व्यवसायी प्रसाई र युवा संघ भिडाउँदै ओली!

हिमाल प्रेस १३ कार्तिक २०८० १८:२१
898
SHARES
व्यवसायी प्रसाई र युवा संघ भिडाउँदै ओली!

काठमाडौँ- समकक्षी नेतामध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोल्ने शैली भिन्नै छ। आफ्ना समर्थकप्रति मिठासपूर्ण भाषण गर्ने ओली विरोधीको आलोचना गर्दा निकै कठोर बन्छन्। उखानटुक्काको प्रयोगले आलोचकहरूलाई भित्तामा पुग्ने गरी बोल्ने ओलीका पछिल्ला बोली विपक्षी नेताविरुद्ध नभएर एउटा मामुली व्यवसायीमाथि केन्द्रित भइरहेको छ।

यति मात्रै होइन, ओलीले प्रसाईविरुद्ध पार्टी भ्रातृ संगठन युवा संघ नै परिचालन गरेको चर्चा हुन थालेको छ। ओलीले गत भदौमा विराटनगरमा आयोजित एक कार्यक्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई मानसिक अवस्था ठिक नभएको भनेर टिप्पणी गरे। मानसिक सन्तुलन गुमाएर प्रसाईले पार्टी र नेतृत्वविरुद्ध जथाभाबी बोल्दै हिँड्ने गरेको आरोप अध्यक्ष ओलीको थियो।

एक सातापछि प्रसाईले पनि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ओलीलाई बढी मानसिक समस्या भएको नेता भनेर आलोचना गरे। प्रसाई व्यवसायीमात्रै नभएर एमाले केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियानमा लागेका व्यक्ति हुन्। उनी एमाले छाड्नेबित्तिकै बैंक र लघुवित्त संस्थाविरुद्ध उत्रिएका थिए। त्यसपछि अध्यक्ष ओली र पार्टी संगठन युवा संघमाथि उनी आक्रोश पोख्दै आएका छन्।

प्रसाईले अध्यक्ष ओलीले भ्रष्टाचार गरेको रकम विदेशमा लगानी गरेको अभिव्यक्ति दिएपछि ओली र प्रसाईबीच सम्बन्ध झन् बिग्रिएको एमालेकै नेताहरू बताउँछन्। दसैँअघि प्रसाईले एक पत्रकार सम्मेलनमा कम्बोडियाको टेलिकममा एमाले अध्यक्ष ओलीको ३० अर्ब लगानी रहेको दाबी गरेका थिए। त्यसको प्रमाण सरकार र आफूसँग भएको उनको भनाइ थियो।

प्रसाईको यस्तो आरोपपछि ओली थप आक्रामक भए। दसैँका बेला झापामा भएका धेरै कार्यक्रममा ओली प्रसाईविरुद्ध खनिएका थिए। त्यति मात्रै होइन, ओलीले सोमबार पोखरामा भएको एक कार्यक्रममा पनि त्यो भनाइको खण्डन गरे। उनले एमाले गण्डकी प्रदेशले पोखरामा सोमबार गरेको कार्यक्रममा भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

प्रसाई ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गर्छन्। ओली भने प्रसाईलाई सामान्य भाषामा चर्चामा आउन जे पनि बोल्ने र गर्ने व्यक्तिका रूपमा आलोचना गर्छन्। प्रसाईले राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि एमाले अध्यक्ष ओलीसँग तिक्तता बढेको नेताहरू बताउँछन्।

एमाले भ्रातृ संगठन त प्रसाईको प्रतिकारमै उत्रिएको छ। प्रसाईले काठमाडौँमा असोज २२ गते आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर युवा संघका कार्यकर्ताले उनलाई मोसो छ्यापेका थिए। मोसो छ्यापेको केही समयपछि एमाले नेता महेश बस्नेतले प्रसाईलाई सुध्रिन चेतवानी दिँदै युवा संघले मोसो छ्यापेको स्टाटस पोस्ट गरेका थिए। उनको स्टाटसपछि प्रसाईले एमालेले आफ्नो अभियानलाई बिथोल्न गुन्डागर्दी गरेको आरोप लगाएका थिए।

असोज २५ गते झापाको अर्जुनधारमा प्रसाईका समर्थकले तोडफोड गरेका गाडी र असोज २२ गते युवासंघले मोसो छ्यापेपछि प्रसाई।

असोज २५ गते झापाको अर्जुनधारा नगरपालिकामा आयोजित युवा संघको कार्यक्रममा प्रसाई समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरेको युवा संघको आरोप छ। उक्त कार्यक्रममा एमाले नेता बस्नेत पनि सहभागी थिए। कार्यक्रममा पहिचानवादीले गाडी तोडफोड गरेको जिम्मा लिएका थिए। युवा संघले भने प्रसाईका समर्थक कार्यक्रमस्थल प्रवेश गरी गाडी तोडफोड गरेको आरोप लगाएको छ।

यो घटनापछि एमाले अध्यक्ष ओली दसैँका बेला झापामा रहेका बेला प्रसाईले दुर्गा माताको मूर्ति इलामको दानाबारीमा राख्न लैजान लागेका थिए। तर युवा संघका कार्यकर्ताले प्रसाईलाई दानाबारीमा मूर्ति लैजान अवरोध गरे।

गत साता एमाले निकट भ्रातृ संगठन पूर्वसैनिक र प्रहरी संघले प्रसाईलाई भक्तपुर प्रवेशमा निषेध गरेको विज्ञप्तिसमेत निकालेका थिए। युवा संघले प्रसाईको नेतृत्वमा भइरहेको अभियान देशभर बिथोल्ने सार्वजनिक चेतावनी दिएको थियो।

युवा संघका प्रवक्ता निरज पौडेल महाअभियानका नाममा जथाभाबी बोल्ने र पार्टीका शीर्ष नेतामाथि नचाहिँदो आरोप लगाएका कारण प्रसाईका सबै कार्यक्रममा अवरोध गर्ने बताउँछन्। प्रसाई नसुध्रिए उनका सबै कार्यक्रम युवा संघले रोक्ने उनको भनाइ छ।

प्रसाईले भने एमाले अध्यक्ष ओलीले नै महाअभियान रोक्न युवा संघ परिचालन गरेको आरोप लगाएका छन्। एमालेले प्रसाईका गतिविधिमाथि नियन्त्रण गर्न सरकारसँग माग गर्दै आएको छ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटघाटमा आफूलाई पक्राउ गर्न दबाब दिँदै आएको प्रसाईको आरोप छ। यस विषयमा प्रचण्ड र ओली दुवैले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। प्रसाईले देश आर्थिक मन्दीमा फसेका कारण आफूले महाअभियानमार्फत सबै विकृति रोक्न सरकारलाई दबाब दिँदै आएको बताएका छन्। नेपालको पैसा सीमित व्यक्तिको हातमा भएका कारण आर्थिक अवस्था बिग्रेको उनको भनाइ छ।

उनले भने, ‘अहिले ५५ जना व्यापारीका हातमा पैसा छ। ती व्यापारीले तस्करी, अन्य क्षेत्रमा संलग्न भएर पैसा बाहिर लैजाने गरेका छन्। सोही कारण आर्थिक मन्दी भएको हो।’ उनले देशभरका ५० प्रतिशत व्यापारिक केन्द्रका सटर बन्द भएको विषयमा सरकारले चासो दिन छाडेको बताए। प्रसाईले भने, ‘यस्तो गम्भीर विषयमा राजनीतिक दलका शीर्ष नेतालाई चिन्ता छैन। उनीहरू सत्ता र पदको लडाइँमा व्यस्त भएका कारण मैले महाअभियान चलाउनुपरेको हो।’

प्रसाईले मंसिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेका छन्। हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने लगायतका एजेन्डा अघि सार्दै आएका छन्।

प्रकाशित: १३ कार्तिक २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =