तीज विशेष

संगिनी गाउने आमाहरू…

विवेक विवश रेग्मी ३१ भदौ २०८० १५:३४ | Sunday, September 17, 2023
संगिनी गाउने आमाहरू… इटहरी उपमहानगरपालिका–१६ स्थित बालाजी जेष्ठ नागरिक समाजले आयोजना गरेको कार्यक्रममा संगिनी गायन र नृत्यमा सहभागी महिला। तस्बिर : विवेक विवश रेग्मी

नजिकै आयो नि यही सालको तीज।
कहाँ भेला हुने हो है बहिनी, कहाँ भेला हुने हो?
माइत जाऊँ भने नि बाउआमा छैनन्,
सम्झेर रुने हो बहिनी, सम्झेर रुने हो …

संगिनी गीतमा गुञ्जिएका शब्दसहित नृत्य हेरिरहँदा आमन्त्रित मानिस भावुक बने। कसैले आफ्ना बा-आमा सम्झे जो सम्झनामा मात्रै छन्। कसैले विगतमा आफूले गाएका संगिनी सम्झिए त कसैले मञ्चतिर हेर्दै संगिनी गाइरहेका, नृत्य गरिरहेकाप्रति एकोहोरो हेरिरहे ।

इटहरी उपमहानगरपालिका-१६ स्थित बालाजी जेष्ठ नागरिक समाजले आयोजना गरेको कार्यक्रममा देखिएको दृश्य हो, यो। पछिल्लो समय संगिनी गायन तथा नृत्य लोप हुँदै गएको छ। रत्यौली, पूजाआजा तथा चाडपर्वमा संगिनी गाएर नाच्ने गरिन्छ । महिलाले मेलापात, घाँस दाउरा, ढिकी( जाँतो तथा हातेमेलो गर्दा अत्यन्त मार्मिक र वास्तविक जीवनमा आधारित शब्दहरू प्रयोग गरेर संगिनी गाउँछन्।

संगिनीको लोप हुन थालेपछि पुराना पुस्ताले यसको संरक्षणमा जोड दिन थालेका छन्। संरक्षणका निम्ति नयाँ पुस्ता पनि उत्तिकै लाग्नुपर्ने बूढापाकाहरूको भनाइ छ। इटहरी-१९ की देवन्ता पुरी (६७) ले अहिलेको कला र पुरानो कलामा निकै भिन्नता रहेको बताउँछिन्।

‘अहिले धेरै परिकारको कला आयो, पहिला नौ गेडी लगाएर संगिनी गाउँदाको मज्जा छुट्टै थियो,’ विगत सम्झँदै उनी भन्छिन्, ‘घर गाउँमा भेला भयो, आफैँ गाउँदै कराउँदै कम्ता रमाइलो हुन्थ्यो। अहिले हाम्रो कला अब त्यत्तिकै थन्किने भयो भनेर चिन्ता लाग्न थालेको छ।’ अहिलेको तीजमा महिना दिनअघिबाटै महँगा होटल, प्यालेसजस्ता ठाउँमा हजारौँ रुपैयाँ खर्चिएर आयोजना गरिने पार्टी, भोजले विकृति बढाएको उनको बुझाइ छ।

‘तीज त पहिलाको नै रमाइलो लाग्छ। माइती लिन आउँथे, गाउँमा टुकी र कुपी बालेर रातभरि संगिनी नाचिन्थ्यो,’ उनी भन्छिन्, ‘सहरमा महिना दिनदेखि विकृति बढाएका छन्। खासमा तीजको समयमा व्रतको अघिल्लो दिन चेलीबेटीले माइतीका घरको खाने र भाइटीकाको दिन चेलीको घरमा माइतीले खाने चलन हो। अब यो पनि लोप होलाजस्तो भइसक्यो।’

विभिन्न चाडपर्वमा संगिनी गायन तथा नृत्य प्रस्तुत हुने उनी सुनाउँछिन्। उनका अुनसार त्यसबेला अहिलेको जस्तो बाजागाजा नहुने र विभिन्न पूजाआजासहित बिहेमा समेत संगिनी प्रस्तुत हुन्थ्यो।

‘अहिलेका केटाकेटीले नृत्य देखाएजस्तै संगिनी नृत्य हुन्थ्यो, माइतीले चेलीलाई आशीर्वाद दिने, चेलीले माइतीसँग आशीर्वाद माग्ने गरिन्थ्यो,’ उनले भनिन्, ‘अहिलेका लोकगीत मायाप्रेमको मात्रै भयो। मायाप्रेम चेली र माइतीबीच पनि हुन्छ भन्ने कुरा नयाँ पुस्ताले बुझ्न छाडिसक्यो। यो उमेरमा अब हामीले बिहे गर्ने खालको गीत गाएर हिँड्न सुहाउँदैन। संगिनी नृत्य लोप हुँदै गयो।’

लोकगीतमा माया र बिहेका सन्दर्भ मात्रै आएकाले संगिनीजस्ता मौलिक नृत्य लोप हुँदै गएको उनको अनुभव छ। ‘म मर्दा सँगै कला पनि मर्छ। उमेर हुँदा घरपरिवार चलाउँदै र छोराछोरी, नातिनातिना हुर्काउँदै ठिक्क हुँदा मौका पाइनँ,’ उनले भनिन्, ‘मसँग तारादेवीलाई जित्ने स्वर थियो, अवसर नपाउँदा लोप हुँदै गइरहेको छ।’ उनले आफूमा अझै ऊर्जा रहेकाले मौका पाएमा लोकलयमा गीत, नृत्य, भजन, किर्तन गर्ने सुनाइन्।

देवन्ताजस्तै बिन्दा गिरी (६३) पनि संगिनी लोप हँदै गएकोमा चिन्तित छिन्। ‘बाल्यकालमा तीजको व्रतको अघिल्लो दिनमात्रै दर खाइन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले त संगिनी लोप हुँदै गएको छ। यो उमेरमा पनि स्टेजमा गएर गाउन रहर लाग्छ।’

छोराछोरीले पुराना कला, संस्कृति भुल्ने हुन् कि भन्ने चिन्ताले अझै ऊर्जा थपिएको उनी सुनाउँछिन्। ‘त्यसबेला आमाहरूले खेलेको देखेर हामीले पनि सिक्यौँ,’ उनले भनिन्, ‘त्यसैको सिको गर्दै जाँदा नाचगान गरिरहेका छौँ।’

संगिनी नृत्य तथा गायन दुईजनादेखि माथि जोडी-जोडी जति पनि हुने उनको बुझाइ छ। स्वस्थानी सांगेदेखि रत्यौलीसम्म पनि संगिनी गायन तथा नृत्य हुन्थ्यो। तर अहिले विदेशी गीतसंगीत र नेपालीको पनि भड्किला गीतहरूले यस्ता कलासंस्कृति लोप हुँदै गएको उनी बताउँछिन्।

प्रेमकुमारी गिरी, तिलमाया पुरी, गुन्जना पुरी र गंगा दाहाल पनि संगिनी र नृत्यमा सक्रिय छन्। पछिल्लो समय लोप हुँदै गएको संगिनी प्रस्तुत गर्न पाउँदा आफूहरूलाई खुसी लाग्ने उनीहरू सुनाउँछन्।

सधैँ शान्ति गुञ्जाइदेऊ, सधैँ रक्षा गर्देऊ
हाम्रो नेपाल आमालाई है, हाम्रो नेपाल आमालाई

उनीहरूले गाएको संगिनीमा देशप्रेमले ओतप्रोत शब्द समावेश छन्। ती शब्दले नयाँ पुस्ताका लागि पनि ऊर्जा प्रदान गरिरहेका छन्। उनीहरूले संगिनीको भाकामार्फत आफ्नोभन्दा बढी देशको माया लाग्ने अभिव्यक्ति प्रस्तुत गर्दै आएका छन्।

गाउँ छाडेर आउँदा आफ्ना कला उतै छाडेर आएकोजस्तो अनुभूत हुने गंगा सुनाउँछिन्। गाउँमा संगिनी गायन, नृत्य आफ्नै भेषभूषामा प्रस्तुत गर्न पाइने भए पनि सहरमा ती कुराहरू लोप भइसकेको उनी सुनाउँछिन्। ‘आफूभित्र रहेको कला छटपटिरहन्छ, प्रस्तुत गर्न पाइन्न,’ उनी भन्छिन्, ‘बेलाबेलामा संगिनी गाइरहन पाए नयाँ पुस्तालाई पनि राम्रो सिकाइ हुन्थ्यो।’

बहिनी नि आउनु है इटहरी बजार
म पनि आउँछु राधाकृष्ण मन्दिर,
मन्दिरमै भेटौँला है बहिनी, मन्दिरमै भेटौँला।

यी शब्दले नयाँ पुस्तालाई व्यङ्ग्य गरिरहेको पाइन्छ। पछिल्लो समय भड्किलो खर्च गर्दै तीज मनाउने क्रम बढ्दो छ। यसै क्रममा मन्दिरमा भेटेर संगिनी गाएर छुट्टै रमाइलो गर्न सकिने उनीहरूको शब्दमा उल्लेख गरेको पाइन्छ।

बदलिँदै तीज, फेरिँदै समाज

प्रकाशित: ३१ भदौ २०८० १५:३४ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast