तीजले तंग्रिँदै आर्थिक गतिविधि

विजय नेपाल १ असोज २०८० ८:४४
14
SHARES
तीजले तंग्रिँदै आर्थिक गतिविधि तीजका अवसरमा पोखरामा लागेको बजारमा किनमेल गर्दै उपभोक्ता। तस्बिर : हिमाल प्रेस

पोखरा- पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेस यहाँको खुबै चल्तीको पार्टी प्यालेस हो। सबैलाई पायक पर्ने र खुला ठाउँ भएकाले हरेक दिनजसो कुनै न कुनै कार्यक्रमले माइक घन्किरहेको हुन्छ।

१२ वर्षदेखि पार्टी प्यालेस चलाइरहेका सञ्चालक दीपक तिमिल्सिना भन्छन्, ‘तीजका कार्यक्रमले गर्दा हामी कोरोनाअघिको अवस्थामा फर्कियौँ जस्तो लाग्छ। दिनमै हाम्रो पाँच–सात समूह कार्यक्रमका लागि आउँछन्।’ विगत एक महिनायता तीजलगायतका विभिन्न कार्यक्रमले चारवटै हल व्यस्त हुने गरेको तिमिल्सिना सुनाउँछन्।

सिटी रेवानका अध्यक्षसमेत रहेका तिमिल्सिनाका अनुसार महिलाको महान् पर्व हरितालिका तीजले यसपालि भदौ महिनाभर पार्टी प्यालेसमात्र हैन, रेस्टुरेन्ट तथा होटलमा चहलपहल बढ्यो। अर्थात् आर्थिक गतिविधि बढाउनमा मद्दत मिल्यो। सरकारले पनि व्यवसाय सञ्चालनमा उचित वातावरण दिँदै जाने हो र गतिविधि बढ्दै गए केही न केही राहत मिल्ने उनको विश्वास छ। रेवानमा हाल डेढ सय सदस्य छन्। यसमा पार्टी प्यालेस तथा रेस्टुरेन्ट सञ्चालकहरू सदस्य छन्।

तीजकै कारण फेन्सी, कस्मेटिक र सुन पसलमा पनि पहिलेभन्दा ग्राहकको पहलपहल छ। पोखरा महानगरपालिका–२८ का निवर्तमान वडा अध्यक्ष सुनचाँदी व्यवसायी निर्मल दियालीले अन्य बेलामा भन्दा तीजको बेलामा गरगहना जोड्न चाहने ग्राहक अलि बढी आएको बताए। तर सोचेजस्तो कारोबार भने नभएको उनी बताउँछन्।

पोखराको व्यस्त बजार चिप्लेढुंगामा रहेका थान पसलमा भने तीजको अघिल्लो दिन खुबै भीड थियो। कपडा खरिदका लागि ग्राहक झुम्मिएका देखिन्थे। तीजका लागि साडी खरिद गर्दै गरेकी बिरौटाकी ममता चापागाईंले आर्थिक मन्दीका कारण अहिले कपडामा धेरै लगानी नगर्ने सुनाइन्। पसल सञ्चालक नाराज खान भने दुई चार दिनको भीडभाडले हेरेर नहुने बताउँछन्। उनी विगतमा जस्तो व्यवसाय हुन नसकेको गुनासो गर्छन्।

पोखराको चिप्लेढुंगा। तस्बिर : हिमाल प्रेस

कोरोना अघि दैनिक एक लाखसम्मको कारोबार हुने गरेकोमा अचेल ३० हजार पनि हुन मुस्किल परेको उनी बताउँछन्। अब तीजसँगै मुख्य चाडपर्वहरु दसैंतिहार, छठलगायतका चाडपर्व भित्रिन लागेकाले कारोबार बढ्नेमा उनीजस्तै अन्य व्यवसायी विश्वस्त देखिन्छन्।

कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ अनलाइन बिजनेसका कारण आफ्नो व्यवसाय बिस्तारै खस्किँदै गएको गुनासो गर्छन्। ‘तीजको बेलामा हुँदै नभएको त होइन, केही न केही त कारोबार भयो,’ पृथ्वीचोकको श्रेष्ठ ब्रदर्सका सञ्चालकसमेत रहेका श्रेष्ठले भने, ‘मानिसको पहिलो प्राथमिकता खाना, स्वास्थ्य तथा शिक्षामा जान्छ। कपडा त विलासिताका वस्तु पनि भएकाले आर्थिक मन्दीको बेला किन खर्चिऊन् र!’

उनले अनलाइन बिजनेसका नाममा भएको कारोबारले भने आफूहरुलाई असर पारेको बताए। यसमा सरकारले उचित ध्यान दिनुपर्ने उनको जोड छ। कोरोनाअघिसम्म दैनिक एक डेढ लाख रुपैयाँसम्म कारोबार हुने गरेकोमा अहिले बीस–तीस हजारमै खुम्चिनुपरेको उनले बताए। कास्कीको हेमजा तथा बुढीबजारसम्म समेटेको कपडा व्यवसायी एसोसिएसनमा २ सय ४१ सदस्य छन्।

चाडपर्वको मौसमले यस्सो हेर्दा उल्लास देखिए पनि ‘क्वालिटी’ को मार्केटिङ नभएको बताउँछन्, नेपाल होटल व्यवसायी महासंघ गण्डकी महासचिव देवेन्द्र लम्साल। उनी भन्छन्, ‘चाडपर्वका बेलामा अलिअलि बजारमा पर्वमा आएजस्तो उल्लास त देखिन्छ तर राम्रोसँग खरिदबिक्री छैन। क्वालिटीका ग्राहक छैनन्।’ पोखरामा साथीको रेस्टुरेन्टका सञ्चालकसमेत रहेका लम्साल भन्छन्, ‘मुलुक ठूलो आर्थिक दलदलमा फस्यो।’

सरकारले के गर्नुपर्छ? भन्ने जिज्ञासामा महासंघका महासचिव लम्साल भन्छन्, ‘सरकार आफैँ संकटमा छ। सरकारले पहिले आफ्नो संकट टारोस्। सरकारले केही गरेन भन्नु पनि अमूर्त कुरा हो। कोभिड हटेपछि अर्थतन्त्र सुध्रिनुपर्ने थियो तर नेपालमा खासै उत्पादन नहुने र आयातमा निर्भर हुने मुलुक भएकाले समस्या उत्पन्न भएको हो।’

बदलिँदै तीज, फेरिँदै समाज

प्रकाशित: १ असोज २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =