आवरण

बदलिँदै तीज, फेरिँदै समाज

संगीता श्रेष्ठ ३१ भदौ २०८० ११:००
40
SHARES
बदलिँदै तीज, फेरिँदै समाज पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) द्वारा पोखराको लेकसाइडमा गत साता आयोजित ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ मा महिलासँग नाच्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ। तस्बिर : रासस

तीज नेपाली महिलाले दुःखसुख, वेदना, पीडा, आकांक्षा र सपना एकापसमा साटासाट गर्ने पर्व हो। जसमा अहिले आधुनिकता प्रवेश गरेको छ। मन्दिरमा पूजापाठ र माइतीमा खानपिनसँगै नाचगानमा मात्रै तीज सीमित छैन यो त अब देवालय, चौतारी, खुला मैदानबाट  ठूलठूला पार्टी प्यालेसतिर धकेलिएको छ। अब तीजमा आफ्ना कथाव्यथा र भावना मात्रै पाेखिँदैन महिलाले अधिकार, समानता र सामाजिक न्यायका कुरा पनि उठ्न थालेका छन्।

तीजमा राजनीतिक दल, तिनका भ्रातृसंस्था र विभिन्न संघसंस्था पनि मिसिएका छन्। दलका नेता र मन्त्रीहरू पनि यो एक महिना तीजको कार्यक्रममा व्यस्त हुने गरेका छन्। साथै तीज विशेष कार्यक्रम र महोत्सवले यो पर्वलाई अझ फराकिलो बनाइदिएको छ।

महिना दिनअघिदेखि पार्टी प्यालेस, पाँचतारे होटलमा तीजका कार्यक्रम आयोजना गर्नु सामान्य भइसक्यो। ‘चाडपर्व, संस्कृति समाजको ऐना हो, जसमा वर्तमान समाजको प्रतिबिम्ब देखिन्छ’ भनेजस्तै अहिलेको बदलिएको तीजले हाम्रो बदलिएको समाजको चित्र कोरिरहेको छ। तीजका पहिरन, खानपिन, गीतसंगीतले अहिलेको तीज उहिलेको जस्तो छैन भन्ने प्रस्ट पारिरहेका छन्। यो कुरा बुझाउने सशक्त माध्यम बनेको छ, सामाजिक सञ्जाल।

रातो सारी, हातभरि चुरा, निधारमा टीका र झकिझकाउ गहनामा सजिएका महिला तीजको विशेषता हो। हिजोआज महिलाहरू त्यसरी सजिएर बाटोमा ओहोरदोहोर गर्दै देखिन्छन्। तीजको रातोले सहरबजारलाई मात्र नभई सामाजिक सञ्जाललाई पनि राताम्मे बनाइदिएको छ। फेसबुकमा तीज कार्यक्रमका तस्बिर राख्ने होडबाजी चलिरहेको छ। रातो पहिरन र झप्पकै गहनामा सजिएर नाचगान गरेका फोटो हिजोआज प्रशस्तै पोस्ट हुन्छन्। नाचेका मात्र नभई वाइन र बियरका गिलास चियर्स गर्दै गरेका भिडियो पनि सेयर भइरहेका हुन्छन्। एकनासे पहिरन र गहनामा चिटिक्क परेर टिकटक बनाउने जमात पनि बाक्लै छ।

देशभित्र मात्रै होइन विदेशमा बसेका नेपाली महिलाले पनि रातो सारी, चुरापोतेमा सिँगारिएर तीज मनाएका तस्बिर देख्न पाइन्छ। यसरी तीज संस्कृति नेपालको भूगोलमा मात्रै सीमित छैन, जहाँ नेपाली पुगेका छन्, त्यहाँ तीजको उल्लासले छोएको छ।

चाडपर्वमा हुने चहलपहलको प्रभाव बजारमा पनि परेको छ। पहिलेपहिले दसैँ/तिहारमा देखिने ‘विशेष छुट’का विज्ञापन अहिले तीजमा पनि प्रशस्त देखिन थालेका छन्। ‘महिलाको पर्व’ भनेर होला उनीहरूलाई लक्षित गर्दै व्यापारीहरूले विभिन्न ‘तीज अफर’ ल्याएका छन्। सारीदेखि ब्युटिपार्लरसम्म, हेयर रिमुभल मेसिनदेखि डेन्टल केयरका विज्ञापन सामाजिक सञ्जालमा देख्न सकिन्छ।

तीज अब निश्चित जातीय घेराबाट बाहिर आएको छ। उहिले बाहुन र क्षेत्री समुदायका महिलाले मात्र मान्ने तीज अहिले हरेक नेपाली महिलाको पर्व भएको छ। जनजाति, मधेशीलगायत सबै समुदायका महिलाले यस चाडलाई धुमधामसाथ मनाउन थालेका छन्। रातो सारीमा सजिएर तीजे भाकामा छमछम नाच्ने महिला हिन्दूमात्र हुँदैनन्। अरू समुदायका महिला पनि तीजमा छमछमी कम्मर मर्काउन उत्तिकै हौसिएका देखिन्छन्।

केही दिनअघि सुदूरपश्चिमको डोटेली समाजले आयोजना गरेको तीज कार्यक्रममा सहभागी ललिता श्रेष्ठलाई पनि त्यस्तै लाग्छ। रातो सारीमा चिटिक्क परेर दर खान पुगेकी उनी भन्छिन्, ‘अब तीज बाहुन, क्षेत्रीहरूको मात्रै भन्ने अवस्था रहेन। सबै धर्म, जाति र समुदायको भइसकेको छ।’

नेपालीको जीवनस्तरमा आएको सुधारसँगै खानपान शैली परिवर्तन भएको छ। विगतमा पर्वविशेषमा मात्रै खान पाइने कुरा अहिले जतिबेला पनि उपलब्ध छ। खानपानकै कुरा गर्दा तीजमा केही विकृति पनि भित्रिएको सामाजशास्त्रीहरूको बुझाइ छ। तीजको अघिल्लो दिन फलफूल, दूधदही, हलुवा, खीर, गेडागुडीलगायत खानेकुरा खानु दर हो। तर अहिले दर त्यतिमा मात्रै सीमित छैन। मासुदेखि मदिरासम्म तीजको ‘दर मेनु’मा अटाएका छन्। छोरीचेलीलाई माइतीमा बोलाएर तीजको अघिल्लो दिन दर खुवाउने नेपाली परम्परा महिनौँअघिदेखि पार्टी प्यालेसमा खाने चलनमा बदलिँदै गएको छ। यसैगरी दर खाने नाममा विभिन्न संघसंस्थाले विभिन्न तीज कार्यक्रम आयोजना गरिरहेका हुन्छन्।

महँगो मूल्यमा टकट बिक्री गरिरहेका हुन्छन्। त्यस्ता कार्यक्रममा सहभागी हुने महिला पनि प्रशस्तै भेटिन्छन् यहाँ। त्यतिमात्र नभई सबैले उस्तै सारी र गहना लगाएर कार्यक्रममा सहभागी हुने प्रचलन पनि बढ्दै गएको छ।

तीजमा वर्षैपिच्छे नयाँनयाँ गीत आउने गर्छन्। महिलालाई छमछमी नचाउन गायकगायिकाले महिनौँअघिदेखि निकै मेहनत गर्छन्। वैशाखदेखि नै बजारमा तीजगीत आउन थाल्छन्। युट्युबमा तीजे भिडियो त्यस्तै हालिन्छन्। तीजगीत रेकर्ड गर्न गायकगायिकालाई र भिडियोमा अभिनय गर्न अभिनेता–अभिनेत्री, मोडललाई चटारो हुन्छ। त्यसका लागि महिनौँअघिबाट उनीहरूको तयारी सुरु हुन्छ।

पछिल्लो समय विभिन्न जातजातिको मात्रै होइन तीजमा लैंगिक समावेशिता पनि देखिएको छ। महिलासँगै पुरुषलाई पनि तीजले राम्ररी छुन थालेको छ। तीजेगीतमा नाचगान गर्न पुरुषलाई पनि भ्याइनभ्याइ छ।

उहिले महिलाका कथाव्यथा, वेदनापीडा समेटेर रचिने गीतमा पनि परिवर्तन आएको छ। त्यस्तै महिलासँगै पुरुष स्वरमा पनि तीजगीत सुनिन्छन् हिजोआज। गाउनेमात्र होइन तीजगीतमा नाच्ने पुरुष पनि त्यत्तिकै बढेका छन्।

गायक प्रकाश सपुतले यस तीजमा गीतमात्रै ल्याएनन्, अरूले गाएका तीजेगीतमा नृत्य पनि गरे। यसपालि तीजमा गायक सपुतको ‘जाले रुमाल फाट्यो’ गीत सार्वजनिक भयो।गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत २४ घण्टा नबित्दै नेपालमा ट्रेन्डिङमा नम्बर एकमा पर्‍यो।

शान्तिश्री परियारको स्वरमा रहेको ‘अरेली काँडेले मलाई च्वास्सै’मा पनि गायक सपुत देखिएका छन्। त्यसमा उनको स्वर होइन नाच छ। गीतमा उनी अञ्जली अधिकारीसँग नाचिरहेका छन्।

खेम सेञ्चुरी र सुनीता बुढा क्षेत्रीको गीतमा प्रकाश सपुत जुना विश्वकर्मासँग कम्मर मर्काइरहेका छन्। कतिपयलाई लाग्छ, महिना दिनअघिदेखि यसरी पार्टी प्यालेसमा दर खानु तीज संस्कृतिमा विकृति हो। तीज मनाउने यो तरिका भड्किलो हो।

समाजशास्त्री डा. बिन्दु पोखरेललाई त्यस्तो लाग्दैन। वर्षभरि घरका कामधन्धामा व्यस्त रहने महिला केही दिन घरबाहिर निस्केर नाचगान गरी रमाइलो गर्नुलाई अनुचित ठान्न नहुने उनी बताउँछिन्। ‘महिलाले केही समय आफ्ना लागि बिताउँदा, खुसी हुँदा के नराम्रो भो र?’ उनी भन्छिन्, ‘महिला यसरी घरबाहिर निस्किनु त राम्रो कुरा हो। समाज आधुनिक हुँदै गएको संकेत हो।’

समयअनुसार तीज बदलिँदा त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनी बताउँछिन्। ‘आजका महिला दुःखव्यथाका कथामा रमाउँदैनन्,’ पोखरेल भन्छिन्, ‘घरव्यवहारको जिम्मेवारी सम्हालेका महिला आफू खुसी भएनन् भने परिवारलाई कसरी खुसी दिन सक्लान्! अरूलाई खुसी राख्न मान्छे पहिले आफू खुसी हुनुपर्छ। तीजले महिलालाई खुसी दिएको छ।’

प्रकाशित: ३१ भदौ २०८० ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =