काठमाडौँ- नीलमणि ढुंगानाले विश्वविद्यालयमा लामो समय नेपाली र संस्कृत साहित्य अध्यापन गराए। पाठ्यवस्तु धारा प्रवाह रूपमा प्रस्तुत गर्ने उनको सिकाइ कौशल लोभलाग्दो थियो। त्यसैले विद्यार्थीबीच उनी विशेष ज्ञान भएका गुरुका रूपमा चिनिन्थे। कक्षामा जानुअघि आफ्नो विषयमा पूर्ण तयारीसाथ जाने यी गुरुले कहिल्यै ‘नोट’ लेखाएनन्। उनको व्याख्यानबाट धेरै कुरा विद्यार्थीले सिकिसक्थे। सैद्धान्तिक विषयमा व्यावहारिक ज्ञान दिने कमै गुरुमध्ये गनिन्छन्, नीलमणि। तर उनले अध्यापन अवधिभर एउटा अभाव भोगिरहनुपर्यो, त्यो हो पाठ्यसामग्री अभाव।
कक्षाकोठामा जानुअघि पठन सामग्री संकलन गर्न धेरैतिर भौँतारिन परेको उनको अनुभव छ। उनले सम्झिए, ‘सामग्री संकलन कार्य सहज थिएन। त्यसैले सधैँ शिक्षण सामग्री अभावमा पिरोलिनुपर्दथ्यो।’ प्रविधिको विकास नभएको त्यो बेला अनेक पुस्तकालय पुगेर जुटाएको सामग्री पढ्थे र पढाउँथे उनी। गुरुकुलीय शिक्षाबाट दीक्षित यी आचार्य पाठ्यक्रमभन्दा बाहिरसम्म पुगेर विस्तृत रूपमा विषयवस्तुमाथि प्रकाश पारिदिन्थे।
सेवा अवधिमा उनले सोचे– ‘यस्तो ग्रन्थ रचना गर्न सकूँ जहाँ हरेक विषयको जानकारी प्राप्त होस् र आफूले जस्तो आउने पुस्ताले दुःख नहोस्।’ उनलाई यस्तो शब्दकोश लेख्ने हुटहुटी त थियो तर समय थिएन। विश्वविद्यालयको सेवाबाट निवृत्त भएपछि उनले आफ्नो संकल्प पूरा गर्ने अठोट गरे। परिणामस्वरूप करिब १० वर्ष लगाएर संकलन गरेको ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश’ प्रकाशित भएको छ।
कोश प्रकाशित भएपछि उनी खुसी छन्। तर, पाँच भागमा लेख्नुपर्ने एउटै भागमा समेट्नुपर्दा उनी खिन्न छन्। ‘त्यति सन्तुष्ट चाहिँ छैन,’ उनले भने, ‘ज्ञान उत्पादनमा यसले थोरै भए पनि सहयोग पुग्ने विश्वास छ। तर, पाँच भागमा प्रकाशित गर्ने प्रयास सफल हुन सकेन।’
मैले पढाउँदा सामग्री खोज्न निकै कठिन थियो। संस्कृत वाङ्मय पढाउँदा सामग्री भेटिनँ। दसतिर भौँतारिनुपरेको थियो।’
कोशलाई उनले सामान्य शब्दकोश नभएर 'विश्वकोश' भनेका छन्। यसमा ज्ञानका हरेक क्षेत्रसँग सम्बन्धित विषय रहेको उनको भनाइ छ। कोश लेख्नुको कारणबारे ढुंगाना प्रस्ट पार्छन्, ‘मैले पढाउँदा सामग्री खोज्न निकै कठिन थियो। संस्कृत वाङ्मय पढाउँदा सामग्री भेटिनँ। दसतिर भौँतारिनुपरेको थियो।’ यसरी खोज्दै जाँदा उनी चाहेको कुरा पाउँदैनथे। कुनै सामग्री एउटा पुस्तकबाट, कुनै अर्को पुस्तकबाट कुनै सामग्री निबन्धबाट साभार गर्नुपर्दथ्यो। ‘वस्तुगत सामग्री भए सजिलो हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भने, ‘संस्कृत र नेपाली साहित्य पढाउन वस्तुगत सामग्री मैले कहीँ पनि भेटिनँ। विगतमा भोगेको अभाव अहिले पूरा भएको छ।’
प्रकाशक र लगानीको समस्याका कारण एउटामा मात्र सीमित हुनुपरेको उनले बताए। ढुंगानाले भने, ‘१४–१५ सय पृष्ठभन्दा बढी भयो भने छाप्न कठिन हुन्छ भन्ने कुरा आयो प्रकाशकबाट। अनि, मैले अर्को संस्करणमा बिस्तार गरौँला अहिले संकेत मात्रै गरौँ भनेर धेरै ठाउँमा छोट्याएको छु।’
कोशमा सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा, विकासक्रम आदि समावेश छन्।
शब्दकोशमा हाम्रा प्राचीन विषयका ज्ञान मात्र समावेश छैनन्, ज्योतिष र भूगोलसँग सम्बन्धित वैज्ञानिक सामग्री पनि सचित्र छन्। त्यसो त कोशकार ढुंगाना शब्दकोश साहित्य पठनपाठनमा मात्र सीमित रहेको ठान्दैनन्। त्यसमा हाम्रो संस्कृतिको हरेक विषय समेटिएको उनको भनाइ छ। यसबारे स्पष्ट पार्दै उनले भने, ‘पश्चिमी मुलुकका मानिसले तेरो संस्कृति के हो भनेर कसैले सोध्यो भने हामी केही जबाफ दिन सक्दैनौँ। त्यसमा हामी कमजोर छौँ। त्यस कारण हाम्रा निम्ति पनि एउटा सन्दर्भ सामग्री दिन सकियोस् भन्ने दृष्टिकोण यसमा राखिएको हो।’
संस्कृत भाषालाई वैज्ञानिक भनिए पनि त्यसलाई सिद्ध गर्न नसकिएको उनले बताए। शब्दकोशमा संस्कृत व्याकरणका आधारमा हरेक शब्दको व्युत्पत्ति गरेका छन्। यस्तै ज्योतिषशास्त्र र खगोलशास्त्रका बारेमा पनि पर्याप्त सामग्री छन्। ‘संस्कृत वैज्ञानिक हो भन्ने सिद्ध गर्न ज्योतिषका धेरै विषयलाई आधुनिक खगोलशास्त्रको समेत सहायता लिएर पृथ्वीबाट कुनकुन तारा कति टाढा छन्, कहिले देखिन्छन् इत्यादि कुरा मैले त्यहाँ दिएको छु,’ उनले भने।
शब्दकोशमार्फत हाम्रो संस्कृति र सभ्यतामा पनि वैज्ञानिकता रहेको प्रमाण देखाउन खोजिएको उनले बताए। उनले भने, ‘हामीभित्र वैज्ञानिकता छ। हाम्रा मान्छेले पनि यति अध्ययन गरेका थिए भन्ने देखाउनु यसको अवधारणा हो।’
शब्दकोशमा धर्मशास्त्र, सांस्कृतिक विषयसँग सम्बन्धित शब्दलाई निकै गहिराइमा पुर्याएर चिनाइएको छ। शब्दको व्युत्पत्ति दिइएको छ। त्यो शब्द कसरी बन्यो भनेर सूत्र दिइएको छ। त्यो शब्दले ओगट्ने हरेक क्षेत्रको परिचय दिइएको छ।
शब्दकोश केका लागि?
कोश संस्कृत पढ्न चाहनेका निम्ति एउटा ठूलो सहयोगी सामग्री हो। नेपाली भाषा–साहित्य पढाउन र अध्ययन गर्न चाहनेका लागि यसमा प्रशस्त सामग्री दिइएका छन्। ‘विश्वकोश शैलीमा लेखिएको प्रस्तुत कोशमा हामी जुन पद हेर्छौं, त्यसबाट केही न केही नयाँ ज्ञान प्राप्त गर्न सक्छौँ,’ उनले भने, ‘त्यसैले पनि योे कोशले सम्बन्धित विषयबारे ज्ञान हासिल गर्न सहयोग गर्नेछ।’
कोशमा धातुका प्रतिनिधि रूप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने दुई हजार पारिभाषिक शब्द छन्। यसमा प्रयोग भएका संस्कृतका शब्द संस्कृत वाङ्मयमा बढी प्रचलित छन्।
रस, ध्वनि, अलङ्कारका बारेमा कोशमा रहेको सामग्री निकै उपयोगी छ। यद्यपि, ग्रन्थलाई छोट्याउनुपर्दा कतिपय विषयमा विस्तृत जानकारी राख्न खोज्दा पनि समेट्न नसकिएको उनले बताए। यसैगरी नेपालीको आस्थासँग जोडिएका धार्मिक स्थल, तीर्थहरू, ज्योतिर्लिङ्गहरूको पनि प्रामाणिक रूपमा सचित्र चिनारी राखिएको उनले बताए। नेपालभर रहेका शिव लिङ्ग, देवी, बौद्ध गुम्बा आदिको पनि ग्रन्थमा उल्लेख छ। नेपालको भौगोलिक, सामाजिक र सांस्कृतिक सामग्री पनि ग्रन्थमा समेटिएको छ।
कोशमा संस्कृत वाङ्मय, पूर्वीय साहित्य, व्याकरण, दर्शन, तीर्थका बारेमा यथेष्ट जानकारी छन्। यस्तै हाम्रो परम्पराको बारेमा जिज्ञासा राख्नेहरूका लागि यो एउटा उपयोगी सामग्री बनेको छ। उनले भने, ‘मानिसको आकाङ्क्षाअनुसार शब्दकोश प्रयोजनपरक बनाउन सकिन्छ। यसको लक्षण नै यही छ।’
ज्योतिष वा आकाशीय पिण्डका बारेमा जान्ने इच्छा हुनेलाई पनि यो सामग्री निकै उपयुक्त रहेको उनले बताए। ढुंगानाले भने, ‘आकाशीय पिण्ड र ताराहरू पृथ्वीबाट कति टाढा छन्? तिनीहरूको विशेषता चित्रसहित राखिदिएको छु। यसले गर्दा पनि यो ग्रन्थ रोचक र ज्ञानवद्र्धक बनेको छ।’ पूर्वीय वाङ्मयको दर्शन, तिनका शाखा–प्रशाखा, यिनीहरूका प्रमुख मान्यता एवम् यिनीहरूबीचको भिन्नताबारे पनि ग्रन्थमा प्रकाश पारिएको छ।
कोशको अर्को विशेषता हो, उदाहरणहरू सकेसम्म नीतिश्लोकबाट प्रस्तुत गर्नु। यसबारे ढुंगानाले भने, ‘शब्दको प्रयोगस्थल निर्देश नीति श्लोकबाट गर्दा रमाइलो हुन्छ र नीति श्लोक धेरैलाई आउँछ पनि।’
नेपालमा यस्तो ग्रन्थ पहिलोपटक लेखिएको उनको दाबी छ। ‘हिन्दीमा पनि यस्तो पुस्तक छैन,’ उनले भने, ‘अङ्ग्रेजीमा र संस्कृतमा लेखिएका पुस्तकमा नेपालपरक विषय छैनन्। यस्तो खालको ग्रन्थ अन्त कतै छैन।’
०००
साझा प्रकाशनले प्रकाशन गरेको कोषमा नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहहरू सङ्ग्रहीत छन्। यस्तै नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख छ।
ढुंगानाका अनुसार कोशमा धातुका प्रतिनिधि रूप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने दुई हजार पारिभाषिक शब्द छन्। यसमा प्रयोग भएका संस्कृतका शब्द संस्कृत वाङ्मयमा बढी प्रचलित छन्। केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन्। तिनलाई देवनागरी लिपिको परम्परागत वार्णिक प्रणालीका क्रममा अर्थ्याइएको छ।
साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले यो शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको बताए। ‘नेपाली भाषामा प्रयोग भएका संस्कृतका शब्द कसरी बने? भन्ने जिज्ञासा सबैलाई हुने नै भयो,’ उनले भने, ‘यही क्रममा प्राध्यापक नीलमणि ढुंगानाले व्युत्पत्तिमूलक शब्दकोश तयार गर्दै गरेको जानकारी आयो। उहाँलाई हामीले साझा प्रकाशनमा निम्त्यायौँ।’
व्युत्पत्तिमूलक भने पनि कोशमा संस्कृत मात्रै नरहेको घिमिरेले बताए। उनले भने, ‘शब्दकोशमा प्रयुक्त शब्द कहाँ र कुन अर्थमा प्रयोग भएको छ भन्ने उदाहरण समावेश छ। १४ सय २० पृष्ठको शब्दकोश पाठकका लागि बहुमूल्य ग्रन्थ साबित हुनेछ। भाषाको क्षेत्रमा चासो राख्ने अध्येता, अनुसन्धाता र सरकारी कार्यालयमा शुद्ध नेपाली शब्द राख्न रुचाउनेका लागि कोश अत्यन्तै उपयोगी हुनेछ।’