बुटवल– नेपालमा पछिल्लो समय भँगेरा चरा हराउन थालेका छन्। ध्वनि प्रदूषण, बासस्थान अभाव, कृषिमा अत्यधिक किटनाशक औषधि र विषादी प्रयोगका कारण भँगेराको संख्या घट्दै गइरहेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथ कुर्मीले बताए।
‘किसानको साथी’ भनेर चिनिने भँगेरा र मानव जीवनको अन्तरसम्बन्ध निकै पुरानो छ। भँगेराले कृषिलाई सहयोग पुर्याउँछ। ‘१५ दिनको भएपछि भँगेराको बच्चाले खेतीबाली नोक्सान गर्ने खालका किरा खान थाल्छन्,’ उनले भने, ‘अहिलेका घरमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो प्वाल र सुविधा छैन। बिजुली बत्तीको झिलीमिली र रङरोगनको गन्धका कारण गुँड बनाउन सहज छैन। गुँड बनाउन खर, पराल अभाव, सहरीकरण र बढ्दो ध्वनि प्रदूषणले पनि तिनलाई असहज छ।’
संरक्षण आवश्यक
बढ्दो आधुनिकता, प्रदूषण र सुरक्षित बासस्थान कमीले यसको जीवनचक्र नै संकटमा परेको छ। भँगेराको सहअस्तित्वलाई स्वीकार गरेर यसलाई जोगाउनेतर्फ लाग्नुपर्ने कुर्मीको भनाइ छ।
‘किसानको साथी भनेर चिनिने भँगेरा चराले धान, चामल, गहुँ , घरको जुठ्यानमा रहेका खाना आदिका साथै अन्नबालीमा लाग्ने हानिकारक किरा फट्यांग्ररा तथा लार्भा खाई कृषि उत्पादनसमेत बढाउन सहयोग गर्छ,’ सम्मरीमाई ३ का ८० वर्षीय समाजसेवी रम्मा कुर्मीले भने।
घरनजिकै विषालु सर्प, हिंस्रक जनावर वा दैवीय प्रकोप आदि आउँदा पनि भँगेराले कराएर सचेत गराउँछ भन्ने विश्वास गरिन्छ। भँगेरा र मानववीच केही जनविश्वास पनि रहेको समाजिक अगुवाहरू बताउँछन्। ‘भँगेराले कहिले पानीमा नुहाउँछ त कहिले धुलोमा। धुलोमा नुहाएको दिन पानी पर्ने र सात पाइला हिँडेको देखेमा अलच्छिना हुने जनविश्वास पनि छ,’ कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी भन्छन्।
हानिकारक किरा, फट्यांग्रा सडेगलेका अनाज आदि खाएर प्रकृति र वातावरणलाई सफा राख्ने भँगेरा संरक्षणमा सबै लाग्नुपर्ने उनको सुझाव छ। मानव ढुंगे युगबाट कृषियुगमा प्रवेश गरेको बेलादेखि नै भँगेरा र मानवजातिको सम्बन्ध नजिकिँदै गएको पंक्षीविद् भुपाल नेपालीको भनाइ छ।
‘भँगेरा चराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, करेसाबारी र बगैँचा आदिमा बस्न रुचाउँछन् र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन्,’ उनले भने। अहिलेसम्म यसको संख्यात्मक तथ्य नभएको उनले बताए। भँगेरा संरक्षाण गर्ने उद्देश्यले प्रत्येक चैत ७ गते अर्थात् २० मार्चका दिन विश्व भँगेरा संरक्षण दिवस नेपाललगायत विश्वभर मनाइन्छ।
यो दिवस सन् २०१० देखि विश्वव्यापी रुपमा मनाउन थालिएको छ भने नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो। नेपाल पक्षी संरक्षण संघले विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संघ संस्थाको सहकार्यमा भँगेरा पहिचान, गणना तथा विभिन्न चेतना अभिवृद्धिमूलक कार्यक्रम गर्दै नेपालमा यो दिवस मनाउने गरेको छ।
विषादी र सहरीकरणले मासिँदै
पुरानो र परम्परागत भँगेरामैत्री घर नहुनु, रुख बिरुवा विनास हुनु, प्रदूषण, चेतनाको कमी, अहाराको कमी, बालीनालीमा प्रयोग हुने विषादी तथा यिनीहरूलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र सिकार गर्ने प्रवृत्तिले पनि यो चराको संख्यामा कमी आएको छ।
पछिल्लो एक अध्ययनले मोबाइल फोन र यसको टावरको रेडिसनको कारणले भँगेरामा असर परेको पंक्षीविद् नेपालीको भनाइ छ। भँगेरा हाल विश्वबाट घट्दै गइरहेको अवस्थामा यसको महत्त्व र संरक्षण गर्न जरुरी छ। बेलायतमा भँगेरा संकटग्रस्त चरा हो। उनका अनुसार विश्वका करिब ८० प्रतिशत चराको संख्या घटेको तथ्यांक छ तर भँगेराबारे अनुमानमात्रै छ।
भँगेरा हाल विश्वबाट घट्दै गइरहेको अवस्थामा यसको महत्त्व र संरक्षण गर्न जरुरी छ। बेलायतमा भँगेरा संकटग्रस्त चरा हो। उनका अनुसार विश्वका करिब ८० प्रतिशत चराको संख्या घटेको तथ्यांक छ तर भँगेराबारे अनुमानमात्रै छ।
पहिलेका घरका संरचना अहिलेको भन्दा भिन्न थियो। ढुंगा, माटो, काँचो इँटा र काठ आदिले बनेका हुन्थे। घरको वरिपरि प्वाल राखिन्थे, जसलाई भँगेराहरूले गुँड बनाउन प्रयोग गर्थे र बिहान बेलुको भँगेराको चिरबिर आवाज सुन्न पाइन्थ्यो।तर हिजोआज बनाइने आधुनिक घरमा ती सुविधा नहुँदा भँगेराको वासस्थान संकटमा परेको हो।
आयु ५ वर्ष
खैरा, फुस्रा र केही सेतो रङ भएको एक सानो जातको चरा प्रजातिमा पर्ने भँगेराको आयु ३ देखि ५ वर्ष हुन्छ। यसको पखेटाको फैलावट २१ सेमी तथा लम्बाइ १२ देखि १८ सेमीसम्म हुन्छ।
यसको गति र उडान क्षमता कम हुन्छ। यसको औसत वजन ४० ग्रामसम्म हुन्छ। ‘भँगेरा निकै मायालु र मेहनती चरा हो,’ पंक्षिविद् बराल भन्छन् , ‘यो चरा विशेषगरी घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षितस्थलमा रहेका प्वालमा गुँड बनाई बस्दछ। पहिला मानव बस्ती वरिपरि टन्नै देखिने यो चराको संख्या पछिल्लो केही वर्षयता घटदै गएको छ।’
नेपालमा हालसम्म ८ सय ९० बढी प्रजातिका चरा पाइन्छन्। तीमध्ये भँगेरा पनि एक प्रजाति हो। नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीत कण्डे भँगेरा र स्पेनिस भँगेराहरू पाइन्छन्। विश्वमा हालसम्म ३२ प्रजातिका भँगेरा भेटिएको विज्ञहरूको भनाइ छ।