काठमाडौँ- यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जंगी अड्डाको खेल मैदानमा आज (बिहीबार) देखि सुरु भएको छ। उक्त मैदानमा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गरे।
यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ। त्यस अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने प्रयास भइरहेको बताए। उनले हरेक वर्ष सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय सहासिक ‘रन फर फन’ प्रतियोगिताको तयारी भइरहेको जानकारी दिए।
उद्घाटन समारोहमा सहभागी पृतना तथा बाहिनीका टिमले मार्चपाष्टका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए। सो अवसरमा प्रतियोगिताको मस्कट बाघ पनि प्रदर्शन गरिएको थियो।
समारोहमा नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउने ओलम्पियन जमदार जीतबहादुर केसी (अवकाश प्राप्त) लाई कदरपत्र प्रदान गरियो।
प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुनेछ। नेपाली सेनाले प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने अभिप्रायका साथ २०६५ सालदेखि प्रधानसेनापति ट्रफी सुरु गरेको हो।