पोखरा– नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औँ संस्करणको लामाचौर तीज महोत्सव हुने भएको छ। संस्थाको २७ औँ वार्षिक समारोह एवं तीजका अवसरमा भदौ ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन लागेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले विषम परिस्थितिबीच पनि महोत्सव आयोजना गरिएको बताए।
‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो। १० औँ संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिने अध्यक्ष भण्डारीले बताए।
महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेस्ट भलिबल क्लब बुटवलले भाग लिनेछन्।
पुरुष राष्ट्रिय भलिबलमा मणिमुकुन्द भलिबल क्लब बुटवल, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशको टिमबीच प्रतिस्पर्धा हुने । पुरुष भलिबल गत वर्षदेखि सुरु भएको हो। यसपालि महिलातर्फ गण्डकीको टिम सहभागी छैन।
महिला तथा पुरुषतर्फ विजेता दुवैलाई १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार साथमा सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ। साथै, सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्को आकर्षण हुन्। तीन दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकार चिज गुरुङ, लक्ष्मी मल्ल, दीपक खड्का, चोलेन्द्र पौडेल, रामजी पौडेल, ज्योति लोहनी, लक्ष्मी बानियाँ, सरस्वती लामिछाने, मधु थापालगायतको विशेष प्रस्तुति रहनेछ। औद्योगिक तथा व्यापार प्रदर्शनीका स्थलहरु रहने छन् भने मणिपाल शिक्षण अस्पताल सहकार्यमा हेल्थ क्याम्प सुविधा पनि हुनेछ।
तीज गीत प्रतियोगितामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिनेछ।
अन्तरविद्यालयस्तरीय लोकनृत्यमा पनि पुरस्कार व्यवस्था छ। शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए। महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ हजार ५ सय खर्च लाग्ने अनुमान आयोजकको छ।