मधेश पुगेर सञ्चारमन्त्रीले भनिन् : नागरिक नागरिकताविहीन हुने दिन गए

हिमाल प्रेस ५ साउन २०८० १२:५९ | Friday, July 21, 2023
मधेश पुगेर सञ्चारमन्त्रीले भनिन् : नागरिक नागरिकताविहीन हुने दिन गए रेखा शर्मा। फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताएकी छिन्।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले गणतन्त्र, संघीयता र समावेशिताको अर्थ नै विभेदको अन्त्य गर्नु भएको पनि स्पष्ट पारिन्।

राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको मधेश प्रदेशमा सामाजिक परिवर्तन आवश्यक रहेको औल्याउँदै उनले त्यसका लागि योजनाबद्ध काम अघि बढाएको पनि बताइन्।

आमाबाबु नागरिक तर छोराछोरी गैरनागरिक बन्ने अवस्थाको अन्त्य गर्न सरकार सफल भएको उल्लेख गर्दै मन्त्री शर्माले मधेश प्रदेशका धेरै जनताले यसबाट न्याय पाएको पाएको बताइन्।

नयाँ प्रावधानअनुसार नागरिकता वितरणमा जनशक्ति अभाव भए अतिरिक्त जनशक्ति थप गरेरै भए पनि शीघ्र काम अघि बढाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको पनि उनले जानकारी दिइन्।

मधेश प्रदेशका बासिन्दाले भोग्दै आएको अर्को ठूलो समस्या मिटरब्याजको समस्या पनि सरकारले समाधान गरेको उल्लेख गर्दै उनले सामन्तवादका अवशेषका रूपमा रहेका अन्य विभेदजन्य प्रथाको अन्त्य गर्न पनि सरकार गम्भीर भएर लागेको बताइन्।

सुशासन, समृद्धि र सामाजिक न्याय नै वर्तमान सरकारको अभिष्ट भएको स्पष्ट गर्दै मन्त्री शर्माले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनकाण्डलगायतका ठूलाठूला अनियमितताका घटनामा छानविन अघि बढाइएको बताइन्।

 

प्रकाशित: ५ साउन २०८० १२:५९ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast