काठमाडौँ- पहिलो हिमालयन फुटसल प्रतियोगिताको उपाधि क्रिजल फुटबल क्लबले जितेको छ। टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोलअन्तरले हराउँदै क्रिजलले उपाधि हात पारेको हो।
विजेता टोली क्रिजलले एक ललाख ११ हजार १११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ। रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो। प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजलका विवश पण्डित घोषित भए। पण्डितले फाइनलमा एक्लै ४ गोल गरेका थिए।
उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरे। पण्डित र जोशी दुवैले समान ५ हजार ५५५ रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा ११ हजार १११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो।
प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरे। हिमालयन फुटबल क्लबले काठमाडौँमा पहिलोपटक आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो। प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए।