काठमाडौँ- गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको छ।
मंगलबार गृहमन्त्रालयमा भएको छलफलपछि सहमति भएको हो।
२०६३ चैत ७ मा रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि घटनाबारे छानबिन र अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रालय सहमत भएको छ।
घटनामा मृत्यु भएका र २०६५ पुस ९ मा मन्त्रिपरिषद्ले सहिद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सहमति भएको छ। त्यस्तै सो घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत भएका छन्।
मृतकहरूको स्मृतिमा रौतहट जिल्लामा सहिद स्मारक स्तम्भ निर्माण कार्य यही आर्थिक वर्षमा अघि बढाउने सहमति भएको छ। घाइतेहरूको उपचारको लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायकता दिनेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने सहमति गरिएको छ।