म्याग्दी नदीको पानी तानेर बेनीमा उपभाेग

हिमाल प्रेस ६ साउन २०८० १६:५३
8
SHARES
म्याग्दी नदीको पानी तानेर बेनीमा उपभाेग फाइल तस्बिर।

म्याग्दी- म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ। खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिराका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भएकाे छ। साे समस्या हटाउने विकल्पका रूपमा म्याग्दी नदीको पानी तानेर वितरण गर्न थालिएकाे हाे।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपूर्तिका लागि म्याग्दी नदीबाट ‘लिफ्टिङ’ गर्न थालिएको जानकारी दिए। ‘लिफ्ट खानेपानी योजनाको परीक्षण सफल भएको छ,’ उनले भने, ‘म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणकाे समस्या हटेको छ।’

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग दुई करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत्, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताए। ‘१८ महिनाको ठेक्का अवधि हो। पानी शुद्धीकरण गर्ने प्लान्ट निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले ६ महिना म्याद थपिएको छ,’ उनले भने, ‘अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौं।’

बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट्यांकीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालिएको हाे। बेनी नगरपालिका–२ हाडेभीरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनारभित्र विद्युत्‌काे सहायताले चल्ने पानी तान्ने तीन वटा समसिवल पम्प राखिएको छ।

इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शीरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्यांकीसम्म पानी पुर्‍याउन करिब ९ सय मिटर चार इञ्चको जिआइपपाइप जडान गरिएको आयोजनाका इञ्जिनियर नवीन सुवेदीले बताए। ‘हाल दुई वटा पम्पबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको छ,’ उनले भने, ‘तीनवटै पम्प चलाउँदा प्रतिसिकेण्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिन्छ।’

आयोजनामार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइसकेको छ। ५.९४ घनलिटर क्षमताको पानी फिल्टरका लागि दुईवटा प्लान्ट निर्माणकाे अन्तिम चरणमा पुगेका छन्।

नयाँ प्रविधिको सेडिमेसन र सो सान्डफिल्टर ट्यांकी बनाउन लागिएको हो। आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि ४२ लाख ८१ हजार आठ सय २० रुपैयाँ लागतमा दुई लाख लिटर क्षमताको ट्यांकी निर्माण गरेको थियो। रासस

प्रकाशित: ६ साउन २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast