गलेश्वर- आनुवांशिक स्रोत र जैविक विविधतायुक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन्।
यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ।
प्राकृतिक स्रोत, ती स्रोतको उपभोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने जडीबुटी, फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका केन्द्रका कृषि प्राविधिक जगत बानियाँले बताए।
करिब एक दशकअघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल, बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौ, धान, घैया, उवाको बाली तथा बीउ लोप हुँदै गएको केन्द्रको तथ्यांकमा उल्लेख छ।
जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको केन्द्रले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै कार्यक्रम सञ्चालन गर्न नसकेको कृषक चन्द्रबहादुर कार्कीले बताए। कार्कीका अनुसार आयातित बीउबिजनको प्रयोग बढ्दै गएपछि कृषकले बीउसमेत साँचेर राख्न छाडेका छन्।
सरकारले घैया, कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यका रुपमा विस्तार गर्दै लैजाने योजना बनाएको छ। रैथाने बाली जोगाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ। कृषि ज्ञान केन्द्रका पूर्वप्रमुख किरण सिग्देलले यस्ता खाद्यको परिकार खाने चलन घट्दै गएकाले पनि छिट्टै लोप हुन थालेको बताउँछन्। उनले भने, ‘चामलको प्रयोग बढे्सँगै फापर, लट्टे, कागुनो, जौलगायतका खाद्यपदार्थ प्रयोग हुनै छाडेका छन्।’
‘हाइब्रीड’ तथा उन्नत जातका बीउको प्रयोग बढे्दै गएकाले रैथाने बाली लोप हुँदै गएको कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए। काेदो, धान, मकै र गहुँपछि चौथो महत्त्वपूर्ण खाद्यन्न बाली मानिए पनि पछिल्लो समय कोदो बाली उत्पादनको क्षेत्रफल घट्दै गएको केन्द्रले जनाएको छ।
कुल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा कोदोले ओगटेको छ। कोदो विशेष गरी म्याग्दी, खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, गोरखा र सिन्धुलीमा धेरै उत्पादन हुन्छ।
–रासस