएर वन्यजन्तु र वनस्पतिको पनि संरक्षण गर्नु नाट्यकर्मीको कर्तव्य रहेको अभिनेता दयाहाङ बताउँछन्।

‘मानव र प्रकृतिको आत्मीय सम्बन्ध हुन्छ। हामी कलाकारले वन्यजन्तुको अस्तित्व, संरक्षण र उनीहरूको आवश्यकतालाई पनि बुझ्न सक्नुपर्छ।’ उनले भने। वन्यजन्तुको भावलाई पहिलोपटक दयाले आफ्नो अभिनयमा प्रयोग गरेको सुनाए। उनले भने, ‘यो मेरो पनि पहिलो प्रयास हो। यसमार्फत आम मानिसले कतिको बुझ्नुहुन्छ यकिन त छैन् तर आफू रेडपाण्डा र पर्यावरणलाई पनि बुझ्ने कोसिस गरिरहेको छु।’

राईका अनुसार नाटकघरमै ‘रेडपाण्डा बचाउँनुपर्छ’ भन्ने अभियानमा कसरी काम गर्न सकिन्छ भनेर नाट्यकर्मीले आफूलाई अन्वेषण गर्ने भन्ने हेतुले नाटकीय शैलीमा तयार पारिएको हो। यो कलाकारको अभिनयमार्फत बच्चाहरू कनेक्ट हुन सके उनीहरूले रेड पाण्डालाई माया र मोह बढ्दै जानेमा उनी विश्वस्त छन्।

जसले नयाँ पुस्तामा यसको संरक्षण गर्नुपर्छ भन्ने ऊर्जा पैदा हुन्छ भन्ने उनको सोचाइ छ। बच्चाहरूमा मोह जगाउन सकियो भने आफ्नो पहिलो प्रयास भएको भन्दै उनले बच्चाहरूलाई जोड्न सकियो भने यसको संरक्षण गर्न सकिनेमा उनी विश्वस्त छन्।

रेडपाण्डा नेटवर्कले सन् २०० देखि रेडपाण्डा संरक्षणमा काम गरिरहेको छ। समुदायमा रेडपाण्डाबारेको जानकारी अझै व्यापक बनाउनुपर्ने भएकाले यो भिडियो बनाएको रेडपाण्डा नेटर्वकका कार्यक्रम संयोजक सोनाम तासी लामा बताउँछन्।

‘कोरोनाको बेलामा हात धोऔँ भनेर बारम्बार भनिरहनुपरेजस्तै कति कुरा दोहोर्‍याइरहनु पर्ने हुँदो रहेछ’,लामाले भने,‘रेडपाण्डा जोगाउने कुरा पनि मान्छेको मनमा प्रभावकारी रुपमा बसाउन र पुनःस्मरणका लागि सहयोग होस् भनेर हामीले यो भिडियो बनाएका हौँ।’

भिडियो सन्देशमार्फत रेडपाण्डाको चरित्रमा प्रवेश गरेर, कवितामार्फत दर्शकहरूलाई यसको मानव र वन्यजन्तुबीचको साझा जोखिम पहिचान गर्न प्रोत्साहित गर्न खोजिएको उनको बुझाइ छ। ‘यसले मानव जीवनको अस्तित्व अन्य वन्यजन्तु र प्रकृतिकोे संरक्षणमा निर्भर छ भन्ने कुरामा जोड दिएको छ।’ उनले भने।

अभिनयमार्फत हाब्रेलाई देखाउने छलफलमा कलाकार राई प्रफेक्ट लागेर जोडेको उनले सुनाए। उनी उक्त सन्देशमूलक भिडियो नेपालको थिएटरमा बनेको पहिलो क्रियसन रहेको दाबी गर्छन्। उनले भने, ‘सायद जनावरको विषयमा कसैले काम गर्नुभएको जस्तो लाग्दैन। यो पहिलोपटक बनेको हो।’

के हो रेडपाण्डा?

नेपालको हिमाली र उच्च पहाडी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जंगलमा पाइन्छ। रेडपाण्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान, भारत र नेपालमा पाइन्छ।

नेपाल सरकारको पछिल्लो सर्वेक्षणले रेडपाण्डा २४ जिल्लामा पाइने उल्लेख गरेको छ। हाब्रे राति पनि हिँडडुल गर्ने र विशेषतः बिहान–बेलुका बढी सक्रिय हुने प्राणी हो। हाब्रेको आहारा भनेको गाउँघरमा निगालो भनिने चार–पाँच मिटरसम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिंगो भनिने युसानिया जातको वनस्पतिका पात र टुसा हो।

रेडपाण्डाको आयु १५ वर्ष हुन्छ। यसको शरीरको आकार गोलो टाउको, त्रिकोणीय कान, छोटो खुट्टा र पुच्छर हुन्छ। अनुहार र शरीरको तल्लो भाग सेतो रङको हुन्छ भने बाँकी भाग खैरो रङको हुन्छ।

रेडपाण्डा निश्चित क्षेत्रमा एक्लै बस्न रूचाउने एकान्तप्रिय वन्यजन्तु हो। विशेषतः एउटा पोथी रेडपाण्डा एउटा क्षेत्रमा एक्लै बस्छ। नेपालमा तीन सयदेखि ५ सयसम्म रेडपाण्डा रहेको अनुमान छ।

रेडपाण्डा लजालु स्वभावको संकटापन्न वन्यजन्तु हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले रेड पाण्डालाई सन् १९९६ देखि सङ्टापन्न जीवको सूचीमा राखेको छ।

मानिसहरूले जंगल फँडानी गर्ने, आगलागी तथा डढेलो लगाउने, चोरी सिकारीगर्नेजस्ता विविध कारणले यसको वासस्थान धरासायी बन्नुका साथै यसको संख्या पनि घटिरहेको छ। साथै यसको छाला र दाँत बिक्री हुने भ्रमले मानिसहरूले नै यसको सिकार गर्ने गर्छन्। जसले गर्दा यसको विनाश भइरहेको छ। वन्यजन्तुको सिकार होइन् संरक्षण गर्नु हामी सबैको दायित्व हो।

प्रकाशित: १० जेठ २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =