काठमाडौँ- लमजुङकी उन्नति शर्माको बाल्यकाल वनजंगल नजिकै बस्तीमा बित्यो। तनहुँ माइत भएकी उनलाई सानैबाट लाग्थ्यो- वनजंगल र वन्यजन्तुको संरक्षण नगरे मानव जीवनको अर्थ छैन। त्यसैले त हो, उनलाई संरक्षणमा लाग्न प्रेरणा मिलेको।
संरक्षणमै लाग्ने सोचले उनले एसएलसीपछि प्राविधिक विषय रोजिन्, फरेस्ट्री (वनविज्ञान)। वनविज्ञान संस्थान पोखराबाट आईएससी गरेकी उनले २२ वर्षको उमेरमा रेन्जरमा नाम निकालिन्। उनको पहिलो पोस्टिङ भयो- बर्दिया राष्ट्रिय निकुञ्ज।
पहाडमा हुर्केकी उनलाई तराईमा खटिनुपर्यो। गर्मी उस्तै, अधिकांश ठाउँ साइकलमा जानुपर्ने। त्यसमाथि महिला भनेको उनीमात्रै। ‘बर्दिया निकुञ्जमा एक्लो महिला रेन्जर थिएँ, अरू सबै पुरुष थिए,’ उनले ती दिन सम्झिइन्, ‘राजापुर साइडबाट त स्ट्रिमर चढेर जानुपर्थ्यो। बाटोको सुविधा थिएन। साइकल चलाउन नजान्ने म अरूकै साइकल पछाडि बसेर फिल्डमा खटिएँ।’
बर्दियामै छँदा उनले बीएससी गरिन्। विवाह भइसकेपछि सेवा प्रवेश गरेकी उनले परिवारको सहयोग पनि राम्रै पाइन्। बर्दियामै कार्यरत रहँदा छोरीलाई सँगै राखेर हुर्काइन्।
‘पहिले फरेस्ट्री विषय नै पुरुषका लागि हो भन्ने सोच थियो, तर अहिले त्यस्तो छैन। फिल्डमा खटिँदा पुरुषले जस्तो महिलाले काम गर्न सक्दैनन् भन्ने सोच कायमै छ।’
‘घरपरिवारबाट टाढा रहँदा गाह्रो त हुन्छ नै,’ उनले भनिन्, ‘तर आफ्नो कामप्रति बफादार थिएँ। घरव्यवहार र जागिर दुवै सम्हाल्न सकेकोमा खुसी छु।’
यसबीचमा उनले शे-फोक्सुण्डो गएर पनि काम गरिन्। अहिले उनी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा कार्यरत छिन्। काममा जोखिम हुने भए पनि संरक्षण क्षेत्रमा लाग्दा खुसी लाग्ने उनको भनाइ छ।
शर्माजस्तै बाँके राष्ट्रिय निकुञ्जकी सिनियर गेमस्काउट प्रमिला गिरीलाई पनि संरक्षणमा खटिन पाउँदा रमाइलो लाग्छ। २०७५ सालमा सेवा प्रवेश गरेकी रोल्पाकी उनी जागिरकै लागि गेमस्काउट भएकी हुन्।
वन र वन्यजन्तुको संरक्षणमा ‘फ्रन्टलाइन’मा खटिने महिला वन प्राविधिक अनेकन् समस्या झेलेर पनि आफूलाई अब्बल साबित गरिरहेका छन्।
‘घर छाडेर आउँदा सुरुसुरुमा एकदमै न्यास्रो लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले भने घाइते जनावरको उद्धार, वनजंगल संरक्षण गर्न पाउँदा खुसी छु।’ पेसाबाट सन्तुष्टि रहे पनि अनेक चुनौती सामना गर्नुपरेको ‘फ्रन्टलाइनर’ महिलाहरूको दु:खेसो छ।
हेपिन्छन् अझै
कुनै बेलाको ‘जंगलको काम पुरुषका लागि मात्रै हो, महिलाका लागि होइन’ भन्ने सोच अचेल हराउँदै गएको छ। संरक्षण क्षेत्रमा महिलाको आकर्षण बढ्दै छ। अझै पनि समाजमा महिला र पुरुषलाई हेर्ने नजर बदलिन बाँकी रहेको रेन्जर शर्माको बुझाइ छ।
‘गेमस्काउट पुरुष हुनुहन्छ र रेन्जर महिला भयो भने स्थानीयवासीले बरु गेमस्काउटलाई महत्त्व दिएर कुरा गर्नुहुन्छ,’ उनले भनिन्, ‘महिलालाई हेर्ने दृष्टिकोण फरक छ।’
रेन्जर नीलम कार्की पनि यसमा सहमत छिन्। ‘पहिले फरेस्ट्री विषय नै पुरुषका लागि हो भन्ने सोच थियो, तर अहिले त्यस्तो छैन,’ उनले भनिन्, ‘फिल्डमा खटिँदा पुरुषले जस्तो महिलाले काम गर्न सक्दैनन् भन्ने सोच कायमै छ।’
पुरुष वन प्राविधिकसरह महिला प्राविधिकलाई नहेर्दा हेपिएको महसुस हुने उनीहरू बताउँछन्। महिला वन प्राविधिकहरूको अधिकारका पक्षमा काम गर्ने फोरम मिफेल फरेस्टर नेपालकी श्रेयांशी विष्टले पनि संरक्षण क्षेत्रमा महिलाहरू हेपिने गरेको बताइन्।
‘महिलालाई यो क्षेत्रमा राख्न हुँदैन भन्ने सोच भएका मानिस पनि छन्, यो ‘यस्तो किसिमका पूर्वाग्रह हट्नुपर्छ, हटाइनुपर्छ,’ उनले भनिन्, ‘फिल्डको काम भएकाले यौन दुर्व्यवहार, हिंसाका घटना पनि सार्वजनिक भएका छन्।’
‘हामीकहाँ यस्ता किसिमका समस्या लिएर पीडित महिला वन प्राविधिक आउनुहुन्छ। यस्ता समस्यालाई कानुनी रूपमा सुल्झाउन हामीले दबाब दिने गरेका छौँ।’
कतिपयले संरक्षणको ‘फ्रन्टलाइन’मा रहेर काम गर्ने महिलालाई नराम्रो सोच्ने गरेको सिनियर गेमस्काउट गिरीले बताइन्।
‘पुरुषभन्दा महिलालाई काम गर्न अलि गाह्रो नै हुन्छ,’ उनले भनिन्, ‘पुरुष आर्मीसँग गस्ती जानुपर्छ। गस्ती गएका बेला शौचालय जान अलि समस्या हुन्छ। पुरुषहरूसँग गस्ती गर्न अलि अप्ठ्यारो हुन्छ।’
दुर्व्यवहारका घटना उस्तै
कतिपय महिला वन प्राविधिकले दुर्व्यवहारका घटना पनि भोग्नुपरेको छ। तर ती पीडा लुकाइने गरिएको छ। ‘हामीकहाँ यस्ता किसिमका समस्या लिएर पीडित महिला वन प्राविधिक आउनुहुन्छ,’ फिमेल फरेस्टर नेपालकी विष्टले भनिन्, ‘यस्ता समस्यालाई कानुनी रूपमा सुल्झाउन हामीले दबाब दिने गरेका छौँ।’
पुरुष वन प्राविधिकबाटै सहकर्मी महिलालाई जथाभावी म्यासेज पठाउने, सामाजिक सञ्जालमा अश्लील कन्टेन्ट पठाउने, गलत नियतले छुने जस्ता किसिमका समस्या महिला वन प्राविधिकले भोग्नुपरेका छन्।
‘संरक्षणमा महिलामैत्री वातावरण बनाउन हामी लागिरहेको छौँ,’ विष्टले भनिन्, ‘कतिपयले महिलाले नेतृत्व गर्न सक्दैनन् वा पुरुषसरह काम गर्न सक्दैनन् भन्ने सोच राख्छन्। महिलाको नेतृत्व विकास गर्न, उनीहरूले भोग्नुपरेका समस्या समाधान गर्न र महिलामैत्री वातावरण बनाउन लागिपरेका छौँ।’