पश्‍चिमी पहाडका युवा रोजगारीका लागि भारततिर, लोप हुँदै रैथाने बाली

हिमाल प्रेस २५ मंसिर २०७९ १७:४६
10
SHARES
पश्‍चिमी पहाडका युवा रोजगारीका लागि भारततिर, लोप हुँदै रैथाने बाली

कर्णाली– चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ। जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन्। रोजगारीको खोजीमा गाउँका अधिकांश युवा भारतलगायत खाडी मुलुकहरूमा जाने र पुरुषहरू पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरू पनि देख्न मुस्किल हुन्छ।

ती जिल्लाका ग्रामीण बस्तीमा अशक्त, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र भेटिन्छन्। माथिल्लो कर्णालीका कालीकोट, हुम्ला, मुगु, डोल्पा र जाजरकोटका युवा पुरुषहरू पैसा कमाउन बाहिरिएका छन्। सामान्यतः वर्षैपिच्छे कात्तिक महिनादेखि मजदूरीका लागि घर छोड्ने युवा यो वर्ष चुनावका कारण अलि ढिला विदेशिएका छन्।

चुनावअघि युवालाई विदेसिन दिने छैनौँ भन्ने चर्का भाषणहरू सबै दलका उम्मेदवार गरे। उनीहरूलाई ती उम्मेदवारहरूले केही आश्वासन बाँडे पनि। केही हुन्छ भन्ने आसामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुसंख्यक युवाले भोट पनि हाले। भनेजस्तो तुरुन्तै केही हुन सम्भव थिएन।

जीविकोपार्जनका लागि भारत
जीविकोपार्जन गर्ने आधारभूत आवश्यकताबाट विमुख भएका यहाँका युवा रोजगारी गर्न ५/६ महिनाका लागि भए पनि वर्षैपिच्छे भारतीय भूमिमा जानुपर्ने बाध्यता छ। राजनीतिमा साधनका रूपमा प्रयोग भइरहने अवस्थाबाट युवा बाहिर निस्कनु पर्ने बताउँछन् चन्दननाथ नगरपालिका ८ जुम्लाका धर्मसिंह कठायत।

‘चुनावका बेला मात्र रोजागरी र विकासका कुरा गर्ने नेताको क्षणिक आशय मात्र चुनाव जित्ने हो भन्ने कुरा हामी युवाले बेलैमा बुझ्नुपर्दछ,’ उनले भने।

युवा नेत्री लक्ष्मीकन्या बुढा जित्ने र जिताउने समयमा दिइने कोरा आश्वासन दीर्घकालीन समस्या समाधानको मुद्दा नभएको बताउँछिन्। ‘मूलतः राज्य र त्यसको नेतृत्व गर्ने सरकारले मुलुकको समग्र समस्याको हल हुने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति अनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने बलियो संयन्त्र निर्माण गर्नुपर्दछ। कृषिमा नयाँ प्रविधि र त्यसप्रतिको आकर्षण बढ्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्दछ। यसले आत्मनिर्भर समाज बन्न सहयोग पुग्नेछ,’ उनले भनिन्।

कर्णालीका वामपन्थी बुद्धिजीवी तथा पुराना कृषक रामकृष्ण बुढ्थापाले तीनवटै सरकार हुँदा पनि युवा विदेसिनुपर्ने बाध्यता आइलाग्नु मुलुकको नेतृत्वको ठूलो कमजोरी रहेको टिप्पणी गर्छन्।

‘युवालाई श्रम र सहकारीसँग नजोडेसम्म आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सक्दैन,’ बुढ्थापाले भने, ‘यसमा सरकारको नीति र त्यसको प्रभावकारी कार्यान्वयनमा भर पर्दछ।’

अशिक्षित, पढ्दापढ्दै अध्ययन छाडेका र उच्च शिक्षासम्म अध्ययन गरेका पनि रोजगारी नपाएर बसेका हजारौँ युवालाई स्वदेशी श्रम बजारमा काम पाइन्छ भन्नेमा विश्वास छैन। उनीहरू कति त खाडी मुलुकमा गइसकेका छन् भने बाँकी सबै कामका लागि कालापहाडमा।

बाँझिदै खेतबारी

विदेसिने युवाको संख्या बढ्दै जाँदा गाउँका खेतबारीसमेत बाँझिएका छन्। जमिन बाँझिदा अन्न उत्पादन हुन छोडेको छ। हिजो आफ्नै उत्पादनमा निर्भर गाउँहरू पछिल्लो समयमा आयातमुखी बन्दै गएका छन्। यसले गर्दा धान, मकै, कोदो, जौ, चिनो, कागुनो, उवा, मार्से, लट्टे, भट्टजस्ता रैथानी अन्नबाली लोप हुने अवस्थामा छन्।

उत्पादनशील जनशक्ति देश बाहिर जाने प्रवृत्ति बढेपछि १ दशकयता कर्णालीमा रैथाने बालीको उत्पादनमा निकै ह्रास आएको छ। गाउँमा जाँगरिला युवा नभएपछि यहाँका रैथाने बालीहरू उत्पादन लोप हुने पुराना पुस्ता चिन्ता गर्छन्।

प्रकाशित: २५ मंसिर २०७९ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast