काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छिन्। मन्त्रालयसम्बद्ध आयोजनामा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन्।
सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी गोष्ठीमा उनले मनदेखि नै काम गर्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिइन्।
उनले भनिन्, ‘समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस्, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ।’ आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारीरूपमा अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अन्तरमन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताए।
मन्त्रालयले गत आर्थिक वर्षमा अपेक्षाअनुसार पूँजीगत खर्च गर्न नसकेको बताउँदै मन्त्री गुरुङले यस आर्थिक वर्षमा लक्ष्यअनुसारको पूँजीगत खर्च बढाउनका लागि आयोजनाका प्रमुखहरूलाई निर्देशन दिइन्।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले रुग्ण आयोजनाहरूमा अब धेरै अलमलिन नहुने बताउँदै काम नगर्ने निर्माण व्यवसायीहरूसँग ठेक्का तोडेर अघि बढ्न निर्देशन दिए।




