पोखरामा ऐतिहासिक बाघजात्रा

विजय नेपाल १८ भदौ २०८० २१:४२
6
SHARES
पोखरामा ऐतिहासिक बाघजात्रा

पोखरा- पोखराको ऐतिहासिक बाघजात्रा सुरु भएको छ। २३ वर्षपछि निस्केको बाघजात्रामा अनेक भावभ‌ंगी देखिन्छ। कोही राजारानी। कोही प्रधानमन्त्री। कोही प्रधानसेनापति। मन्त्री, तिनका सुरक्षागार्ड, यमराज, सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासीको भूमिकामा छन्।

नालामुखका ४७ वर्षीय सुरेश खड्की बाघको भेषमा छन्। उनी गुरिल्लामाथि बरोबर आक्रमण प्रयास गर्छन्। शरीरभरि लहराको माला र लहरकै टोपी लगाएका १२ जना गुरिल्लाको मुखाकृति कोलोमोसोले चिनिँदैन।

उनीहरू बाघको आक्रमणबाट बँच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन्। नेवारी संस्कृतिमा प्रचलित अनेकखालका बाजाको धूनले बाघ लठ्ठ पार्ने प्रयास गरिन्छ। यसै गरी जात्रा अघि बढ्छ। जात्रा अघि बढ्दै जाँदा लाखे, कुमारी, तायमचाको रौनक त छँदैछ। ‘जात्राहरूको पनि जात्रा’ बाघजात्रा आगामी ३ दिनसम्म सहरका मुख्यमुख्य ठाउँमा जात्रा देखाउँदै अन्तिम दिन पोखरा रंगशालामा पुगेर समापन हुनेछ।

भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा बढी प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेको भन्दै पोखराका नेवार समुदायले जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति २०८० नै गठन गरेका थिए। उनै जवहारलाल गएको बाघजात्राका पनि संयोजक थिए। लामो समयको तयारीपछि बाघजात्रा पुनजीर्वित गर्न सकेकोमा उनी दंग छन्।

नेवाः छेंबाट सुरु भएको बाघजात्रामा मोहरियाटोलका जितेश गुभाजू र शिवानी गुभाजू राजारानी बनेका थिए। भीमबहादुर शाही प्रधानमन्त्री र ऐनकुमारी शाही प्रधानसेनापति जस्तो सजिएर घोडसवार गरेका थिए। बाघजात्रा हेर्नेहरूको भिड थियो। कोही बाघजात्रा मोबाइलमा कैद गर्नुका साथै सेल्फी लिइरहेका भेटिन्थे।

‘बाघजात्रा निकाल्न सजिलो छैन, व्यवस्थापन गर्नै गाह्रो छ,’ समिति सचिव सुनिल उलकले भने। उनका अनुसार बाघजात्रा निकाल्न सबै जना गरेर करिब ३ सय जनाले भाग लिएका छन्।

बाघजात्रा पोखरामा कहिलेदेखि सुरु भयो यकिन नभए पनि बाइसेचौबीसे राजाको पालादेखि सुरु भएको किंबदन्ती छ। भक्तपुरे नेवारहरूले भित्राउन मद्दत गरेको र १९९० देखि सुरुभएको अष्टमान प्रधानांगले बताए।

बाघजात्रा आयोजक समिति संयोजक श्रेष्ठले बाघजात्रा पोखराको संस्कृति र चिनारी भएको बताउँछन्। उनले अब प्रत्येक ५ वर्षमा देखाउने समितिको निर्णय भएको बताए। पोखरामा यसअघि १९९०, २००६, २०१४, २०२२, २०३७/३८, २०४६/४७, २०५७ मा बाघाजात्रा निकालिएको थियो।

बाघजात्राको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुद्घाटन गरेका हुन्। गत वर्ष पोखराका नेवार समुदायले ऐतिहासिक बाह्रभैरव नृत्य पनि देखाएका थिए।

प्रकाशित: १८ भदौ २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =