२३ वर्षपछि ब्युँताइँदै बाघजात्रा

विजय नेपाल १५ भदौ २०८० १६:०१
8
SHARES
२३ वर्षपछि ब्युँताइँदै बाघजात्रा फाइल तस्बिर

पोखरा– पोखराका जवाहरलाल श्रेष्ठ अहिले अलिक व्यस्त छन्। २३ वर्षपछि बाघजात्रा ब्युँताउन लागिएकाले उनको व्यस्तता बढेको हो। श्रेष्ठ जात्रा आयोजक समिति संयोजक हुन्। बाघजात्रा भदौ १८ देखि २० सम्म  हुँदैछ। पोखरामा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा निरन्तर हुँदै आएका छन्। बाघजात्रा भने २३ वर्षअघि निकाल्न छाडिएको थियो। यस वर्षदेखि  बाघजात्रा निकाल्न अन्तिम तयारी गरिएको श्रेष्ठले बताए। उनका अनुसार जात्रा ३ दिनसम्म सहरका विभिन्न भागमा मनाइनेछ।

बाघजात्रा पछिल्लोपटक  २०५७ सालमा मोहरियाटोलले आयोजना गरेको थियो। यसपटक पोखरा महानगरपालिका तथा नेवाः खल कास्कीको संरक्षकत्वमा जात्रा निकाल्न लागिएको हो। संयोजक श्रेष्ठले भने, ‘बाघजात्रामा नेवारी समुदायसँगै अन्य जातजातिको सहभागिता हुँदैछ। अब यसलाई निरन्तरता दिने लक्ष्य राखिएको छ।’

गत वर्ष पोखराका नेवारी समुदायले हरेक ६ वर्षमा देखाउने बाह्र भैरव नृत्य प्रस्तुत देखाएका थिए। बाह्र भैरव नृत्यले साढे २ सय वर्ष पुरानो इतिहास बोकेको छ। ‘बाघजात्राको पनि कम्ता महत्त्व छैन,’ श्रेष्ठले भने। यसपटक बाघजात्रालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, वडा कार्यालय र नेवाः खलः कास्कीअन्तर्गत रहेका भ्रातृसंस्था तायाःमचा समिति, कचा खलः, ल्याम्ह पुच तथा मिसा पुचको सहयोग रहने आयोजकले जनाएको छ

बाघजात्राका लागि मुस्ताङबाट आलंकारिक राजारानी, मगर समुदायका अगुवा आउने तयारी छ। नेपाली सेनाबाट जगेडामा रहेका सैनिक पोसाक उपलब्ध भएका छन्। यस्तै शान्तिसुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्य मिलाइएको छ। भक्तपुरबाट स्थानीय जात्रा घिन्ताङघिसीको ५० जनाको टोली पोखरा आउने भएको छ।

किंवदन्तीअनुसार बाघ बस्तीमा पसेर सताउन थालेछ। राजाले जनतालाई बचाउन उसलाई बस्तीबाट भगाउन वा मार्न गरेका कुरा बाघजात्रामा बाजाको तालसँगै देख्न पाइने आयोजक समिति सचिव सुनिल उलक बताउँछन्। बाघजात्रामा कम्तीमा ३ सय सहभागी हुनेछन्।

पहिलो दिन भदौ १८ गते नेवाः छेबाट बाघजात्रा सुरु भई २ दिनसम्म पोखरा सहरमा बाघजात्रा देखाइनेछ। अन्तिम दिन भदौ २० गते पोखरा रंगशालामा औपचारिक रूपमा बाघलाई कलात्मक बाजाको तालसँगै मारेर रमाइलो गरेर समापन गरिनेछ।

बाघजात्राको संरक्षक संस्था नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखेले चाडपर्वमा सबैको सहभागितामा मनाउने परम्परा बढेको बताए। उनले भने, ‘ बाघजात्रालाई महोत्सवका रूपमा लिएर पर्यटनसँग जोडेर लैजान आवश्यक छ।’

प्रकाशित: १५ भदौ २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =