इटहरी– पछिल्लो समय इलेक्ट्रिक (विद्युतीय) गाडी चढ्नेहरूको संख्या बढ्दो छ। सहरैपिच्छे चार्जिङ स्टेसन खुल्न थालेका छन्। यसबाट लामो तथा छोटो दूरीको यात्रामा निकै सहज हुन थालेको छ। केही वर्षअघिसम्म इलेक्ट्रिक सवारीसाधनमा मानिसको रुचि देखिँदैनथ्यो। पछिल्ला दिनमा भने यस्ता सवारीसाधन प्रयोगकर्ताको संख्या बढिरहेको व्यवसायीहरू बताउँछन्।
टाटा सोरुम इटहरीका म्यानेजर देवेन्द्र कार्की भन्छन्, ‘पहिला ईभी (विद्युतीय गाडी) भनेपछि मान्छे डराउँथे। तर अहिले ईभी किन्न आउनेको संख्या बढेको छ।’ उनका अनुसार केही वर्षअघिसम्म टाटा सोरुमबाट पेट्रोलियम पदार्थबाट चल्ने एक सय गाडी बिक्री हुन्थे। ‘अचेल भने एक सय वटा गाडी बिक्री हुँदा तीनदेखि चारवटा मात्रै पेट्रोलबाट चल्ने बिक्री हुन्छन्। बाँकी सबै ईभी बिक्री भइरहेका छन्,’ कार्कीले भने, ‘ठाउँठाउँमा चार्जिङ स्टेसन खुलेकाले सहज भएको छ।’
पछिल्लो समय ईभीले विश्वसनीयता कमाएको उनको दाबी छ। ‘रनिङ कस्ट कम छ। डिजेट र पेट्रोलबाट चल्ने गाडीमा एक किलोमिटर कुदाउँदा १६ रुपैयाँसम्म तिर्नुपर्छ,’ कार्की भन्छन्, ‘ईभीमा भने एक रुपैयाँमै एक किलोमिटर कुद्छ।’
ईभी गाडीको ब्याट्री ८ वर्षको वारेन्टी रहेको र सर्भिसिङमा पनि खर्च नहुने भएका कारण यसमा सेवाग्राही आकर्षित भएको उनी बताउँछन्। ‘सर्भिसिङ र फ्युलमा खर्च आउँदैन। यसकारण पनि यसमा सहुलियत छ’, उनले भने।
टाटाले सहरैपिच्छे प्रत्येक एक सय किलोमिटर फरकमा चार्जिङ स्टेसन राखेको छ। त्यस्ता स्टेसनमा प्रायः ३० किलोवाटका चार्जर छन्। तिनमा तीव्र गतिमा चार्ज हुन्छ। टाटाले कोशी प्रदेशका पहाडी जिल्लामा चार्जिङ स्टेसन खोलेको छ। इलामको कन्याम, पाँचथरको फिदिम, ताप्लेजुङ र धनकुटाको हिलेमा चार्जिङ स्टेसन खोलेको कार्कीले जानकारी दिए। ‘हामीले ग्राहकलाई लक्षित गरी पहाडी जिल्लामा पनि चार्जिङ स्टेसन खोलिरहेका छौँ,’ उनले भने।
यसैगरी नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका झापाको दमक, सुनसरीको इटहरी, इनरुवा र उदयपुरको बेलकामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। इनरुवामा भने साना गाडीका लागि मात्रै चार्ज हुँदै आएको छ। यीबाहेक गाडी सोरुम र विभिन्न कम्पनीले कोशी प्रदेशका सहरैपिच्छे चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन्।
इटहरी उपमहानगरपालिका-१० खनारमा रहेको पूर्वाञ्चल क्याफेका सञ्चालक दामोदर बिडारीले चार्जिङ स्टेसनमा चार्ज गर्न आउनेको संख्या बढ्दो रहेको बताए। उनले क्याफेमै चार्जिङ स्टेसन राखेका छन्।
‘यहाँ खाजा खान आउने र अन्य पनि चार्जिङमा लाइन लाग्छन्,’ उनी भन्छन्, ‘ब्याट्रीअनुसार चार्ज हुन्छ। जति किलोवाटको चार्जिङ स्टेसन छ, सोहीअनुसार चार्ज हुन्छ।’ पछिल्लो समय धेरै मानिस ईभी चढ्न थालेकाले पनि चार्जिङ स्टेसन खुल्ने क्रम बढ्दो रहेको उनको भनाइ छ। ‘६० किलोवाटको चार्जिङ छ भने ५१ मिनेटमा फुल चार्ज हुन्छ,’ उनले भने, ‘प्रायः मान्छेहरू इलेक्ट्रिकमै गइसके।’ घरमै पनि चार्ज हुने भएका कारण सजिलो भएको उनले सुनाए।
ईभी गाडी चढिरहेका पवन अधिकारी यस्ता गाडीमा कुनै समस्या नरहेको बताउँछन्। उनी भन्छन्, ‘पहिला गाडीमा महिनाकै २५ हजारभन्दा बढी डिजलमै खर्च हुन्थ्यो। अहिले बढीमा तीन हजार खर्च छ।’ उनले गाडी ओरालोमा पनि आफैँ चार्ज बढ्ने र सर्भिसिङमा पनि खर्च नहुने बताए।
‘अलिक पहिलासम्म इटहरीदेखि हेटौँडासम्म जान पनि निकै समस्या हुन्थ्यो,’ उनले भने, ‘अहिले ठाउँठाउँमा चार्जिङ स्टेसन हुँदा खाजा खाने समयमा गाडी चार्ज गर्दा काठमाडौँ पुग्न पनि समस्या छैन।’ आफूले एक वर्ष पर्खिएर एमजी कम्पनीको गाडी किनेको र एकपटक फुल चार्ज गर्दा तीन सय ५० किलोमिटरभन्दा बढी धान्ने उनले जानकारी दिए।
घरमा मोबाइल चार्ज हुने ठाउँमै नर्मल चार्जरले गाडी चार्ज हुने बताउँदै अधिकारीले भने, ‘१६ एम्पियरको सबमिटरले चार्ज हुन्छ। यसले इन्धन बचत हुन्छ, बिजुली खपत बढेको छ। तर बिजुली खपत भए पनि थोरै पैसामै चार्ज भइरहेको छ।’
प्राधिकरणले अहिले ठाउँठाउँमा चार्जिङ राखे पनि स्थानीय स्तरमा मर्मतसम्भारको जिम्मेवारी नदिँदा समस्या भइरहेको उनले बताए। ‘कहिलेकाहीँ यात्राका क्रममा चार्ज गर्न जाँदा चार्जिङ स्टेसनले काम गर्दैन। यसमा प्राधिकरणका स्थानीय कर्मचारीसँग बुझ्दा उनीहरूले केही थाहा नभएको बताउँदा समस्या हुँदै आएको छ’, उनले भने।
विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएकाले पनि सहज हुँदै गएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा बुधबार मात्रै नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएका चार्जिङ स्टेसनको उद्घाटन गरेका छन्।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वेजियन सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत चार्जिङ स्टेसन निर्माण गरिएको हो। करिब ४० करोड रुपैयाँको लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र २५ वटामा सानाठूला कार चार्ज गर्न मिल्छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए। विद्युतीय सवारीसाधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने धारणा राखे। प्राधिकरणले देशभर थप पाँच सयवटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको पनि उनले उल्लेख गरे।
चार्ज गर्दा कारमा औसत ७० पैसा, जिपमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा १ रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने घिसिङले बताए। नेपालमा उपलब्ध सवारीसाधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ। चार्जिङ स्टेसनमा ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर पनि राखिएका छन्। यसबाट ठूला बससहित तीनवटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिन्छ।