व्यापार घाटा कम गर्न विद्युत् निर्यात बलियो विकल्प : गभर्नर अधिकारी

हिमाल प्रेस २ असोज २०८० १४:०९ | Tuesday, September 19, 2023
व्यापार घाटा कम गर्न विद्युत् निर्यात बलियो विकल्प : गभर्नर अधिकारी फाइल तस्बिर

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युत् निर्यात गर्न सके व्यापार घाटा कम हुने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले व्यापार घाटा कम गर्नका लागि विद्युत् निर्यात नै उपयुक्त र बलियो माध्यम भएको बताएका हुन्।

मुलुकको व्यापार घाटा घटाउने उपयुक्त माध्यमका रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा नेपाल राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ।

इप्पान अध्यक्ष गणेश कार्कीले बैंक तथा वित्तीय संस्थालाई २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गरे। जवाफमा गभर्नर अधिकारीले बैंकसँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताए।

इप्पानले भने तत्कालै करिब ३७०० मेगावाट क्षमताका आयोजना विकास गर्दा आउँदो पाँच वर्षमा झन्डै पाँच खर्ब ५५ अर्ब, नेपाल र भारतबीच भएको विद्युत् निर्यातको सम्झौतासमेत जोड्ने हो भने १० वर्षमा झन्डै २० खर्ब ५५ अर्ब र ऊर्जा दशकको घोषणाअनुसार २५ हजार मेगावाट थप उत्पादन गर्ने भएमा ३७ खर्ब ५० अर्बभन्दा बढी लगानीको आवश्यकता पर्ने बताएको छ।

राष्ट्र बैंकले २०० मेगावाटभन्दा ठूला आयोजनालाई आधार दरमा १ प्रतिशतमात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिरहेकोले उक्त व्यवस्था सबै जलविद्युत् आयोजनामा कार्यान्वयन गरिदिन इप्पानले आग्रह गरेको छ।

त्यस्तै इप्पानले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा जलविद्युत् आयोजनाको जोखिम भार १०० प्रतिशत कायम गरिएकोमा त्यसलाई घटाएर सञ्चालनमा रहेका आयोजनाको हकमा ५० प्रतिशत र निर्माणाधीन आयोजनाको हकमा ७५ प्रतिशत कायम गरिदिन पनि आग्रह गरेको छ।

बाढी पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माण तथा निर्माण सम्पन्न गर्न र यी आयोजना रुग्ण हुनबाट बचाउन ब्याज अनुदान र पुनर्कर्जा, ब्याज पुँजीकरण, कर्जा पुनःसंरचना तथा मोराटोरियम पिरियड थप गर्नेलगायतका आवश्यक नीतिगत व्यवस्था गरिदिन पनि इप्पानले गभर्नर अधिकारीसँग आग्रह गरेको छ।

प्रकाशित: २ असोज २०८० १४:०९ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast