काठमाडौँ- विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेको गिरफ्तार माग राख्दै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन्।
मगर र तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी पाण्डेलाई गिरफ्तार गर्न माग गर्दै तामाङ कलाकारले प्रदर्शन गरेका थिए।
तामाङ कलाकारले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको हो।
प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको र पाँच जनालाई गिरफ्तार गरेको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर र तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। पाण्डेविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए।
अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको जनाएको छ।