अब पर्दैन दियालो बाल्न

हिमाल प्रेस १७ साउन २०८० १९:२७
14
SHARES
अब पर्दैन दियालो बाल्न

मुगु- सोरु गाउँपालिका–१, जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन्। बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन्। बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनज‌ंगलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोझ घटेकाले उनीहरूमा खुसी छाएको हो।

‘घरमा दाउरा र दियालोको प्रयोगले परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे, अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घटनाका साथै धुवाँ कम हुने भएपछि आधा काम कम भएको छ,’ जवलधारा गाउँकी झपु मल्ल भन्छिन्, ‘हामीले जति राम्रो र सफासुग्घर गरे पनि धुवाँले गर्दा मैला देखिन्थ्यौँ अब राम्रो र चिटिक्क देखिने भयौँ।’

सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुलीबत्ती बलेपछि खुसी छिन्। उनी भन्छन्, ‘बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो, छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै घरका प्रायलाई स्वासप्रस्वास तथा अन्य समस्या देखापरेको थियो यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरूको कार्यबोझ घटेर आराम गर्न फुर्सद मिल्ने आशा पलाएको छ।’

पानीको स्रोत नै नभएका यी बस्तीमा जलविद्युतबाट गाउँ झिलिमिली भएपछि सबै हर्षित छन्। बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए।

दियालोका कारण बालबालिकालाई कहिले पोल्ने कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो। अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीबानीमा समेत सुधार आउनाका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छत्याल बताउँछन्।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको चार करोडको लागतमा गुल्माघाट जलविद्युत् आयोजनाबाट ३८ किलोवाट विद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्नित भएका हुन्। बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँवासीलाई मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ।

बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी हुँदै राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाहीले बताए। गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाइ पानी ल्याएर जलविद्युत् उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएको छ।

हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत् उत्पादनसँगै करिब १२ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ। रासस

प्रकाशित: १७ साउन २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast