पोखरामा लिटरेचर फेस्टिभल हुँदै, यस्ता छन् सेसन

हिमाल प्रेस २ पुष २०७९ १८:०८
18
SHARES
पोखरामा लिटरेचर फेस्टिभल हुँदै, यस्ता छन् सेसन

पोखरा– नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण पोखरामा पुस ६ देखि सुरु हुने भएको छ। शनिबार आयोजक संस्था बुकवर्म फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गर्दै फेस्टिभल पुस ११ सम्म चल्ने जानकारी गराएको हो। यो वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ। यस्तै फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रूपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ।

फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देश विदेशका करिब २ सय साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकारलगायतको उपस्थिति रहनेछ। फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने बुकवर्मले जनाएको छ।

यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदैछ।

यो संस्करणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइरालाको पनि सेसन राखिएको छ।

यस्तै मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायतको पनि सेसन छ।

यसका साथै दार्चुला, गोरखा र मनाङका स्थानीय जनप्रतिनिधिको पनि सहभागिता रहने जनाइएको छ। फेस्टिभलको पहिलो दिन गोपाल योञ्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुति राखिएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष सांगीतिक प्रस्तुति र रैथानको प्रस्तुति रहेको छ। फेस्टिभलको अन्तिम दिन प्रदीप रोदनको महफिल रहने छ। फेस्टिभलमा कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिता पनि रहेने आयोजकले जनाएको छ।

‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेकाे ‘नेपाल २०९०’ शीर्षकमा विद्वतप्रवचन राखिएको छ।

प्रकाशित: २ पुष २०७९ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =