अब मधेशको नाममा राजनीति गर्नेहरू बढारिनेछन् : उपेन्द्र यादव

हिमाल प्रेस चन्द्रशेखर अधिकारी 2022-04-28 23:01:02

उपेन्द्र यादव जनता समाजवादी पार्टी नेपालका अध्यक्ष हुन्। मधेश आन्दोलनपछि नेपाली राजनीतिमा उदाएका यादव यतिबेला मधेशमा मात्र होइन हिमाल–पहाड सबैतिर पार्टीको पकड बलियो बनाउन सक्रिय छन्।  यादवसँग मधेशको राजनीति, स्थानीय तहको निर्वाचन, गठबन्धनको भविष्य लगायतमा विषयमा हिमाल प्रेसका लागि चन्द्रशेखर अधिकारीले गरेको संवादको सम्पादित अंश :
 
स्थानीय तहको निर्वाचनले कतिको व्यस्त बनाएको छ?

नागरिकको काम गर्न राजनीतिमा लागेको हुँ। त्यसैले निर्वाचनमा व्यस्त हुनैपर्‍यो। सबैतिर भ्याउन आवश्यक छ। त्यसको व्यवस्थापन पनि भइरहेको छ। म नागरिकको काम गर्न निकै रुचाउँछु। सकेसम्म सबैको कुरा सुन्ने र काममा लाग्छु। म मधेशमा नै बढी सक्रिय छु। मधेशको व्यथाबारे के भनूँ र? त्यहाँका नागरिकको जीवनस्तर सुधार  र विकासका लागि म दिनहुँ लागिपरेको छु।

हाम्रो पार्टी समाजवादी पनि त्यत्तिकै सक्रिय छ। हिजोसम्म निर्वाचन हुन्न भन्नेहरू अहिले निर्वाचनमा सहभागी हुन तँछाडमछाड गरेका छन्। अब हामी शान्तिपूर्ण निर्वाचन गरेर जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्छौँ र मधेशका माग सम्बोधन गरी अघि बढ्नेछौँ।

मधेशको व्यथा भनेर केलाई संकेत गर्न खोज्नुभएको हो? 

मैले त्यहाँका जनताको अवस्थाबारे संकेत गर्न खोजेको हुँ। तराई भनेको केही सहरबजार मात्र होइन। दुरदराजका धेरै बस्ती छन्। पहाडको तुलनामा मधेशमा जनसंख्या धेरै छ। त्यसैले मधेशमा निर्वाचन पनि बढी नै लाग्छ। त्यसैले हामी मधेशबारे बढी चिन्तित छौँ। निर्वाचनमा हामी सबै मधेशमा केन्द्रित छौँ। हाम्रो मुख्य ध्येय स्थानीय तह निर्वाचनमार्फत लोकतन्त्रलाई सही अर्थमा जनताको घरदैलोमा पुर्‍याउनु हो। त्यो हामीले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्दा भनिसकेका छौँ। 

यहाँहरूले गठबन्धन गर्दा पनि मधेशमा सहज छैन अवस्था भन्ने छ नि?

मधेशको नाममा राजनीति गर्नेहरू स्थानीय तहको चुनावमा बढारिनेछन्। हामी मधेशमा रहेर काम गरेका पार्टी हौँ। हामी अझै पनि सरकारमा रहेर मधेशका विषयमा स्पष्ट हुनुपर्ने माग उठाइरहेका छौँ। हामी कसैको लहलहैमा लाग्दैनौँ। हामी सहकार्य र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौँ। स्थानीय तहलाई टोलटोलसम्म जनताको सहभागितामा सञ्चालन गर्नेछौँ। जनताको समस्यालाई केन्द्रमा राख्नेछौँ। लोकतन्त्र समावेशी, समानुपातिक र सहभागितामूलक बनाउन पार्टीको प्रयास रहन्छ। त्यही आडमा हामी अघि बढ्ने हो।

स्थानीय तहमा यहाँहरूले अघि सार्नुभएका योजना के के छन् त?

हामी नागरिकको हितका लागि काम गर्छौँ। सार्वजनिक शिक्षालाई निजी शिक्षाभन्दा उन्नत बनाउने, सामाजिक सुरक्षाभत्ता घरघरसम्म पुर्‍याउने, पालिकाहरूले भूउपयोग योजना बनाएर मात्रै बस्ती बनाउन सक्ने लगायतका योजना हामीले अघि सारेका छौँ। समुन्नत संघीय समाजवादको नयाँ वैचारिक धारा अगाडि सारेका छौँ। साथै समावेशी, समानुपातिक र सहभगितामूलक लोकतन्त्रको अभ्यास गर्नेछौँ। लोकतन्त्रका बारेमा औपचारिक कुरा र ठूला गफ दिएर मात्र हामी हिँड्दैनौँ। रेल र पानीजहाजका गफ दिँदैनौँ। हामी अहिले हाम्रो गाउँ बनाउने कुरामा लागेका छौँ। तलतलसम्म लोकतन्त्रको सही अभ्यासमा हाम्रो जोड रहनेछ। सुशासन र सदाचारमा समाजवादीले विशेष धयान दिनेछ। 

अघिल्लो स्थानीय तहको चुनावमा भन्दा मधेशमा यहाँहरूको लोकप्रियता खस्किएको हो?

त्यस्तो होइन। यस्ता कुरा कसैले भ्रम छर्न भनिरहेका हुन्। त्यो त निर्वाचनको नतिजाले देखाउँछ। हामी नागरिकसँगै मिलेर जनसभा गर्ने, जनताका अभिमत लिने र सुझाव संकलन गर्ने काममा व्यस्त छौँ। हामीले गरेका कामको अभिलेख पारदर्शी ढंगले राख्ने र त्यसमा जनतालाई नै संलग्न गराउने विषय प्राथमिकतामा छन्। त्यस अर्थमा लोकतन्त्र अझ उन्नत र सहभागितामूलक बनाउने, सबै समुदाय, जाति, क्षेत्र, लिंगको सहभागिता सुनिश्चित गर्ने हाम्रा मुद्दाबाट अत्तालिएकाहरूले हामीलाई मधेशमा कमजोर छ भनेर भ्रम फैलाएका हुन्।

गठबन्धनकै बलमा यहाँले यस्ता कुरा गरिरहनुभएको त होइन नि?

गठबन्धन निर्वाचनसम्मका लागि अघि बढेको छ। गठबन्धनलाई बलियो बनाएर पनि लोकतन्त्रको अभ्यास गर्न सकिन्छ नि। हामी गठबन्धनबाट अघि बढे पनि आफ्नो स्थानीय तहलाई अझ बढी बलियो बनाउन सक्रिय छौँ। सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यजस्ता सेवा जनतालाई प्रत्यक्ष पुर्‍याउने काम स्थानीय तहले गर्ने हुनाले यहाँ हामीले निकै मेहनत गर्नेछौँ। आमनागरिक पनि उत्साहित छन्। हामी त्यसलाई बढी प्रभावकारी ढंगले काम गर्नेछौँ। ता कि लोकतन्त्र सही अर्थमा जनताको घरदैलोमा पुगोस्।

मधेशका नागरिकमा निराशा पनि उत्तिकै छ नि होइन र?

हामीसँग केही बेखुसी होलान् तर हामी इमानदार प्रयास मधेशका लागि गरिरहेका छौँ। सरकारसँग पनि हामी सन्तुष्ट छैनौँ। मधेशका लागि कतिपय काम भइरहेको छैन। यसमा पनि आवाज उठाइरहेका छौँ। गठबन्धनमा पनि उठाएका छौँ। हामीले मधेशको नागरिकले नपाएको स्वास्थ्य सेवा, अस्पताल बनाउने, वडावडामा स्वास्थ्य चौकी राख्ने, सबैलाई स्वास्थ्य बिमा गराउने लगायतको कुरा उठाएर नागरिकको हितमा काम गर्न लागेका छौँ।

यो त चुनावी नारा त होला नि, होइन र?

कतिपय नारा पूर्ण नहोलान् तर हामीले नागरिकसँग घरघरमा गएर काम गर्ने प्रतिनिधि चयन गर्ने हो। यसमा इमानदार प्रयास आवश्यक छ। हामीले प्रत्येक घरमा विद्युतीकरण गर्नेदेखि ग्रामीण वातावरण सुधारेर स्वच्छ बनाउने योजना ल्याएका छौँ। स्थानीय तहमा सुशासन र पारदर्शितालाई स्थापित गराउने बाचा हाम्रो छ। नागरिक सेवालाई थप प्रभावकारी बनाउँदै घरघरमा टोली पठाएर सेवा पुर्‍याउने सोच राखेर दल अघि बढेको छ।

विकास निर्माणका काममा प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गर्ने विषय रहेकाले हामी सक्दो प्रयासमा छौँ। सहर भएको स्थानलाई चक्रपथ निर्माणको अवधारणामा अघि बढाउनेछौँ। घरमा २०० युनिटसम्मको बिजुली बाल्नेलाई निःशुल्क दिने र आधुनिक शौचालय निर्माणका लागि पनि हरेक परिवारलाई अनुदान दिने सोच पार्टीको छ। 

गठबन्धनमा रहेर यो काम सहज होला र?

हामीले सरकार चलाउन गठबन्धन गरेका हौँ। नागरिकले पाँच वर्षसम्म सरकार चलाउन पठाएका व्यक्तिले कुबाटोमा लाग्दा हामी गठबन्धन गर्न बाध्य भएका हौँ। मुलुक लकडले होइन बेस्ट माइन्डले चलाउनुपर्छ। तर यहाँ त्यो देखिएन। त्यसैले हामी सहकार्यमा सक्रिय भयौँ। सरकारको कामप्रति म त्यति सन्तुष्ट त छैन। यो गठबन्धन बाध्यात्मक रूपमा बनेको हो। 

स्थानीय तहको निर्वाचनपछि गठबन्धन रहँदैन भन्न खोज्नुभएको हो?

निर्वाचनपछि के हुन्छ भन्न सकिन्न। अहिले हामीले मेयर र उपमेयरमा गठबन्धन गरेका छौँ। अन्य पदमा स्थानीय तहलाई सहकार्य वा छनोट गर्न छाडेका छौँ। कैयन् तहमा सहकार्य नगरी नभई आफ्नै तवरले प्रतिस्पर्धामा छौँ। हामी हाम्रो एजेन्डामा भने स्पष्ट छौँ। हाम्रो सहकार्य सबै पक्षसँग उत्तिकै हुनेछ। अहिले गठबन्धन अघि बढ्छ तर निर्वाचनपछि कसरी जान्छ, केही भन्न सकिन्न।

विचार मिल्दैन तर पनि सहकार्य भने हुने रहेछ हैन?

हो नि, राजनीति भनेको यस्तै हो। आगामी निर्वाचनसम्म सँगै जाने हो। चुनावी सभा पनि संयुक्त रूपमा गर्नेछौँ। क्रस हुन नदिने अवस्थाबारे जानकारी गराउनेछौँ। समयको माग र राजनीतिक परिस्थितिले निम्त्याउँछ असहज सहकार्य पनि।

कतिपयले त राजनीतिक दलबीच बाह्य शक्तिको आडमा सहकार्य हुने र भत्कने गर्छ भन्ने आरोप लगाउँछन् नि!
विदेशीसँग भन्दा स्वदेशको चाहनामा बढी विश्वास गरेर हामीले सहकार्य गरेका छौँ। हामीले यसमा कतै तलमाथि गरेका छैनौँ। न यहाँ विदेशीले यसो वा उसो भनेका छन्। यो घरायसी सहकार्य हो। गठबन्धनमा कुनै विदेशीको कुनै भूमिका पनि छैन। त्यसमा आमनेपाली स्पष्ट हुनैपर्छ।
 

प्रकाशित: 2022-04-28 23:01:02