समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै

हिमाल प्रेस २३ असोज २०८० ८:४४ | Tuesday, October 10, 2023
समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै फाइल तस्बिर

कास्की- समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ।

मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो।

समाजवादी मोर्चामा सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन्। जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ ।

यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताए।

उनका अनुसार बैठकले मोर्चाका शीर्षनेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उनले बताए।

संयोजक गुरुङले भने, ‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मूल उद्देश्यले मोर्चा गठन गरिएको हो । मोर्चालाई प्रदेश हुँदै जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्छौँ । सरकारले गरिरहेका कामका बारेमा जनतालाई प्रशिक्षित गर्ने र जनताबाट सुझाव लिने काम गरिरहेका छौँ ।’

प्रकाशित: २३ असोज २०८० ८:४४ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast